लकडाउन अनुभूति : दूर–दूर, निकट–निकट

लकडाउन अनुभूति : दूर–दूर, निकट–निकट

विजयालक्ष्मी

जहिल्यै  अँध्यारो हुने मेरो कोठाका पर्दा एक हप्ताअघिबाट उघ्रिन थालेका छन् । कोठाको पश्चिमपट्टि कसैको घडेरी छ, थाहा थियो । तर, थाहा थिएन, त्यहाँ स–साना पहेँला फूल फुल्दा रहेछन्, ठ्याक्कै पहाडको हाम्रो घरपछाडिजस्तै । 


उसका जीवनका धेरै पाटा मेरा जीवनकासँग मेल नखालान्, तर जीवन त मेल खान्छ नि ! जति मलाई प्यारो छ, त्यति उसलाई प्यारो छ उसको जीवन । त्यस्तै, उसलाई आफ्नो घर पनि त प्यारो होला, मलाई जस्तै । 

‘ऊ नांगो शरीर कुनै नदीमा हाम्फालेर पौडेर देश फर्कियो रे !’ 

कठै बिचरा, मायाले आँशु भरिए । ती आँशु उसका लागि निस्केका थिए, तर गालाछेउ बग्दै गर्दा यस्तो लाग्यो– मानौँ, आफ्नै लागि रोइरहेछु । खबर भन्नेको अर्को वाक्य थियो, ‘ऊ जसरी आउनेहरूका कारण संक्रमण बढ्ने खतरा छ ।’ 

झ्याप्प आँखाअगाडि बूढी हजुरआमाको अनुहार आयो । बूढाबूढीमा छिटो रोग फैलन्छ भनेर सुनेकी थिएँ । अनि, बिस्तारै दारी फुल्दै गरेका आफ्ना बा, जाँगर सुक्दै गरेकी आमा, बोल्दै जाँदा सास फुल्न थालेका प्रोफेसर सबै पालैपालो याद आउन थाले । खबर ल्याउनेले फेरि भन्यो, ‘हाम्रो देशमा संक्रमण भेटिएका सबै जवान हुन् ।’ अब दिदीबहिनी, साथीभाइ पनि लहरै सामेल भए यादहरूमा । सोच त्यो ठाउँसम्म पुग्यो, जहाँभन्दा पर सोच्ने हिम्मत थिएन । र, फनक्क यथार्थमा फर्किएँ । अगाडि टीभी चलिरहेछ । 

हिजो चीन, इटालीमा आउनेजस्ता खबर आज नेपाली च्यानलमा आइरहेछन् । डर असाध्यै लागेर आयो, मृत्युसँग होइन, परिवेशसँग । त्यो सोच्न पनि नसक्ने परिवेशसँग । मृत्यु त शून्य हो, आफू मरे के डर ? तर, आफन्त मरे भने के गर्ने ? 

नेपाल लकडाउन भएको थुप्रै दिन भइसक्यो । म पनि घरबाट टाढा काठमाडौँको कुनै कोठामा लकडाउन छु । घर जान सक्ने अवस्था छैन । बूढी हजुरआमा सम्झेर घर जाने चाहना नि छैन, किनकि अघि खबरेले भनेको थियो, ‘आफू संक्रमित नभए पनि अरूलाई रोग सर्न सक्छ ।’ मनमनै कसम खाएँ, ‘अहँ, म त घर जान्नँ । बुबाले एम्बुलेन्स नै मिलाएर बोलाए नि घर जान्नँ ।’

सोचाइमा डुब्दाडुब्दै फोन हातमा आइपुगेछ । बुबाको नम्बर दाबेँ । 

‘हेलो बुबा, सञ्चै हुनुहुन्छ ?’ 

‘अँ, सञ्चै छु । राम्ररी बस्नू, आफ्नो ख्याल गर्नू ।’

लगभग १५ दिनअघिसम्म अकाउन्टमा पैसा सकिएपछि मात्र फोनमा बुबाको नम्बर दाब्थेँ, नत्र हालखबर सोध्न घरैबाट हप्तामा एक पटक फोन आउँथ्यो । आजकल यतैबाट दुई पटक नम्बर दाबिन्छ । क्वारेन्टिनले टाढा बनायो तर यो परिवेशले, यो त्रासले घरसँग यति नजिक बनायो कि पहिलो पटक घरको बारीमा के फल्छ भन्नेसम्मका कुरा थाहा पाउँदै थिएँ । 

घरसँग मात्र होइन यो अन्जान शहरसँग पनि नजिक बनाउँदै लगेको छ, यो परिवेशले । जहिल्यै  अँध्यारो हुने मेरो कोठाका पर्दा एक हप्ताअघिबाट उघ्रिन थालेका छन् । कोठाको पश्चिमपट्टि कसैको घडेरी छ, थाहा थियो । तर थाहा थिएन, त्यहाँ स–साना पहेँला फूल फुल्दा रहेछन्, तीनपाते लहरामा, ठ्याक्कै पहाडको हाम्रो घरपछाडिजस्तै । बिहानको कफीको मग आजकल त्यही फूल हेर्दै सकिन थालेको छ । कुनै बेला त दिउँसोको खाजा पनि त्यही झ्यालछेउ सकिन्छ, ती पहेँला फूलसहित तीनपाते लहरा बाटेर टियारा लगाउने दुई नानीहरू हेर्दै । छेउको नीलो घरबाट ममीले बोलाएपछि नानीहरू छिटो–छिटो टियारा बोकेर घर पस्छन् । उनीहरूलाई पहिला धेरै बेर बाहिर खेल्ने चाह हुन्थेन, आजकल इजाजत हँुदैन । घरको दोस्रो तल्लाको बरन्डामा सबै खेलौना छरे पनि त्यो पहेँलो फूलको टियारा प्राथमिकतामा पर्छ । एकअर्काको कपाल मिलाई टियारा लगाई मम्मीको फोनबाट मुस्काउँदै सेल्फी खिच्छन् । यी तीनपाते लहराका पहेँला फूल कहिल्यै सेल्फीमा अटाएका थिएनन् होला, तर के थाहा अटाए पनि हुन्, यो सब हेर्न मेरो कोठाका पर्दा पहिले कहिले पो खुलेका थिए र ? 

उनीहरूको नक्कल नियाल्ने म एक्ली हुन्नँ । अगाडिको सेतो घरको तेस्रो तल्लाको बरन्डामा बसेका कुनै बाजे पनि चाखले ती नानीलाई नियाल्छन् र बेला–बेला मलाई नियाल्छन् । म मुस्कुराउँछु, चिया खाँदै गर्दा मलाई देखेर उनी हाँसेको देख्छु, अरू बेला पनि मास्कभित्र हाँस्दा हुन् । उनलाई धेरै पटक बाटोमा देखेँ, तर न बोलियो, न हाँसियो । आजकल त उनी पनि साथी भएका छन् । हेराइका साथी ।

जिन्दगीमा यो ‘क्याटगोरी’ कहिल्यै थिएन । एक हप्तामा क्याटगोरी बनेर पनि धेरै जना ‘हेराइका साथी’का रूपमा सामेल भइसके । मेरो दक्षिण झ्यालसामुन्ने पल्लो घरको झ्यालमा देखिने अधबँैसे महिला, बाजेको घरको दायाँपट्टि तरकारी गोड्न आउने मान्छेहरू, बाजेको घरको भुइँतलामा बस्ने मेरै उमेरका केटाहरू...अनि अझ धेरै अपरिचित छिमेकीहरू । सम्बन्ध यति गाढा भइसकेछ कि मलाई उनीहरूको दिनचर्याको बानी परिसक्यो । पल्लो घरको झ्यालबाट तरकारी ओइरिएको आवाज आएपछि म पनि भात बसाल्छु । ती नानीहरूको भाँडाकुटी हेर्दाहेर्दै पुराना साथीलाई फेसबुकमा खोजी–खोजी म्यासेज गर्न थाल्छु । अझ बाजेले दिउसो ३ बजेतिर बरन्डामा आई चिया खान थाल्दा मलाई पनि तलतल लाग्छ । यस्तो लाग्छ, मानाँै अब लकडाउन खुलेपछिको दिनचर्याका लागि धेरै रहर थपिएका छन् । जस्तोः ती बाजेसँगै बसेर चिया खाने रहर । 

अवश्य लकडाउनले सबैसँग टाढा राखे पनि त्रास र परिवेशले सबैसँग नजिक बनाउँदै गएको छ, यी दिनहरूमा । बेला–बेला आउने पुराना साथी, आफन्तका फोन र म्यासेजले भनिरहन्छन्– ‘कि तिमी एक्लै छैनौ ।’ साथै, बोध पनि गराइरहेका हुन्छन्– ‘तिमीले नि अरूलाई एक्लै पर्न दिनु हँुदैन ।’ अनि, म पनि यादभरिका मान्छेका हालखबर सोधिरहन्छु । पसल खोल्न नमिल्ने भए नि साहुनीले बोलाएपछि एकछिन खोलेर मैले खोजेका खाद्यान्न पसलको ढोकामा ल्याई राखिदिन्छिन् । आजकल उनको पनि हालखबर सोध्न थालेकी छु । 

यहाँ गल्ली–गल्लीमा खटाइएका मोटरसाइकलमा साइरन बजाउँदै आई घरमा बस्न आग्रह गर्दै गरेका प्रहरीलाई देख्दा, यो परिवेशमा पनि अरू बेलाझैँ आइतबार–आइतबार आउने सफाइकर्मी, प्रेसका आईडी कार्ड लगाई डुलेका पत्रकार, ग्राहक नआए पनि पसल रुँग्दै बसेका औषधि पसले र स्वास्थ्यकर्मी देख्दा...यी सबै–सबैसँग आत्मीयता गाँसिन थालेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.