रुपन्देहीका सीमामा 'हाई अलर्ट'
भैरहवा : रुपन्देहीको सीमावर्ती भारतीय सहरमा कोरोना संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता (हाई अलर्ट) अपनाइएको छ । कोरोना संक्रमणको रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधरणको आवतजावत हुन सक्ने विषयलाई मध्यनजर गर्दै सीमामा उच्च सतर्कता अपनाइएको हो ।
भारतमा कोरोना संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन बढ्दै गएको छ । आइतबार दिउँसोसम्म भारतमा ३ हजार ३ सय ७८ जना संक्रमित र ७७ जनाको मृत्यु भइसकेको छ ।
शनिबार रुपन्देहीको मुख्य सीमानाका बेलहियादेखि २५ किलोमिटर र मर्चवार क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहेको कोल्हुई र पुरन्दपुर क्षेत्रको चार गाउँमा ६ जना संक्रमित फेला परेका थिए । मर्चवार क्षेत्रका सर्वसाधरणका लागि कोल्हुई मुख्य बजार हो ।
मर्चवार क्षेत्रबाट नेपाली र भारतीयको आवगमन हुने गर्दछ । सीमावर्ती क्षेत्रमा संक्रमित फेला परेसँगै जोखिम बढेको छ । यस्तै भारतबाट नेपाल आएका सुदूरपश्चिमका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएपछि सीमामा निगरानी बढाइएको छ ।
सीमापारी भारतीय बजारमा संक्रमित फेला परेपछि सीमामा उच्च सतर्कता अपनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारीले महादेव पन्थले बताए । उनले यसअघि बढी आवतजावत हुने पाँचवटा मुख्य नाका सिल गरिएको र अब अवातजावत हुन सक्ने सा-साना नाका-बाटोहरु पनि सिल गरिएको बताए ।
'एक जवानले अर्को जवानलाई देख्न सक्ने गरी सीमामा सशस्त्र प्रहरी खटिएका छन्,' उनले भने, 'पहिला खोला तरेर, साना गल्लीका बाटो पनि बन्द गरी निगरानी गरिरहेका छौँ ।' रुपन्देहीको भारतसगँ ५९ दशमलव ७ किमीको सीमा जोडिएको छ । सीमाम ५२ वटा प्वाइन्टमा चौबिसै घण्टा स्थायी रुपमा सशस्त्र प्रहरी खटिएका छन् । यसको अलावा जनपद प्रहरीले पनि जिल्लाको अन्य भेगसँगै सीमावर्ती क्षेत्रमा निगरानी गरिरहेको छ । सीमावर्ती क्षेत्रमा रहेका प्रहरी चौकीहरुले पनि निगरानी बढाएका छन् ।
भारतसगँ जोडिएको साना गोरेटो बाटो देखि ठूला सबै नाकामा जनशक्ति खटाएर निगरानी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख एसपी तेज पोखरेलले बताए । पहिल्यैदेखि नाकाबाट खटेको बाहेक नाकामा थप जनशक्ति परिचालन गरिएको उनले बताए । 'शनिबार नाकामा ८० जना थप जनशक्ति परिचालन गरेका छौँ,' उनले भने, 'अझै परिचालन गर्ने तयारीमा छौँ, जसका लागि थप जनशक्ति मगाएका छौँ ।'
यसको अलावा सशस्त्र र जनपद दुवैले सीमावर्ती क्षेत्रमा गाडी मोबाइल गस्ती, पैदल गस्ती, मोटरसाइकल गस्तीलगायतका माध्यमबाट सीमाको निगरानी गरिरहेका छन् ।