कोरोना संक्रमित वृद्धा भन्छिन् : भाग्दा-भाग्दै संक्रमण भएछ

कोरोना संक्रमित वृद्धा भन्छिन् : भाग्दा-भाग्दै संक्रमण भएछ

बागलुङ : छोरी भेट्ने र घुम्ने अभिलाषाका साथ बेल्जियम पुगेकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया महिला कोरोनाको चौतर्फी हल्लापछि घर फर्कने हतारोमा थिइन् । उनी नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन् । 

कम्तीमा एक महिना उतै बस्ने डुल्ने सोचले विदेश पुगेकी उनलाई छोरीको पनि आएको बेला सम्भाव्य ठाउँ घुमाएर देखाएर फर्काउने चाहना थियो । विदेश बोलाएकी छोरीलाई बल्लतल्ल मनाएर भ्रमण छोट्याउँदै उनी चैत्र ४ गते नेपाल फर्किइन्। तर, कोरोना सन्त्रासबाट भाग्दै नेपाल फर्किएकी उनलाई अन्ततः कोरोना भाइरसले पछ्याउँदै घरसम्मै आएको पुष्टि भयो । 

गत चैत्र २० गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ रिपोर्ट आयो । आफूमा कोरोना संक्रमण पुष्टि भएको समाचारले उनी अचम्मित भइन् । किनकी उनमा कोरोनाको अहिले भनिएको रुघाखोकी, ज्वरोको कुनै लक्षण नै थिएन । ‘विदेशमा कोरोनाको जोखिम हुन्छ होला भनेर डर लाग्यो, झन् छिटो-छिटो गरेर नेपाल फर्किएँ,’ उनले कोरोना अनुभव सुनाउँदै फोनमा भनिन्, ‘सुरुमा पत्यार लागेन तर, समाचारसँगै घरमा फोन आउन थालेपछि नपत्याउने आधार पनि बाँकी रहेन, कोरोनादेखि भाग्दा भाग्दै खोइ कसरी संक्रमण भएछ ।’ यात्राकै क्रममा कोरोना जोखिम बढी हुने र आफू त्यसकै शिकार भएको उनको अनुमान छ । 

झण्डै २०-२२ वर्षदेखि दमको रोगीसमेत रहेकी उनी बेल्जियमबाट  दोहा हुँदै कतार एयरवेजको क्यूआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएकी थिइन् । सोही विमानमा आएकी काठमाडौंकी १९ वर्षीया किशोरीलाई संक्रमण देखिएपछि उनको खोजी भएको थियो । त्यस क्रममै बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया किशोरीमा कोरोना संक्रमण भेटियो । जुन युवतिसँगै उनी बेल्जियमबाट काठमाडौं र त्यहाँबाट पोखरामा यति एयरको विमान हुँदै बागलुङसम्मै सँगै आएकी थिइन् ।

कुनै लक्षण नदेखिए पनि स्वाब परीक्षणमा पठाउने दबाबपछि स्वास्थ्यकर्मीको टोलीले नमूना लिएर काठमाडौं पठाएको थियो । यही चैत्र २० गते परीक्षणमा पोजेटिभ रिपोर्ट आयो । त्यसयता उनी धौलागिरी अञ्चल अस्पतालको आइशोलेशन कक्षमा उपचाररत छिन् । 

विदेशबाट बागलुङ फर्किएको दिन उनी छोरीको घरमा बसिन् । अर्को दिन बल्ल गौडाकोट स्थित घरमा पुगिन् । घरमा बस्दा गाउँका केही मानिस र बालबालिका पनि उनलाई भेट्न घरमा पुगेका थिए । उनीहरूलाई चकलेट पनि बा‌ढेकोको महिलाले बताइन् ।

अस्पतालमा उपचाररत उनले आफूलाई अहिले पनि कोरोना लागेको अनुभव नै नभएको प्रतिक्रया दिन्छिन् । ‘म बरु पहिलेदेखि दमको रोगी हो, यसले साह्रै दुख र पीडा पनि झेल्दै आएको थिएँ’, उनले थपिन्, ‘त्यो पनि घरमै क्वारेन्टाइनमा बस्दा सञ्चो भए जस्तो भएको थियो, अहिले अस्पताल बसे पनि रोग लागेको अनुभूति विश्वास नै छैन । मेरो आत्मबल नै कडा छ ।’  अहिले परिवारका सदस्य, आफन्तसँग फोनमा कुरा गरेर आराम गरेरै दिन बिताउने गरेको उनी बताउँछिन् । 

आफूलाई कोरोना संक्रमण भएपछि एम्बुलेन्स चालक भागेकोदेखि गाउँका मानिस पनि निकै डराएको आफूले सुनेको उनको भनाइ छ । ‘यस्तो बेलामा सबैको साथ सहयोग र हौसला चाहिने रहेछ,’ महिलाले भनिन्, ‘मान्छेहरु सचेत हुनु त राम्रै हो । तर देखेरै भाग्ने र घृणा गर्ने धेरै हुँदा रहेछन् । अहिले को कस्ता रहेछन् चिन्न पाएकी छु ।’ उनलाई आफूलाई भन्दा परिवारका सदस्यलाई संक्रमण सर्‍यो कि भन्ने बढी पिरलो थियो । परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएपछि उनी खुशी देखिन्छिन् । 

आमालाई कोरोना संक्रमण भयो भन्दा सुरुमा अत्तालिए पनि विस्तारै सम्हालिएको वृद्धाका छोराले बताए । अस्पतालबाट तपाईंको आमालाई कोरोना संक्रमण देखियो, अस्पताल ल्याउनु पर्ने भो भनेर पहिलो फोन आफूलाई आएपछि आफ्नो केहीबेर बोली नै अवरुद्ध भएका उनी सम्झन्छन् । 

‘साहस गरेर आमालाई हजुरलाई कोरोना देखियो रे भने’, अत्यास लाग्दो क्षणका कुराकानीबारे उनले भने,‘आफूलाई रोग लागेको भन्दा पनि हामीलाई र गाउँका मानिसलाई पनि सर्‍यो कि भनेर चिन्ता गर्नुभएको थियो ।’ संक्रमित महिलाले अहिलेको कठिन घडीमा डराउनेभन्दा सचेतता अपनाउनु पर्नेमा जोड दिइन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य भएकाले केही दिनपछि पुनः ठिक भएर घर फर्किने उनले विश्वास व्यक्त गरिन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.