८ सय ५१ परिवारलाई राहत वितरण
मलंगवा : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आइतबारबाट राहत बाढ्ने काम सुरु गरिएको छ । कोरोना भाइरस संक्रमणको कारण सरकारले लकडाउन घोषणा गरेपछि खाद्यान्न समस्या भएका परिवारलाई राहत वितरण सुरु गरिएको हो ।
७ वटा वडा रहेको चन्द्रनगर गाउँपालिकामा पहिलो दिन वडा नं. २ र ७ मा राहत वितरण गरिएको छ । वडा नं. २ का ५ सय ४१ र वडा नं. ७ का ३ सय १० परिवारलाई राहत दिइएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए। प्रदेश सरकार र स्थानीय तह दुवैको संयोजनमा राहत वितरणको काम सुरु गरिएको महतोले जानकारी दिएका छन् ।
राहत वितरणमा प्रदेश सरकारले दिएको १० लाख र बाँकी गाउँपालिकाको लगानी रहेको महतोले बताए । गाउँपालिकाको पनि करिब १४ लाखसम्म खर्च हुने महतोले बताए । यसअघि पनि हात धुनका लागि ८ हजार २ सय साबुन र २१ हजार मास्क वितरण गरिएको महतोले जानकारी दिए । राहत वितरणपछि कीटनाशक औषधिसमेत छर्किने महतोले बताए ।
३ हजार १ सय ९१ परिवारलाई राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक साहले जानकारी दिए। वडा स्तरीय सर्वदलीय समितिले सिफारिस गरेको विपन्न परिवारलाई राहत बाँढ्ने काम सुरु भएको छ । १ देखि १० जनासम्म सदस्य संख्या भएको परिवारलाई १० किलो चामल, एक किलो दाल, १ किलो नुन र आधा लिटर खानेतेल वितरण गरिएको छ । ११ जना वा सोभन्दा बढी सदस्य संख्या भएको परिवारलाई १५ किलो चालम दिएको अधिकृत साहले बताए । ११ वा सोभन्दा बढी सदस्य संख्या भएको परिवार १ सय २४ वटा रहेको छ ।
त्यसैगरी सर्लाही सदरमुकाम मलंगवामा ३ सय ५५ परिवारलाई राहत वितरण गरिएको छ । वडा नं. १ का २ सय ३० र वडा नं. ८ का १ सय २५ परिवारलाई राहत वितरण गरिएको हो । १० किलो चामल, २ किलो दाल र ३ सय नगद प्रति परिवारलाई राहत प्रदान गरिएको मलंगवा नगरपालिकाले जनाएको छ ।