राउटे महामुखियाको सरकारलाई आग्रह, ‘मेरो जनतालाई पनि जोगाइदेऊ’

राउटे महामुखियाको सरकारलाई आग्रह, ‘मेरो जनतालाई पनि जोगाइदेऊ’

सुर्खेतः खोला किनारमा केही छाप्रा छन् । बस्तीलाई लकडाउन गरिएको छ । हिजोआज बस्तीमा जोकोही पस्दैनन् । न त बस्तीका मान्छे नै बाहिर निस्कने आँट गर्छन् । बरु बस्तीमा बारिहबाट कोही पस्न खोज्दा उनीहरू नै रोक्छन् । अन्य समुदायका मान्छेलाई आफ्नो बस्तीमा नआइदिन आग्रह गर्छन् ।

    
जंगलमा घुमन्ते जीवन बिताउँदै आएको राउटे समुदाय यतिबेला लकडाउनमा छ । सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चु खोलाको किनारमा रहेको राउटे बस्तीलाई पनि लकडाउन गरिएको छ । बन्यजन्तुको शिकार र काठका सामग्री बिक्री गरेर जीवन निर्वाह गर्ने राउेटलाई पनि कोरोनाको त्रासले छोएको छ । यही त्रासले उनीहरू हिजोआज जंगल र बस्तीमा जान छाडेका हुन् ।


    
लकडाउनले बस्तीमा खाद्यान्न संकटको पीरलो छ । तर पनि कोरोना संक्रमणको त्रासले उनीहरू खाद्यान्नको जोहो गर्नका लागि बाहिर जान छाडेका छन् । बरु बस्तीमा खाद्यान्न वितरणका लागि बेलाबेलामा सरकारी टोली पुग्ने गरेका छन् । बस्तीमा सरकारी टोली पुग्ने बित्तिकै राउटे मुखियाले प्रश्न गरी हाल्छन्,‘देशमा अवस्था कस्तो छ ? यो नयाँ रोग आयो भनेका छन् । केही नोक्सान त भएको छैन नि ?, हाम्रो बस्तीमा पनि रोग आउँछ की ?’ 

विश्वभर महामारीको रूप लिएको कोरोनाबारे राउटेले नजिकैका अन्य बस्तीबाट सुनेका हुन् । अन्य समुदायका व्यक्ति र सरकारी निकायले कोरोनाले मान्छेको ज्यान लिने बताएपछि राउटेमा पनि त्रास बढेको छ । राउटे समुदायका महामुखिया महिनबहादुर शाही भन्छन्,‘बाहिर (विदेश) धेरै मान्छे मरेका छन् भन्ने सुनेको छु, हाम्रो देशमा पनि आयो भन्छन् । यसबाट बच्नु त पर्‍यो, अब सरकारले मेरो जनतालाई पनि जोगाइदिनु पर्‍यो ।’ राउटेहरू सामान्य रोग लाग्दा अस्पतालमा उपचार गराउँदैनन् । जंगलमा पाइने जुडिबुटीको प्रयोग गर्छन् । तर कोरोनाबारे धेरै सुनेपछि भने उनीहरूमा त्रास देखिन्छ । यही त्रासले आफूहरू बस्तीबाहिर जान छाडेको महामुखिया शाहीले सुनाए ।

राउटेले हालसम्म नेपाली नागरिकता लिएका छैनन् । यसअघि दैलेखको गुराँस गाउँपालिकाको स्थायी बासिन्दाका रूपमा पहिलोपटक सरकारी परिचयपत्र लिएका थिए । राउटेको अवस्था बुझ्न र उनीहरूको स्वास्थ्य परीक्षणका लागि बस्तीमा पुगेका गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीसँग राउटेले आफूहरूलाई सुरक्षित राखिदिन आग्रह गरे । छिन्चु खोला किनारमा गर्मीले समस्या भएको र कोरोनाको त्रास बढेको भन्दै राउटेले आफूहरूलाई गुराँस गाउँपालिकामा स्थानान्तरण गर्न माग गरे । तर गाउँपालिका अध्यक्ष वलीले लकडाउनका कारण तत्काल बस्ती सार्न नमिल्ने भन्दै केहीदिन धैर्य गर्न  आग्रह गरे । 

राउटे बस्तीमा हाल भेरीगंगा नगरपालिकाले दुई जना स्वास्थ्यकर्मी खटाएको छ । उनीहरूले राउटेको नियमित स्वास्थ्य जाँज गर्दै आएका छन् । यस्तै राउटे बस्तीको निगरानीका लागि प्रहरी पनि खटाइएको छ । उनीहरूले राउटेलाई बाहिर जान र अन्यलाई बस्तीमा प्रवेश गर्न रोक लगाउने गरेका हुन् । कोरोनाको त्रासकै कारण राउटेले पछिल्लो समय मास्क लगाउन थालेको भेरीगंगाका मेयर भुपेन्द्रबहादुर चन्दले बताए । राउटे बस्ती पनि जोखिममा रहेकाले आफूहरूले कडा निगरानीमा राखेको उनको भनाइ छ । बस्तीलाई लकडाउन गरिएको र खाद्यान्न संकट हुन नदिन प्रदेश सरकारसँग पनि समन्वय भइरहेको चन्दले जनाए । राउटे बस्तीमा हाल एकसय ५० जना छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.