कोरोना नियन्त्रणमा सरकार गम्भीर भएन : कांग्रेस
काठमाडौं : कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन र रोकथामका लागि सरकार गम्भीर नरहेको निष्कर्श निकालेको छ। कोरोना नियन्त्रण अभियानमा सरकारलाई रचनात्मक सहयोग गर्दै आएको कांग्रेसले सरकारको पछिल्लो कार्यशैलीप्रति भने तीब्र असन्तुष्टि जनाएको हो।
मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले कोरोनाबाट जोगिन पर्याप्त समय हुँदा पनि सरकारले कुनै गम्भीरता नदेखाएको निचोड निकालेको छ। छिमेकी मुलुक चीनमा कोराना संक्रमण देखिएको चार महिना बितिसक्दा समेत सरकारले अत्यावश्यक स्वास्थ्यसामग्रीको बन्दोवस्त गर्न नसकेको र महामारीका बेला खरिद प्रकरणमा भएको अनियमिताप्रति कांग्रेसले आपत्ति जनाएको छ।
मुलुक कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको उल्लेख गर्दै कांग्रेसले परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। ‘सरकारले समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद् रूपमा लिएका छौं’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘मुलुक संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परीक्षणको दायरा तत्काल व्यापक रूपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपिल गरेका छौं।’
कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणबाट मुलुकलाई जोगाउन आफूले सबै पक्षसँग निरन्तर संवाद गरिरहेको बैठकमा जानकारी गराएका थिए। देउवाले आइतबार पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन संवाद गरेका थिए भने सोमबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीसहित कैलाली र कञ्चनपुरका जिल्ला प्रमुख अधिकारीसँग पनि टेलिफान सम्वाद गरेका थिए। कांग्रेसले अहिलेको संकटसँग जुध्न सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ।
कांग्रेसले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमिता छानबिन गर्नुपर्ने माग दोहोर्याएको छ। साथै उसले अनियमितामा संलग्नलाई पदमुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। ‘स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर भएको भ्रष्टाचार र अनियमिततामा संलग्नलाई पदमुक्त गर्न अपिल गर्दै बैठकले अनिवार्य छानबिन र कारवाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं’, कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसले अत्यावश्यक स्वास्थ्यसामग्री खरिदको जिम्मा सेनालाई दिएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएको छ। पारदर्शी रूपमा जी टु जी प्रक्रियाबाट खरिद गर्न सकिने विषयलाई पनि आफ्नो कमजोरी लुकाउन सेनालाई जिम्मेवारी दिने काम बारेमा छलफल भएको नेताले सुनाए।
अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावका बीचमा पनि स्वास्थ्यकर्मीहरू काम गरिरहेको उल्लेख गर्दै कांग्रेसले सरकारलाई स्वास्थ्य सामग्रीको व्यवस्थापनमा ढिलाइ नगर्न आग्रह गरेको छ।
‘पीपीइ, परीक्षण किट र भेन्टिलेटरलगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनावैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्नुपर्छ’, बैठकमा सहभागी एक नेताले भने।
सीमाका नेपालीलाई व्यवस्थित रूपले क्वारेन्टाइनमा राख्ने गरी मुलुकभित्र प्रवेश दिनुपर्नेमा बैठकले जोड दिएको छ। पछिल्लो समय दार्चुलाको सीमापारी धार्चुलामा संयौंको संख्यामा नेपाली सीमामा बस्दै आएका छन्। कांग्रेसले उनीहरूलाई मुलुकभित्रै ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने माग गरेको हो। त्यस्तै ज्यालादारी श्रमिक र डेरामा बस्ने विद्यार्थी लक्षित राहत कार्यक्रम तत्काल ल्याउन कांग्रेसको माग छ। साना ठूला सबै व्यवसायीलाई पनि राहतको प्याकेज ल्याउन उसको माग छ।
सुरक्षाकर्मी र संचारकर्मीलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्न अत्यावश्यक प्रबन्ध मिलाउन कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ। लकडाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न कांग्रेसले आमनागरिकलाई अपिल गर्नुका साथै पार्टीका केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसद एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रूपले कार्य गर्न निर्देशन दिएको छ।
कोरोनाको जोखिमसँग जुध्न बैठकले विज्ञ समूह निर्माण गरेर निरन्तर समूहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ। सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकमा प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण र राष्ट्रिय सभामा विपक्षी दलका नेता राधेश्याम अधिकारी सहभागी थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल भने स्वास्थ्य समस्याका कारण बैठकमा सहभागी नभएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिए।