कोरानाको त्रासमा दादुराको महामारी

कोरानाको त्रासमा दादुराको महामारी

धादिङ : कोरोना संक्रमणको त्रास बढिरहेका बेला धादिङको बेनिघाट रोराङ गाउँपालिका ६ मा भने दादुराको महामारी फैलिएको छ।

दादुरा रुवेलाको खोप अभियान सुरु भएकै बेला बुमराङ, रोतेश, सोलडाँडा, सार्लिङलगायत चेपाङ बस्तीमा दादुरा फैलिएपछि दुई बालबालिकाको ज्यान गएको छ।

५० भन्दा बढी बिरामी परेका छन्। सन्तबहादुर चेपाङ र सोल्टीमायाकी २९ महिनाकी छोरी अनुशाको चैत ११ गते र मम्राङकी आशाकुमारी चेपाङको ८ महिने छोरो शसान्तको १५ गते मृत्यु भएको गाउँपालिकाले जनाएको छ। फागुन ४ गते उपचारका लागि चरौंदी आधारभूत स्वास्थ्य चौकी आएका बेला चेपाङ बस्तीका चार जना बालबालिकालाई दादुरा हुन सक्ने आशंका गरिएको थियो।

गाउँपालिकाका स्वास्थ्य संयोजक शंकरबाबु दुवाडीले भने, ‘दादुराका शंकास्पद बिरामी देखिएपछि गाउँपालिकाले गम्भीर बिरामीलाई कान्ति अस्पताल पठाएको थियो, उपचार गराउन ढिलो हुँदा २ जनाको ज्यान गएको छ।’ त्यसयता चेपाङ बस्तीका ६ महिनादेखि १५ बर्ष उमेर समूहका ५० भन्दा बढीलाई दादुराको प्रकोप देखिएको छ। फागुन १८ गते स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा र स्वास्थ्य कार्यालय धादिङको टोलीले स्थलगत अध्ययन गरी दादुराको महामारी (आउटब्रेक) भएको निश्चित गरेको थियो।

दादुराका बिरामी बढेपछि गाउँमै पुगेका स्वास्थ्यकर्मी बालबालिकालाई चेकजाँच गर्दै ।

फागुन २३ र २६ गते गाउँमै खोप केन्द्र स्थापना गरी खोप लगाइएको र घरघरमा पुगेर खोप लगाउन आग्रह गरिएको वडाध्यक्ष देवकृष्ण आलेले बताए। उनले भने, ‘दादुरा फैलिएपछि मात्रै करिब २ सय जनालाई खोप दिइएको छ, लकडाउनको समाप्तिसँगै घुम्ती शिविर सञ्चालन गरेर बचेखुचेका ५ वर्षमुनिकालाई दादुरालगायत आधारभूत खोप सेवा दिने योजना बनाएका छौं।’

चेपाङ बस्तीका ६ महिनादेखि १५ वर्ष उमेर समूहका ५० भन्दा बढीलाई दादुराको प्रकोप देखिएको छ।

दादुराको महामारी फैलिएपछि गाउँपालिकाले महामारी नियन्त्रणमा सहयोग गर्न आग्रह गर्दै स्वास्थ्य कार्यालय धादिङलाई गत १८ गते पत्राचार गरेको स्वास्थ्य संयोजक दुवाडीले बताए। जिल्लामा दादुरा नियन्त्रण अभियान सञ्चालन गर्न स्रोतसाधन नभएकाले बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयमार्फत प्रक्रिया अगाडि बढाइएकोमा कोरोना भाइरसले काम प्रभावित भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले बताए।

उनले भने, ‘हामीले स्थलगत अनुगमन गरी परीक्षणका लागि नमुना संकलन गरेका थियौँ, गाउँपालिकाले पनि महामारी नियन्त्रणमा ल्याउन सहयोग मागेको थियो तर लकडाउनपछि अभियान प्रभावित भएको हो।’ धादिङलाई तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले ०७४ पुस १६ गते ‘आधारभूत खोप सुनिश्चित जिल्ला घोषणा’ गरेका थिए। तर, दक्षिण भेकका विकट चेपाङ बस्तीमा ५ वर्षमुनिका बालबालिकालाई अनिवार्य लगाउनुपर्ने खोपसमेत नियमित हुँदैन। स्थानीय शिक्षक तिलक चेपाङ भन्छन्, ‘हरेक वर्ष धेरै चेपाङ बालबालिको मृत्यु भइराखेको हुन्छ तर के कारणले मर्छन्, किन मर्छन् कसैलाई चासो हुन्न। अभिभावकले नै चासो नदेखाएपछि अरूलाई झन् के चासो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.