कांग्रेसले भन्यो : ‘न सहमतिको सरकार, न चुनाव ’

कांग्रेसले भन्यो : ‘न सहमतिको सरकार, न चुनाव ’

काठमाडौं  : नेपाली कांग्रेसले पार्टीका नेताहरुको व्यक्तिगत धारणालाई संस्थागत रुपमा नबुझ्न आग्रह गरेको छ। मुलुक कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका बेला पार्टीका कतिपय नेताहरुले दिएका अभिव्यक्तिहरु विवादित बनेपछि कांग्रेसले नेताहरुको व्यक्तिगत विचारलाई पार्टीसँग जोडेर व्याख्या नगर्न अपील गरेको हो। 

 कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले व्यक्तिका मत पार्टीसँग जोडेर अतिरञ्जित व्याख्या नगर्न आग्रह गरेका छन्। ‘व्यक्तिगत मतहरु केवल व्यक्तिगत हुन्छन्। पार्टीलाई गाँसेर अतिरञ्जित व्याख्या नगरौं !’ आइतबार ट्वीटरमा उनले लेखेका छन्, ‘संस्थागत रूपमा नेपाली कांग्रेसको धारणा प्रष्ट छ- न सहमतिको सरकार न चुनाव। यो संकटको घडि जिम्मेवार ढंगले सरकारलाई हरसम्भव साथ, तर ढिलासुस्ती,अनियमितता र भ्रस्टाचार विरुद्ध खरो खबरदारी !’

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही दिन अघि संकटका बेला सहमतिको सरकार बन्ने प्रथा अन्य मुलुकमा पनि रहेको उल्लेख गर्दै नेपालमा पनि सबै दललाई समेटेर सरकार गठन गर्नुपर्ने धारणा राखेका थिए। ‘यस्तो बेला राष्ट्रिय सहमति जुटाउनुपर्छ। आवश्यक परे सहमतिको सरकार बनाएर पनि चलाउनुपर्छ,’ बिहीबार साँझ समाजिक सञ्जाल फेसबुकबाट कोरोना भाइरसबारे आफ्नो धारणा व्यक्त गर्दै कांग्रेस नेता पौडेलले भनेका थिए, ‘संकटमा बेलामा सहमतिको सरकार बन्ने प्रथा छ दुनियाँमा। सहमतिको सरकार बनाएर सञ्चाल गर्न सक्नुपर्छ।’ 

यस्तै शनिबार कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकारले काम गर्न नसके मध्यावधि चुनावमा जान सकिने अभिव्यक्ति दिएकोबारे केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो।

कोरोना महामारीसँग लड्न सरकारलाई रचनात्मक सहयोग गर्दै आएको कांग्रेसका कतिपय नेताहरुले सरकारको विकल्पका बारेमा धारणा राख्न थालेपछि पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टीको धारणा स्पष्ट पारेका हुन्। 

मेरो भनाईलाई तोडमोड गरियो : महत

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आफूले मध्यावधि निर्वाचनको माग नगरेको प्रष्टिकरण दिएका छन्। आइतबार विज्ञप्तिमार्फत उनले आफूले बोलेको कुरालाई तोडमोड गरेर एउटा अनलाइनमा मध्यावधि निर्वाचनको माग गरेको भनी प्रचार गरिएकोमा आपत्ति जनाए।

‘उक्त अन्तर्वार्ताको मुल आशय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो,’ महतले भने, ‘अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ताकस्ता अवस्था आउन सक्छन् भन्ने विषयकाबारे गरेको विश्लेषणलाई  बंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ।’  

उनले कोरोनाको संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बन्नुपर्नेमा जोड दिँदै कोरोनाको संक्रमण फैलिन नदिन कांग्रेसले पनि सरकारलाई रचनात्मक सहयोग गर्दै आएको बताए। ‘अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गर्दछु।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.