‘लकडाउन’मा सेलिब्रिटी दिन काट्छन् यसरी

‘लकडाउन’मा सेलिब्रिटी दिन काट्छन् यसरी

सामान्य नागरिकझैँ कलाकार पनि अहिले घरभित्र बसेर कोरोनाविरुद्ध लडिरहेका छन्। सेलिब्रिटीहरू पढ्ने, पकाउने, फिल्म हेर्ने, परिवारका सदस्यसँग मन खोलेर कुराकानी गर्ने आदि गतिविधिमा सरिक भएर ‘लकडाउन’को पालना र समय कटनी गरिरहेका छन्। 


अभिनेत्री केकी अधिकारी विगत दुईतीन महिना सर्वाधिक व्यस्त थिइन्। एकातिर उनले निर्माण गरेको पहिलो कमेडी सो प्रसारणको क्रममा थियो भने अर्कातिर उनले साइन गरेको फिल्मको सुटिङ। ‘लकडाउन’को पूर्वसन्ध्यामा समेत उनी ‘परदेशी २’ को सुटिङ गरिरहेकी थिइन्। तर, हप्ता दिनयता पूर्णतया घरमा सीमित भएकी उनले यो समयलाई थकाइ मेट्ने अवसरका रूपमा सदुपयोग गरिरहेकी छिन्। परिवारसँग बसेर मुस्किलले खाना खाने समय पाइरहेकी उनले यही मौकामा आफ्नो पाककलालाई पनि सुधार गरिरहेको बताइन्। ‘मलाई त ब्रेक चाहिरहेको थियो,’ केकीले भनिन्, ‘परिवारसँग बस्न नपाएको लामै समय भइसकेको थियो।  लकडाउनले त्यो मौका जुराइदियो। दुई दिन त आराम गरेर नै बसेँ। थकाइ  मरेपछि चाहिँ घर सफा गर्ने, बगैँचा स्याहार्ने र बेला–मौकामा आमाबुबा र भाइलाई खाना पकाएर खुवाइरहेकी छु।’

व्यस्तताका कारण विश्व स्तरीय फिल्म हेर्ने मौका नपाइरहेकी केकीले यस समयलाई फिल्म हेर्न पनि सदुपयोग गरिरहेको बताइन्। ‘मुख्यतः म फिल्म नै हेरिरहेकी छु,’ उनले भनिन्, ‘त्यसबाहेक एउटा÷दुइटा आर्टिकल लेख्ने प्रयास गरिरहेकी छु। स्टानिस्लाभ्स्कीको विश्वप्रसिद्ध कृति ‘एन एक्टर प्रिमियर्स’ पनि पढिरहेकी छु।’ केकीको लकडाउन दिनचर्या सिर्जनशील देखिन्छ। 

अप्रभावित अनमोल 

कोराना भाइरस (कोभिड १९) ले महामारीको रूप लिएपछि गत मंगलबारदेखि सरकारले हप्ताभरका लागि देश लकडाउन गर्ने निर्णय लिएको थियो। यसले फिल्मको सुटिङ, रेकर्डिङदेखि पोस्ट प्रोडक्सनसम्मका सबै काम ठप्प भएका छन्। ज्यादा समय घरबाहिर बिताउने सेलिब्रिटी हप्ताभरका लागि घरमै कैद हुन बाध्य छन्। यो समयलाई उनीहरूले विभिन्न तरिकाले सदुपयोग गरिरहेका छन्।  सामाजिक सञ्जाल नियाल्दा केही कलाकारले यो समयलाई शारीरिक अभ्यासका लागि सदुपयोग गरिरहेका छन् त केहीले खाना बनाउनमा। टिकटक बनाएर समय कटाउने सेलिब्रिटीको संख्या पनि उल्लेख्य छ। 

तर, यो लकडाउनले दिनचर्यामा खासै असर नगर्ने सेलिब्रिटी पनि थुप्रै छन्। तिनको प्रतिनिधित्व कलाकार अनमोल केसीले गर्छन्। उनी उद्योगमा ‘घरेलु प्राणी’ भनेर चिनिन्छन्। सरकारले भनेझैँ ‘अति जरुरी काममा बाहेक बाहिर ननिस्कने’। सुटिङ भइरहेको फिल्म ‘ए मेरो हजुर ४’ कोरोनाका कारण बीचैमा रोकिएपछि अनमोल सरकारले लकडाउन गर्नुुअघि नै घरभित्र ‘लक्ड’ भइसकेका थिए। त्यसैले उनको दिनचर्यामा खासै भिन्नता छैन। ‘म अरू बेला पनि हम्मेसि बाहिर निस्कन्नँ। त्यसैले लकडाउनमा पनि मेरो दिनचर्या पहिलेजस्तै छ,‘ अनमोलले भने, ‘फिल्म र म्युजिक मेरो दैनिक जीवनका अंग हुन्। कि फिल्म हेर्छु, कि गीत सुन्छु। गिटार पनि बजाउँछु। आजभोलि कोको (अनमोलको कुकुर)सँग पनि केही बेर खेल्छु।’ उनले यही समयमा फिल्म ‘पारस’को स्क्रिप्ट पढिरहेको पनि सुनाए। ‘अफर आएका फिल्मका केही स्क्रिप्ट पढ्न बाँकी थिए,’ उनले भने, ‘अहिले पढिरहेको छु।’

यता पुत्रलाई लकडाउनले खासै असर नगरे पनि पिता तथा अभिनेता भुवन केसीलाई भने दिन कटाउनै मुस्किल भइरहेको छ। ‘पारस’को प्री–प्रोडक्सनमा व्यस्त भुवनले लकडाउनको समय साउथ इन्डियन फिल्म हेरेर कटाइरहेको बताए। ‘बोरै भा छ नि,’ उनले दिक्दारीको स्वरमा भने, ‘बाहिर कहीँ निस्कन पाएको छैन। निस्कनु पनि भएन। त्यही ‘पारस’को स्क्रिप्ट पढिरहेको छु। अनि, बाँकी समय साउथका फिल्म हे¥यो, बस्यो।’

अध्ययन, पाक्कला र सिनेमा  

विश्व स्वास्थ्य संगठनको तथ्यांक बोल्छ– चीनको वुहान हुँदै विश्वभर फैलिएको भाइरस अहिले विश्वका दुई सय देश पुगिसकेको छ। इटालीमा दिनहुँ पाँच सयको हाराहारीमा मानिस मरिरहेका छन् भने अमेरिकाले अहिले संक्रमित संख्यामा चीन र इटालीलाई पनि उछिनिसकेको छ। चाँडै नै भारतमा संक्रमणको संख्या ज्यामितीय रूपमा बढ्ने धेरैको अनुमान छ। यदि भारतमा संक्रमण बढ्यो भने यसको प्रत्यक्ष असरबाट नेपाल पनि अछुतो रहनेछैन। अवस्था यही रहे नेपालीको दैनन्दिन जीवन थप समयका लागि घरको पर्खालभित्र कैद रहनेछ। 

यस्तो परिस्थितिमा सेलिब्रिटीले आफूलाई नयाँ–नयाँ भूमिकामा ‘एक्स्प्लोर’ पनि गरिरहेका छन्। अभिनेत्री वर्षा राउतले सुटिङको चटारो थाँती राखेर बिहे गरेकी थिइन्। कहिले फिल्मको प्रमोसन त कहिले म्युजिक भिडियोको सुटिङको धपेडीमा थिइन्। । घरमा मुस्किलले समय दिन पाइरहेकी थिइन्। तर, लकडाउनपछिको सम्पूर्ण समय उनले घरलाई दिएकी छिन्। घरको कामबाट बचेको समय उनले फिल्म हेर्न, किताब पढ्न र पकाउनमा खर्चिएकी छिन्। ‘बिहेपछि व्यस्तताका कारण घरमा समय दिन पाएकी थिइनँ,’ उनले भनिन्, ‘अहिले लकडाउनको भरपूर फाइदा उठाइरहेकी छु। यो समय पूर्ण रूपमा आफूलाई दिइरहेकी छु। विगत केही वर्षदेखि आफूलाई समय दिन पाएकी थिइनँ।’  

वर्षाले नेटफ्लिक्समा उपलब्ध ‘यू’, ‘नार्केस’ लगायत सिरिज हेरिरहेको बताइन्। उनले यही बेला प्याट्रिसिया म्याककोर्मिकको ‘सोल्ड’ आधाउधी पु¥याएको पनि जानकारी दिइन्। 

वर्षाझैँ नीता ढुंगानाको दिन पनि घरेलु काममा बित्ने गरेको छ। दुई भाइका साथ अपार्टमेन्टमा बस्दै आएकी छिन्। संक्रमित हुनबाट रोक्न हाउजिङले बाहिरका मानिसको आउजाउ बन्द गरेपछि उनी आफैँ भान्से भएकी छिन्। घरको कामबाहेक भाइहरूसँग खेलेर दिन बितिरहेको बताइन्। ‘योग र पूजापाठ गर्ने काम मैले पहिलेदेखि नै गर्दै आएकी हुँ,’ नीताले भनिन्, ‘अहिले पनि मेरो दिन योगबाटै सुरु हुन्छ। घरको काम गर्ने बानी थिएन। अहिले काम गर्ने दिदी आउन नपाएपछि घरेलु काम सिकिरहेकी छु। भाइहरू पनि सघाउँछन्।’ नीताको कान्छो भाइ अलिक सानै छन्। बाहिर खेल्न जाने उनको बानी छ। ‘तर, अहिले बाहिर पठाउन मिलेन,’ उनले भनिन्, ‘उसलाई बोर लाग्ला भनेर उसलाई मन पर्ने गेम पनि खेल्ने गरेकी छु। घरीघरी कोरोना फैलिइहाल्ला कि भन्ने लाग्छ। नत्र त म अहिलेको समय इन्जोय गरिरहेकी छु।’ 

नीताले सबैको ‘टेस्ट’ फरक–फरक हुने भएकाले पढ्ने र फिल्म हेर्ने कुरा व्यक्तिगत अभिरुचिमा भर पर्ने बताइन्। ‘¥यान्डम्ली म त जे मन लाग्यो, त्यही हेर्छु,’ उनले सुनाइन्, ‘यो समयमा ठ्याक्कै यही हेरेँ भन्ने छैन। खासै किताब पढ्न पनि पाएको छैन।’ 

पढ्ने अवसर 

अभिनेता बुद्धि तामाङले भने लकडाउनको समयलाई किताब पढ्न खर्चिरहेका छन्। उनले यो समयमा थाँती रहेका थुप्रै किताब पढिरहेको बताए। ‘अलि अघि दिल्ली जाँदा नाटकसम्बन्धी किताबहरू किनेर ल्याएको थिएँ,’ उनले भने, ‘बीचमा पल्टाउन पनि पाएको थिइनँ। अहिले तिनै किताब पढ्न थालेको छु। ‘पढ्नेबाहेक खाने, सुत्ने र फिल्म हेर्ने काम भइरहेका छन्।’

बुद्धि अहिले विजय तेन्दुलकरको ‘फुटपाथ का सम्राट’,  एन्टन चेखवका नाटकहरूको संगालो, ‘चेखव के सात नाटक’, सेक्सपियरको ‘ट्वेल्फ्थ नाइट’ आदि किताब पढिरहेका छन्। उनले फिल्मको मामलामा भने साउथ इन्डियन सिनेमालाई प्राथमिकता दिएका छन्। ‘यो तनावको बेला समय कटाउन साउथ इन्डियन फिल्म नै ठीक छन्,’ बुद्धिले सुझाए, ‘भाइरसका कारण दिमाग यत्तिकै बोझिलो छ। यस्तो बेलामा सिरियसभन्दा हल्काफुल्का फिल्म हेर्दा नै बेस होला।’ 

प्रमोद अग्रहरिलाई अभिनयपछि सर्वाधिक मन पर्ने काम भनेको ‘कुकिङ’ हो। उनी पनि लकडाउनमा आफ्नो पाक्शिल्पमा निरन्तर साँध लगाइरहेका छन्। काठमाडौँमा एक्लै बस्ने उनले यस समयमा तात्त्िवक अन्तर भने भेटेका छैनन्। तर, हिँडडुल नै गर्न नपाएपछि उनले फिल्मको स्क्रिप्ट लेख्न थालेका छन्। ‘धेरै पहिलादेखि एउटा आइडिया दिमागमा नचाइरहेको थिएँ,’ प्रमोदले सुनाए, ‘बाहिर कहीँ निस्कन नपरेपछि यही कुरा लेख्न थालेको छु। अरू बेला पनि काम नभएको बेला म यसरी नै लेखपढ गरेर बस्ने हो। अहिले पनि त्यही गरिरहेको छु।’ उनले दर्शकलाई भने फुर्सदको समयमा टेलिभिजन सिरिज ‘सिंहदरबार’ भाग एक र दुई दुवै हेर्न सुझाए। ‘आदर्श राजनीति कस्तो हुनुपर्छ भन्ने कुरा दुवै सिरियलमा देखाउन खोजिएको छ,’ उनको धारणा छ, ‘राजनीति बुझ्न चाहनेलाई दुवै भाग उपयोगी हुन सक्छन्।’ 

आफूलाई चिन्ने मौका 

भर्खरै गृहस्थी जीवन सुरु गरेका नाट्यकर्मी विजय बराल भने यो समयलाई लेखपढसँगै आध्यात्मिक चिन्तनका लागि सदुपयोग गरिरहेका छन्। उनले बन्दाबन्दीको यस समयले घर, परिवार र प्रकृतिलाई अझ नजिकबाट नियाल्ने अवसर दिएको बताए। ‘यो समयले घर, परिवार, समय र प्रकृतिलाई अझ नजिकबाट नियाल्ने मौका दिएको छ,’ उनले भने, ‘आफैँले आफूलाई अझ बढी चिन्ने मौका पाइरहेको छु। किताब पढ्दै, सिनेमा हेर्दै, आफूलाई मन पर्ने कलाकारको अन्तवार्ता हेर्दै, अनि आध्यात्मिक प्रवचनहरू सुन्दै बसिरा’छु।’ उनले फरक–फरक परिकार पकाउने प्रयास गरिरहेको पनि सुनाए।  

विजयको रुचिको विषय अध्यात्म हो। यो जटिल समयमा आध्यात्मिक कुरा सुन्न र हेर्न उनी सुझाउँछन्। उनको तर्क छ, ‘यो समयमा दिमागलाई एकाग्र बनाउन यस्तै कुराको जरुरी देख्छु। टेन्सनको माहोल छ। अध्यात्म र मोटिभेसनल कुरामा मन गयो भने अहिले बाहिरको तनाव छल्न सकिन्छ। पढिरहने मान्छेले त जे पढे पनि हुन्छ। तर, यदाकदा पढ्ने मान्छेलाई चाहिँ काल्पनिक दुनियाँमा पुर्‍याउने कथा र कहानी पढ्न सुझाव दिन्छु।’

उता, गायक शिव परियार अहिले भव्य रियाज गरिरहेका छन्। कन्सर्टका लागि देश–विदेश घुमिरहने उनले लकडाउनको समय पूर्णतया परिवारलाई समर्पण गरेका छन्। सपरिवार काठमाडौँमा बस्दै आएका उनले दिनका केही घण्टा सांगीतिक कर्मका लागि छुट्याएका छन्। व्यस्तताका कारण जमेर रियाज गर्न नपाएका उनले यो समयलाई रियाजमा मज्जाले प्रयोग गरेका छन्। ‘बाहिरतिर गएको बेला रियाजको मेसो मिल्थेन,’ शिवले सुनाए, ‘लकडाउन भएदेखि नै दिनको तीनचार घण्टा रियाज गर्न थालेको छु।’ 

स–साना कुराको ‘भ्यालू’ 

नेपालीहरू दूर–सुदूरभन्दा भन्दा ‘चिया खाएरै’ कुराकानी गर्न रुचाउँछन्। नजिकैबाट त्यो पनि छोएर कुरा गर्नु नेपाली संस्कृतिको विशेषता हो। तर, कोराना भाइरस  नेपालीहरूको यही बानीमा तगारो बनेको छ। ‘सोसल डिस्ट्यान्सिङ’ फिटिक्कै मन नपराउने नेपाली एकअर्कासँग पर–पर हुन बाध्य छन्। सेलिब्रिटी पनि यसको चपेटामा छन्। यसरी बेग्लाबेग्लै बस्नुपर्दा उनीहरूले के मिस गरिरहेका होलान् ? ‘यसरी घरमा कैदी भएपछि हामीले गर्ने सानो–सानो कुराको पनि कति महत्त्व छ भन्ने कुरा बोध भएको छ,’ केकीले भनिन्, ‘जस्तो, कि साथीसँग कफी खाने, सिनेमा हेर्न जाने, काँधमा प्याट्ट हिर्काएर कुरा गर्ने। यी स–साना कुरालाई पनि भ्यालू गर्नुपर्ने रैछ भन्ने बोध भएको छ। कुनै पनि कुरालाई ‘टेकन फर ग्रान्टेड’ लिन हुँदैन रैछ भन्ने भएको छ।’

वर्षालाई पनि नयाँ कुराको ‘रियलाइजेसन’ भएको छ। उनलाई आफ्नो घरमा बस्दा पनि मान्छेले दिक्क मानेको देख्दा हामी कति बाहिरी दुनियाँमा हराउन थालेछौँ भन्ने लागेको छ।  ‘साँच्चै भन्नुपर्दा हामी बाहिरी दुनियाँमा यति हराएछौँ कि आफ्नै घर बस्नुपर्दा पनि बोर मानिरहेका छौँ,’ उनले भनिन्, ‘जुन एकदमै गलत हो।’ उनले एउटै कुरो मिस गरिरहेकी छिन्। ‘अभिनय मेरो रोजीरोटी र प्यासन दुवै हो,’ उनले भनिन्, ‘यही एउटा चिज मिस गरिरहेकी छु।’

रंगकर्मी विजयले भने नाटक र सिनेमा दुवैमा अनुकूलतामा काम गर्ने हुनाले हप्तादिनमै त्यस्तो ठूलो कुरा मिस भइनसकेको बताए। ‘ध्यान, योग, विपश्यना जाँदा पनि हप्तादिन ढुक्कैसँग बसिन्छ,’ उनले प्रस्ट्याए, ‘हप्तादिनमै ‘ज्या है, छुट्यो’ भन्ने चाहिँ लागेको छैन।’ 

अन्नपूर्ण सम्पूर्णबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.