नक्कली डाक्टर बनेर काठमाडौँदेखि झापासम्म !
झापा : आफू डाक्टर भएको भन्दै लागु औषध कारोबारी लकडाउनमा काठमाडौँबाट झापाको काँकडभिट्टा आइपुगेका छन्।
ईलाका प्रहरी कार्यालय काँकडभिट्टाले शंका लागेर सोधपुछ गर्दा डाक्टरको नक्कली परिचयपत्र भिरेर लागू पदार्थ किन्न आएको बुझिएको प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोख्रेलले जानकारी दिए।
उनीहरु ललितपुर महानगरपालिका-१४ का ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौं २९ का २८ वर्षीय गणेश अधिकारी रहेका छन्। डीएसपी पोख्रेलले भने, ‘शंका लागेर सोधपुछका लागि रोक्यौँ। सोधपुछकै क्रममा उनीहरु लागुऔषध कारोबार गर्ने रहेछन् भन्ने पत्ता लाग्यो।’
पोख्रेलका अनुसार उक्त कुरा उनीहरु सवार गाडी खानतलासी गर्दा १ लाख २५ हजार नगद, ब्राउन सुगर सेवनमा प्रयोग हुने नोट, ब्लेड र सिक्कासमेत फेला पारेपछि उनीहरु लागुऔषधको कारोबार गर्ने रहेछन् भन्ने खुलेको हो।
उनीहरुलाई सोधपुछ पछि मेचीनगर ८ को आदर्श माविको क्वारेन्टाइनमा राखिएको छ। १४ दिन क्वारेन्टाइनमा राखेर थप अनुसन्धान अघि बढाइने डीएसपी पोख्रेलले बताए।