लकडाउनमा बगान खोलियो, विरोधपछि बन्द
झापा : चिया उद्यमीले मजदुरको स्वास्थ्य सुरक्षा सतर्कता नअपनाई चिया बगान खोलेकामा स्थानीय निकाय र मजदुरकै विरोधपछि बन्द भएको छ।
झापाको मेचिनगर नगरपालिकाको टोक्ला बगान र बुद्धशान्ति गाउँपालिकामा पर्ने संघाई ग्रुपले ठेक्का लिएको बर्ने चिया बगानले शनिबार आफ्ना मजदुरलाई काम गर्न बोलायो। सर्वत्र विरोध भएपछि बगानले मजदुरलाई फिर्ता पठाएको छ।
प्रदेश १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चिया टिप्न, ढुवानी गर्न र कारखाना सञ्चालन गर्न स्थानीय तहलाई सुरक्षित मापदण्ड बनाइ कार्यान्वयन तथा अनुगमन गर्न निर्देशन दिएको थियो।
सरकारले कोरोना भाइरसका कारण देशभरका उद्योगधन्दा बन्द गरे पनि बगान प्रशासनले लकडाउनको दोस्रो साता बित्न नपाउँदै मजदुरलाई काममा बोलाएको थियो। काममा नआउनेलाई जागिरबाटै निकाल्नेसम्मको प्रशासनको धम्कीपश्चात् बाध्य भएर काममा जानुपरेको मजदुर बताउँछन्।
'राज्यले हाम्रै लागि घोषणा गरेको लकडाउन हामी मान्न तयार छौं', बुद्धशान्ति बर्ने चिया बगानमा २२ वर्षदेखि कार्यरत इन्दिरा गौतमले भनिन्, 'हामीलाई बगानले झुक्याएर काम गर्न बोलाए। एउटा पातलो मास्क एक दिन लगाउँदै फाट्ने खालको दिएका थिए। अरु केही थिएन। त्यसपछि हामी बरु खोले खाएरै भए पनि आफ्नो र परिवारको ज्यान जोगाउने बेला हो भनेर कामबाट फर्कियौँ।'
'गरिब छौं यसको अर्थ हाम्रो मृत्यु सस्तो छैन', झापाका चिया बगानमा कार्यरत मजदुर यतिबेला आर्थिक संकटसँगै आक्रोशित पनि बनेका छन्।
'हामीलाई आर्थिक संकट छ। हप्तामारी गरेर खाने हामीलाई एक हप्ताभन्दा बढीको जोहो हुँदैन', बुद्धशान्ति ४ देवी बस्तीका चिया मजदुर अगबन बिकले भने, 'एउटा सामान्य स्वास्थ्य सुरक्षाको नाममा सफा साबुन पानी पनि बगानमा हामीलाई उपलब्ध थिएन।'
आक्रोशित हुँदै अगबनले भने, 'के ठान्छन् मजदुरलाई ? सधैँ आखाँमा छारो हाल्ने काम मात्र हुन्छ। पढेलेखेका हुँदैनन् भनेर बगान खोल्न मजदुरलेनै भनेको भनेर माइनटमा लेखेछन्। हाम्रा साथि सबैले माइनटमा हस्ताक्षर गरेछन् र बगानमा काम सुरु गराएको रहेछ।'
बुद्धशान्ति गाउँपालिका प्रमुख रमेश भुझेलले बिना सुरक्षा उपकरण मजदुरलाई काममा लगाउनेले आपूmलाई मात्र मान्छे ठानेको बताए। मजदुरकै कारण उभिएको संघाई गु्रपले मजदुरलाई भेंडाबाख्रा ठानेर काममा लगाएको देखेपछि गाउँपालिकाले रोकेको जानकारी दिए।
प्रदेशले दिएको पत्र अनुरुप आपूmले बगान खोलेको तर मजदुरलाई नचाहिँदो रुपमा उकास्ने काम भएको संघाई ग्रुपका सुबासचन्द्र संघाइले बताए। 'हामीले दूरी पनि विचार गरेका थियौं। हाम्रा मजदुर बाहिरबाट आएर काम गर्ने पनि होइनन्, काम गर्न नदिनुको कुनै अर्थ नै छैन', सांघाइले भने, 'यसले मजदुरको दैनिक जीवन चल्न पनि मद्दत पुग्थ्यो। बगानमा काममा नलगाई कम्पनीले कसरी ज्याला दिन सक्छ यो न्यायोचित छैन।'
संघाईले भने, 'हामीले मजदुरलाई उच्च सुरक्षा सतर्कता अपनाउन र स्वास्थ्यसम्बन्धी उपकरण पनि उपलब्ध गराउने तयारीमै थियौं। अब सबै रोकियो। अब सरकारले जे निर्णय गर्छ त्यसपछि सोचौंला।'
नेपाल चिया बगान श्रमिक संघका राष्ट्रिय अध्यक्ष दीपक तामाङका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा जिल्लाभरिका सरकारी र निजी बगानका सम्बन्धित व्यक्तिलाई राखेर गरेको छलफलमा बगानभित्रका अति आवश्यक काम बगान नमरुन भन्न औषधि छर्ने र पानी लगाउनका लागि अति कम मजदुर लाग्ने हुँदा त्यति काम गर्न सहमति भएको थियो। तामाङले भने, 'बगानमा भए भरका मजदुरलाई बिना सुरक्षा सर्तकता काम गर्ने अनुमति दिएका थिएनौं। अहिले बगानमा काम गर्ने अवस्था हैन। आर्थिक क्षतिभन्दा पनि शारीरिक क्षति हुन सक्ने समस्यामा हामी छौं।'
प्रदेश १ का चिया हुने झपा, इलाम, पाँचथर, धनकुटा, तेह््रथुमलगायतमा सञ्चालित चिया बगान र कारखाना यतिबेला बन्द छन्। चियाको पहिलो लट हुर्कंदै गएको छ। चिया उद्यमीका अनुसार झापामा फस्ट फ्लसको समय गइसक्यो। नेपालमा प्रत्यक वर्ष फस्ट फ्लस चिया २५ देखि ३० लाख केजी उत्पादन हुन्छ। झापामा मात्र २० लाख किलो फस्ट फ्लस चिया उत्पादन हुन्छ। झापाको फस्ट फ्लस चिया अब पूर्ण रुपमा नै काम नलाग्ने अवस्थामा पुगेको चिया बचाउ अभियानका संयोजक आदित्य पराजुलीले बताए। यता चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले भने, 'शनिबारदेखि बगानमा पानी लगाउन र औषधि छर्न मात्र खुला गरिएको हो।'