लकडाउन : कुखुरा र अण्डा बिक्नै मुस्किल
बेंसीसहर : कोराना भाइरस संक्रमण जोखिमका कारण देशभर लकडाउन भएसँगै ब्रोइलर कुखुराको मासु र अण्डाले बजार नपाउँदा लमजुङका किसान विचल्लीमा परेका छन् । किराना पसल तथा फ्रेस हाउस बन्द हुँदा किसानले उत्पादन गरेका कुखुरा र अण्डा खोरमै थन्किएका छन् ।
लमजुङमा दैनिक ३० हजारको संख्यामा कुखुराको अण्डा उत्पादन हुँदै आएको छ । तर बजारमा बिक्री नभएपछि सोहि अनुपातमा नोक्सानी व्यहोर्नुपरेको अण्डा उत्पादक संघ लमजुङका अध्यक्ष ज्ञानेन्द्र बोहोराले बताए । 'अण्डा तीन हप्ताभन्दा बढी समय मौजात राख्न सकिन्न,' बोहोराले भने, 'अहिले बजार नै छैन, सबै गोदाममै थन्किएको छ।'
जिल्लामा दैनिक डेढसय पेटी अण्डा बिक्री हुँदै आएकोमा अहिले १० प्रतिशत पनि विक्री हुन नसकेको व्यवसायी बताउँछन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले कुखुरा, अण्डा र दाना ओसारपसारमा छुट दिएपनि उपभोक्ता घटका कारण समस्या भएको बताए ।'कुखुरा, अण्डा, दाना, तरकारी, दुधजस्ता कृषि उत्पादन ओसारपसारलाई छुट दिएका छौं, प्रजिअ खड्काले भने, 'उपभोक्ता नै कम भएका छन, बिक्रीमा समस्या हुने नै भयो।'