लकडाउन उलंघन गर्ने बागलुङमा ३० जना पक्राउ
बागलुङ : जिल्लामा कोरोना संक्रमित संख्या र थप संक्रमणको जोखिम बढे पछि जिल्ला प्रहरी कार्यालय बागलुङले थप कडाई गरेको छ । देशभर जारी लकडाउन कार्यान्वयनमा अटेर गरेपछि सोमबार बिहानै ३० जनालाई पक्राउ गरिएको छ । प्रहरीले आइतबार ४० जनालाई पक्राउ गरी सम्झाई बुझाई गरेर छोडेको थियो ।
बजारका विभिन्न चोकमा बिहानै लकडाउन उल्लंघन गरी सडकमा हिँडिरहेका २२ पुरुष र ८ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेम केसीले बताए । प्रहरीले अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन स्थानीय प्रहरी प्रशासनले पटकपटक आग्रह गरेपनि अटेर गरेकाले पक्राउ गरेर क्याम्पस चौरमा राखिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए ।
प्रहरीले आफ्नो सुरक्षाका लागि घर बाहिर ननिस्कन, फलफूल तथा तरकारी समेत फोनबाट घरमै मगाउन आग्रह गरेको थियो । 'पटक पटक अनुरोध गर्दा समेत मर्निङ वार्क हिड्नेदेखि बजारमा बिना काम लखर लखर हिँडिरहेका छन्, जति भने पनि लागेको छैन,' प्रहरी प्रमुख भट्टले भने, 'अब कर्फ्यूमा जस्तो कोर्रा लगाउन मिलेन, हाम्रा लागि भए पनि घर भित्रै सुरक्षित बसिदिनुस् बाहिर जोखिम छ भनेर सम्झाई बुझाई केहीबेर राखेर पठाउने गरेका छौं।'
नेपालमा ९ जनामा कोरोना संक्रमण देखिएकोमा बागलुङका मात्रै दुईजना छन् । उनीहरु दुवैको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । शनिबार कोरोना संक्रमित पहिचान भएका कैलालीका युवासँगै भारतको गौरीफन्टाबाट ७ जना आएकोमा चारजना बरेङ गाउँपालिकाको क्वारेन्टाइनमा छन् भने बाँकी ३ जना गुमनाम भएपछि बागलुङ थप तरंगित छ ।
उनीहरुको जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरेर खोजी तथा पहिचान सुरु गरिएको प्रहरीले जनाएको छ ।