गोठजस्तो क्वारेन्टाइन
धनगढी : विज्ञहरूले सुदूरपश्चिम कोरोना भाइरसको एपिसेन्टर बन्न सक्ने चेतावनी दिएका छन् । दुबईबाट आएका धनगढी उपमहानगरपालिका–५ का ३४ वर्षीय युवकमा चैत १४ मा पहिलो पटक कोरोना संक्रमण देखिएको थियो । त्यसपछि चैत २२ मा थप तीन जनामा संक्रमण देखिएपछि सुदूरपश्चिममा कोरोनाका चार जना बिरामी भएका छन् ।
नेपाली सेनाको छाउनी अस्पतालका चिकित्सकको टोलीले कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा बसेका भारतबाट फर्केका ९२ जनाको स्वाब संकलन गरेको थियो । तीमध्ये दुई जनामा संक्रमण पुष्टि भएको छ । सेनाले यसलाई सर्भिलेन्स टेस्ट भनेको छ ।
कञ्चनपुरको वेदकोट नगरपालिका–९ मा रहेको कृषि फर्मको छात्रावासमा बसेका ४१ वर्षीय र कैलालीको लम्की चुहा नगरपालिका–९ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा बसेका २१ वर्षका पुरुषमा कोराना संक्रमण देखिएको हो ।
दुवै जना भारतबाट आएका हुन् । कञ्चनपुरको वेदकोटका कोरोना संक्रमित कञ्चनपुरसँग सिमाना जोडिएको चम्पावत जिल्लाको सल्ली भन्ने स्थानबाट लकडाउनको तेस्रो दिन अर्थात् चैत १३ मा नेपाल फर्किएका हुन् । उनी र उनीसँगै आएका अरू ११ जनालाई कञ्चनपुरको ब्रह्मदेवबाट सशस्त्र प्रहरीले पक्राउ गरी क्वारेन्टाइनमा पुर्याएको थियो । उनीहरू लुकेर ब्रह्मदेवको बाटो चम्पावतबाट पैदल आएका थिए ।
कैलालीमा भेटिएका संक्रमित चैत ११ मा नेपाल–भारत सिमाना गौरीफन्टाको ९ सय ९८ जनाको भीडमा थिए । भारतको महाराष्ट्रबाट फर्किएका उनीसँगै सीमा नाकामा रोकिएका नेपालीले चैत ११ का दिन नाकामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई ढुंगामुढा गरी नेपाल प्रवेशको प्रयास गरेका थिए ।
यद्यपि, प्रहरीले लाठीचार्ज गरेर उनीहरू सबैको रेकर्ड राखेर बेलुकी मात्रै सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा राख्ने शर्तमा उनीहरूलाई गाडीमा पठाएको थियो । एक हजारको भीडमा नाराबाजी गरेका ती युवकमा कोरोना देखिएपछि अहिले सबै स्थानीय तहले त्यो दिन गौरीफन्टा नाकामा रहेकाहरूको खोजी गरिरहेको छ ।
धनगढी उपमहानगरपालिका–५ का युवकका परिवारकी महिलामा संक्रमण देखिएपछि स्थानीय संक्रमण भएको पनि पुष्टि भएको छ । यसअघि विदेशबाट आएकामा मात्र कोरोना देखिएको थियो । आयातीत कोरोना स्थानीयमा पनि देखिएपछि सुदूरपश्चिममा खतराको संकेत देखिएको चिकित्सकहरू बताइरहेका छन् ।
भारतबाट चैत ११ सम्म सुदूरपश्चिमका सीमा नाकाबाट मात्रै डेढ लाख मानिस नेपाल भित्रिएका छन् । वरिष्ठ फिजिसियन डाक्टर शेरबहादुर कमर भन्छन्, ‘भारतबाट फर्केका नेपालीबाट बढी खतरा छ, किनकि त्यहाँबाट फर्केका सबै क्वारेन्टाइनमा छैनन् ।’
डाक्टर कमर अर्को खतरा स्थानीय संक्रमण भएको बताउँछन् । ‘पहिलो पटक संक्रमण स्थानीयमा सरेको देखिएको छ,’ उनी भन्छन्, ‘यो अझ बढी खतराको संकेत हो । स्थानीय संक्रमणका रूपमा देखिएर कोरोना दोस्रो चरणमा प्रवेश गरेको छ । त्यसलाई रोक्न तीव्र गतिमा परीक्षण गर्नु आवश्यक छ ।’
सीमामा भयो भूल
संघ, प्रदेश र स्थानीय सरकारले अहिले लकडाउनअघि सीमा नाकाको व्यवस्थापन गर्न नसकेको कुरालाई आफूहरूको भूल मानिरहेका छन् । भारतबाट आएका नेपाली सबैलाई क्वारेन्टाइनमा राख्न नसक्नु महाभूल भएको प्रदेश सरकारको पनि आकलन छ । भारतबाट फर्केका डेढ लाखमध्ये सुदूरपश्चिममा २३ सय ३६ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् । कैलाली, लम्कीचुहाका युवकसँगै आएका अरूलाई क्वारेन्टाइनमा पुर्याउन सकिएको छैन ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट भन्छन्, ‘सीमा नाकाको व्यवस्थापनमा कमजोरी रह्यो । त्यसबेला संघीय सरकारले पनि क्वारेन्टाइनको कुनै कार्ययोजना बनाएको थिएन । प्रदेश सरकारले पनि सीमा नाकाबाटै सबैलाई क्वारेन्टाइनमा पुर्याउन सकेन ।’
भारतसँग सिमाना जोडिएका कैलालीको गौरीफन्टा र खक्रौला, कञ्चनपुरको गड्डाचौकीबाट तीन दिनमा मात्रै ६८ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए । उनीहरूलाई सीमा नाकामा ज्वरोमापनबाहेक कुनै पनि व्यवस्था थिएन । ‘फागुनको अन्तिम हप्तापछि भारतबाट आउन सुरु भएका नेपालीको तथ्यांक राख्दै सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राख्न सकिएको भए अहिले चिन्ता गर्न पर्दैनथ्यो,’ सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थी भन्छन्, ‘त्यहीँनेर तीनै सरकार चुके ।’
अहिले सुदूरपश्चिम संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका लागि पनि टाउको दुखाइ भएको छ । संघीय सरकारले, कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका नेपालीको ‘र्यापिड टेस्ट’ को तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आएका चार जना र प्रदेश सरकारका चार जना गरी आठ जना स्वास्थ्यकर्मीको टोली कैलाली र कञ्चनपुरका क्वारेन्टाइनमा रहेका नेपालीको थ्रोट स्वाब टेस्टका लागि खटिएको छ । कैलालीका ३९ क्वारेन्टाइनमा ४ सय ५१ र कञ्चनपुरका नौ वटा क्वारेन्टाइनमा १ सय ७० जना रहेका छन् ।
गोठजस्तो क्वारेन्टाइन
‘सर्भिलेन्स टेस्ट’ मा दुई जनामा कोरोना संक्रमण देखिएपछि संघीय सरकारले कैलाली र कञ्चनपुरका सबै क्वारेन्टाइनका मानिसको थ्रोट स्वाब टेस्ट गर्ने निर्णय गर्यो । तर, सुदूरपश्चिमका नौ वटा जिल्लामा २३ सय ३६ जना भारतबाट फर्केका मानिस क्वारेन्टाइनमा छन् । कैलाली र कञ्चनपुरमा ६ सय २१ जना क्वारेन्टाइनमा छन् भने १ हजार ७ सय १५ जना अरू पहाडी जिल्लामा बसिरहेका छन् ।
अहिले उनीहरूको पनि स्वाब संकलन गरी चेकजाँच गर्नुपर्ने माग उठेको छ । ‘पहाडी जिल्लाका क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरी जाँच हुनुपर्छ भनेका छौँ,’ डा. अवस्थी भन्छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि भनिएको छ । उताबाट सकारात्मक जवाफ आएको छ ।’
मुख्यमन्त्री भट्टले पनि कैलाली, कञ्चनपुर मात्रै होइन, सुदूरपश्चिमका सबै क्वारेन्टाइनमा बसेका मानिसको परीक्षण हुनुपर्ने बताए । ‘मैले, संघीय सरकारलाई सबैको चेकजाँचका लागि अनुरोध गरेको छु,’ उनी भन्छन्, ‘भारतबाट फर्केर घरमै बसेकाहरूको पनि परीक्षण हुनुपर्छ ।’
यद्यपि, सरकारले जारी गरेको सेल्फ–क्वारेन्टाइन निर्देशिकाअनुसार कतै पनि व्यवस्था भएको छैन । धेरै क्वारेन्टाइनमा खानेपानी, ओढ्ने–ओछ्याउने र दाउराको समेत अभाव छ । स्थानीय तहले खानाको व्यवस्थापन गरे पनि सामाजिक दूरी, दैनिक चेकजाँचमा ध्यान दिएको छैन ।
कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले कम्तीमा डेढ मिटरको दूरी कायम गर्न भनेको छ । तर, क्वारेन्टाइनमा एकै पालमुनि तीनचार जना बसेका छन् । डोटीको आदर्श गाउँपालिकाको शारदा माविमा रहेको क्वारेन्टाइनमा बसेका ओम थापा भन्छन्, ‘बसाइ पूरै अव्यवस्थित छ । खोरमा भेडाबाख्रा राखेजस्तै राखिएको छ ।’
डोटीकै शिखर नगरपालिका–४ स्थित पञ्चोदय मावि, धुर्कोटमा रहेको क्वारेन्टाइनमा बसेका नारायण महरा बिनाकारण सजाय पाइरहेको जस्तो भएको बताउँछन् । ‘क्वारेन्टाइनमा राम्रो व्यवस्था छैन, एउटै ओछ्यानमा तीनचार जना सुत्नुपरेको छ,’ उनी भन्छन्, ‘गोठमा गोरु थुनेको जस्तो भएको छ ।’
जाँच गर्ने मेसिनको अभाव
लकडाउनका बेला सरकारले क्वारेन्टाइनमा बसेका सबै र भारत वा विदेशबाट फर्केका सबैको परीक्षण तीव्र गर्नुपर्ने हो । तर, त्यसो नभएको देखेर नागरिक समाज, जनस्वास्थ्य विज्ञलगायत चिन्तित छन् । सरकारी पक्षले भने चेकजाँच गर्ने मेसिनको अभावमा त्यस्तो गर्न नसकिएको बताएको छ ।
विज्ञले त जनता लकडाउनमा बसिरहेका बेला, कोरानाका बिरामी खोजेर आइसोलेसन गरिसक्नुपर्ने सुझाव दिएका छन् । वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थ भन्छन्, ‘नेपाल संक्रमणको दोस्रो चरणमा पुगेको छ । यो खतराको घण्टी हो । अहिले सरकारले तीव्र गतिमा परीक्षण गर्नुपर्छ ।’
यदि परीक्षणको गति बढाइएन र स्थानीय संक्रमण बढ्यो भने धान्न नसकिने डा. कायस्थ बताउँछन् । ‘स्थानीय संक्रमणको चेन ब्रेक गर्न सकिएन भने महामारी सुरु हुन्छ,’ उनी भन्छन् । अहिले नेपालमा संक्रमणको दरमा धेरै चिन्ता गर्नुपर्ने अवस्था नरहे पनि सरकारले चेकजाँचको दायरा तीव्र रूपमा बढाउनुपर्ने उनको सुझाव छ ।
गएको मंगलबार धनगढीमा दैनिक १० जनाको परीक्षण गर्न सकिने पीसीआर मेसिन जडान भयो । तर, त्यो मेसिनबाट क्वारेन्टाइनमा रहेका २ हजार ३ सय ३६ जनाको मात्रै जाँच गर्न पनि २ सय ३४ दिन लाग्ने देखिन्छ । अझ अहिले त त्यो मेसिनबाट चारपाँच जनाको मात्रै परीक्षण भइरहेको छ ।
डा. अवस्थी त्रिभुवन विश्वविद्यालयको प्रयोगशालामा रहेको दैनिक एक सयदेखि तीन सय जनाको स्वाब टेस्ट गर्न सक्ने क्षमताको मेसिन सुदूरपश्चिम ल्याउने तयारी भइरहेको बताउँछन् । ‘त्रिविको प्रयोगशालामा त्यस्ता पाँच मेसिन रहेछन्,’ उनी भन्छन्, ‘विश्वव्यापी नै पीसीआर मेसिनको अभाव छ । त्यसैले कम्तीमा एउटा मेसिन धनगढी पठाउने निर्णय भएको छ ।’
उपकरण खरिदमा ढिलाइ
सुदूरपश्चिम प्रदेश सरकारले तीन वटा पीसीआर मेसिनसहितका उपकरण खरिदका लागि गरेको दोस्रो पटकको टेन्डरमा पनि मागेअनुसार टेन्डर परेका छैनन् । चैतको पहिलो हप्ता पहिलो पटक आह्वान भएको टेन्डरमा कसैले नहालेपछि दोस्रो पटक टेन्डर आह्वान भएको थियो ।
डा. अवस्थीले दोस्रो पटकको सूचनापछि १० जनाले टेन्डर हालेको बताउँछन् । ‘तर, कसैको पीसीआरको मात्रै परेको छ भने कसैको क्याबिनेटको,’ उनी भन्छन्, ‘रिएजेन्टमा मनपरी हुने भएकाले कुनै निर्णय लिन सकिएको छैन ।’
कोरोनाको छुट्टै अस्पताल छैन
सेती प्रादेशिक अस्पताललाई अहिले कोरोना अस्पताल घोषणा गरिएको छ । तर, त्यहाँ इमर्जेन्सी सर्जरी र प्रसूति विभाग पनि चालू छ । एक जना कञ्चनपुर र तीन जना कैलालीका कोरोना बिरामीको आइसोलेसन वार्ड पनि त्यही“ छ, जसकारण अरू बिरामीलाई जोखिम बढेको छ ।
प्रदेश सरकारले केही दिनअघि कैलालीको गेटामा निर्माण भइरहेको मेडिकल कलेजको भवनलाई क्वारेन्टाइन र नजिकै रहेको गेटा आँखा अस्पताललाई आइसोलेसन बनाउने भने पनि त्यसको काम अघि बढ्न सकेको छैन ।
प्रदेशका मुख्यमन्त्री भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गेटा मेडिकल कलेजमा एक हजार शड्ढयाको क्वारेन्टाइन बनाउने र त्यसको नजिकै रहेको गेटा आँखा अस्पताललाई आइसोलेसन वार्ड बनाउने घोषणा गरेका थिए ।
अहिले सेती प्रादेशिक अस्पतालकै चिकित्सक पनि कोरोनाको छुट्टै अस्पताल हुुनुपर्ने बताइरहेका छन् । सेती अस्पतालका गाइनाकोलोजी विभाग प्रमुख डा. खगेन्द्रप्रसाद भट्ट भन्छन्, ‘कोरोनाका बिरामीका लागि खटाइएका स्वास्थ्यकर्मी र अरू विभागका स्वास्थ्यकर्मीको अस्पतालमा भेटघाट भइहाल्छ । स्वास्थ्यकर्मी र बिरामी दुवै जोखिममा छन् । त्यसैले कोरोनाका बिरामीका लागि छुट्टै अस्पताल हुनुपर्छ ।’