कोरोना अस्पतालमा मृत्यु भएका थापाको ११ दिनपछि शव उठ्यो
बुटवल : बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेका छन् । बुधबार भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवार सहमत भएका हुन्।
उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गरेका थिए । उनको मृत्युभएको ११ दिनपछि आज अन्तिम संस्कार गरिँदैछ । बुटवलमा क्रियाशीला सामाजिक संस्था, मृतकका आफन्त र सामाजिक विकास मन्त्रालयबीच भएको छलफलले शव उठाउने सहमति गरिएको हो ।
प्रदेश सरकारको पहलमा मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी संविधानसभाका सदस्य विनोद पहाडीले जानकारी दिए ।
मृतकका परिवारलाई सामाजिक संघसंस्थाले ८ लाख राहत दिनेसमेत निर्णय भएको छ । पाल्पाली समाजले ५ लाख ५० हजार, टण्डन समाजले १ लाख ५० हजार र थापा समाजले १ लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको छ ।