पोखरामा बिरामी लिन नजाने एम्बुलेन्समाथि कारबाही
पोखरा : बिरामीले बोलाउँदा लिन नगएका पोखरा २ निजी अस्पतालका एम्बुलेन्समाथि कास्की प्रहरीले कारबाही गरेको छ।उक्त अस्पतालबाट सञ्चालित ग१च ५४९२ र ग१च २७१४ नम्बरको एम्बुलेन्स र चालक कारबाहीमा परेका हुन्।
मेट्रो सिटी र फेवा सिटी अस्पतालका एम्बुलेन्स चालकले सोमबार बिरामीबाट बोलावट हुँदा विभिन्न बहाना बनाएर सेवा दिन आनाकानी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले जनाए।
उनले भने, ‘पोखरा महानगरभित्रकै बिरामीले ज्वरो आएर लिन बोलाउँदा नगएको प्रमाणसमेत भेटेर एम्बुलेन्स र चालक नियन्त्रणमा लिएका थियौं’, उनले भने, ‘अत्यावश्यक मानवीय सेवामा प्रयोग हुने एम्बुलेन्स धेरै राख्न पनि हुँदैन भनेर १ दिन चालकलाई हिरासतमा राखी अब त्यस्तो नगर्ने सर्तमा छाड्यौं ।’
कास्कीमा एम्बुलेन्स सेवा ४० वटा छन्।तर सबैजसोले ज्वरो आएका बिरामीलाई लिन जान अप्ठेरो मानेको सेवाग्राहीको गुनासो छ।ज्वरो आएको बिरामी भनेपछि कोरोना भाइरसै लागेको होला भनी एम्बुलेन्स चालकहरुले लिन जान अप्ठेरो मानेका हुन्।
रेडक्रस कास्कीका अध्यक्ष डोलराज पाण्डेले आफूहरुसँग भएका २ वटा एम्बुलेन्स २४ सै घन्टा सेवारत रहेको जानकारी दिए।‘२ वटा एम्बुलेन्स फुल कुदेका छन्’, उनले भने, ‘ड्राइभरहरु सुत्न पाएका छैनन् ।’ आफूले अरु बेला राति मोबाइल अफ गर्ने गरेकोमा अहिले २४ सै घन्टा खुला राखिरहेको उनले सुनाए।
‘खुट्टा भाँचिएको भने पनि अरु हस्पिटलका एम्बुलेन्सले बोक्न मानेका छैनन्’, पाण्डेले भने, ‘कतिपय बिग्रेको छ भनेर बसेका छन्, कतिपय अस्पतालका एम्बुलेन्स छैनन्, रेडक्रसको एम्बुलेन्स त संक्रमितै भएका बिरामी बोक्ने गरी डेडिकेटेड मानिएको छ।बागलुङकै संक्रमितलाई काठमाडौं लैजाने भनेर भनियो, हामी तयारै थियो, पछि परेन भनियो र जानु परेन।’