वीरगन्जमा प्रदेश सरकारले कोरोनाको छुट्टै अस्पताल बनाउने
वीरगन्ज : कोरोना संक्रमणको उच्च जोखिममा रहेको मुख्य नाका वीरगन्जमा प्रदेश सरकारले कोरोनाको परीक्षण र उपचार गर्ने छुट्टै अस्पताल निर्माण गर्ने भएको छ । वीरगन्जबाट सोमबार जनकपुर पुगेका सांसद, मेयर र चिकित्सकको टोलीसँगको कुराकानीमा मुख्यमन्त्री लालबाबु राउतले वीरगन्जमा कोरोना परीक्षण र उपचार गर्ने छुट्टै अस्पताल निर्माण थाल्ने प्रतिबद्धता जनाएका टोलीमा सहभागी पर्साका सांसद प्रदीप यादवले जानकारी दिए ।
कोरोनाको छुट्टै अस्पताल निर्माण स्थलका लागि प्रदेश सरकारले मङ्गलबार नै प्राविधिकको टोली वीरगन्ज पठाउने जानकारी पनि मुख्यमन्त्री राउतले दिएको यादवले बताए । मुख्यमन्त्री राउतले वीरगन्जमा कोरोना परीक्षण गर्ने पिसिआर मेशीन खरिद प्रकृयाका लागि मङ्गलबार नै बोलपत्र आह्वान गर्ने जानकारी पनि दिएको यादवले बताए ।
वीरगन्जमा कोरोना परीक्षण प्रयोगशाला स्थापनामा ढिलाइ हुँदा कोरोना संक्रमणको जोखिम बढेपछि सोमबार जनकपुरमै पुगेर प्रदेश सरकारको ध्यानाकर्षण गराइएको टोलीमा सहभागी वीरगन्जका नगर प्रमुख विजय सरावगीले बताए ।
हाम्रो कुरालाई मुख्यमन्त्रीले निक्कै गम्भीररूपमा लिनुभयो', सरावगीले भने, ‘मङ्गलबार नै मन्त्रिपरिषदको बैठक बसेर वीरगन्जको हकमा निर्णय गर्ने प्रतिबद्धता जनाउनुभयो ।'
वीरगन्जबाट जनकपुरमा गएको टोलीमा सांसद यादव, नगर प्रमुख सरावगी, नारायणी अस्पतालका निमित्त मेसु डा मदन उपाध्याय, अस्पतालका कोरोनासम्बन्धी सम्पर्क व्यक्ति डाक्टर उदयनारायण सिंह सहभागी थिए ।