महामारीमा पनि भ्रष्टाचार ?
यतिबेला विश्व आतंकित छ। एउटा मानव अर्को मानवसँग त्रसित छ। एकले अर्कालाई शंकाको दृष्टिले हेर्छ, आफू स्वस्थ र अरू सबै रोगी ठान्छ। पृथ्वीको उत्पत्तिा र मानव सभ्यताको प्रादुर्भावदेखि नै यस्ता अनेकन् समस्या मानव सभ्यतामाथि पनि आइपरे। प्रकृतिले पनि यस्ता घटना नबेहोरेको होइन। वैज्ञानिक, समाजशास्त्रीय एवं मानवशास्त्रीय अध्ययनअनुसार यसले नराम्रोबाट राम्रोको सुरुवात हुन्छ भन्ने पुष्टि भएको छ। ‘जो बलियो छ ऊ बाँच्छ र जो वातावरण अनुकुलित हुनसक्छ उसको अस्तित्व रहन्छ’ भन्ने डारविनको सिद्घान्तले ठूलै काम गरेको छ। कुनै समय ऊ बलियो भएर बाँच्यो भने कुनै ठाउँमा मिलेर वा सम्झौता गरेर मानवले प्राणी जगत्को सर्व श्रेष्ठ प्राणीमा आफूलाई स्थापित गरेको छ।
विभिन्न मानव प्रजातिमध्ये होमोसेपेन्सकोे उत्पत्तिा अफ्रिकी महाद्वीपमा दुई लाखदेखि तीन लाख वर्षका बीचमा भयो भने आजभन्दा करिब पचास हजार वर्षअघि एकआपसमा सञ्चार र संवाद सुरु भयो। त्यसैगरी फिरन्ते जीवन बिताउने क्रममा मानिस करिब सत्तारीदेखि एक लाख वर्षअघि अफ्रिका छोडी युरोप र एसिया पुगे, अस्ट्रेलिया करिब साठी हजार वर्षअघि पुगे भने अमेरिका तेह्र हजार वर्षअघि। मानव जातिको यी सबै विषयबाट आहार, व्याहार, आचरण आदिको अध्ययन मानवशास्त्रीले पालेएन्थोपोलोजीमार्फत भाषा र दैनिकीको विस्तृत रूपमा अध्ययन गरेका छन्।
रोग केही मानवीय गल्तीका कारणले हुन्छन् भने केही मानवले कल्पनासमेत नगरेको घटनाबाट। लाखौं वर्षको मानव इतिहासमा यस्ता थुप्रै घटना भए होलान् भनेर स्वतः अनुमान गर्न सकिन्छ र मानवशास्त्री एवं वैज्ञानिकले मानवको प्राप्त अवशेषको अध्ययन गरेर धेरै मानव एउटै रोग वा घटनाले मरेका छन् भन्ने समेत पुष्टि गरेका छन्।
विगत हेर्ने हो भने कुनै देशको करोडौं वा आधा जनसंख्या रोग लागेर समाप्त भएको छ। युरोपको त करिब ३० देखि ६० प्रतिशत र मेक्सिकोमा ४० प्रतिशत मानिसको मृत्यृ भएको थियो। सन् १६५ देखि १८० सम्म ५० लाख मानिसको मृत्यृ एन्टोनाइन प्लेगले भयो त्यसैगरी जस्टिन प्लेगले नै ५४१ देखि ५४२ सम्म तीन करोडदेखि पाँच करोडसम्म मानिसको मृत्यृ भयो। सन् १३१४ देखि १३५१ सम्म दुई करोड मानिसको मृत्यृ बुबोनिक प्लेगबाट भयो। बिफरले सन् १५२० मा ३ करोड मानिसको मृत्यृ भयो। फेरि अठारांै शताब्दीको सन् १७०० मा प्लेगबाट पुनः ६ लाखको ज्यान गयो। हैजाबाट सन् १८१७ देखिको ६ वर्षमा १० लाखको मृत्यृ भयो। प्लेगले नै फेरि तेस्रो पटक १८५५ मा एक करोड बीस लाखको ज्यान लियो। सन् १९१८ मा स्पेनिस फ्लुबाट ५० लाखदेखि एक करोडको ज्यान गयो। त्यसैगरी १८ औं श्ताब्दीको अन्त्यतिर एलो फिवरले करिब एक लाख पचास हजारको ज्यान लियो। हङकङ फ्लुले सन् १९६८/७० मा १० लाख मानिसको ज्यान लियो। सन् १९८९/ ९० मा एसियन फ्लुले १० लाखको र त्यसैगरी सन् १९५७/५८ मा यसले फेरि ११ लाख मानिसको ज्यान लियो। अन्य सानातिना घटनाको लेखाजोखा नै छैन।
विगतका रोगभन्दा कोभिड—१९ (कोरोना भाइरस) कम खतरनाक होइन तर वर्तमानको मानवीय चमत्कारका कारण उपचारका अनेक उपाय एवं औषधि पत्ताा लगाउने क्रममा रोग एकबाट अर्कोमा कसरी सर्नबाट बच्न सकिन्छ भन्ने पत्ताा लगाइसकेका छन्। विगतको जस्तो करोडौंको संख्यामा हताहत हुने अवस्था देखिँदैन। केही देशका गल्ती र हेलचेक्य्राईंका कारणले कम नोक्सानमा रोकथाम गर्न सकिन्थ्यो तर अनुमान गरेभन्दा बढ्ने संकेत देखिन्छ।
दक्षिण कोरियाले समयमै परीक्षण गरेकाले धेरै क्षति हुन दिएन। नेपालमा भने पर्याप्त समय हुँदाहुँदै तयारी थालिएन। सरकार पर्ख र हेरको रणनीतिमा लाग्यो। समयमै यस दिशामा लागेको भए भ्रष्टाचारको आरोप खेप्नु पर्दैनथ्यो। विज्ञानले वर्तमान विश्वलाई एउटा कोठामा सीमित गरेको अवस्थामा पीपीईलगायत स्वास्थ्य उपकरणको मूल्य कति पर्छ भन्ने थाहा पाउन निकै सजिलो छ। कुन कम्पनीको उत्पादनको कति पर्छ भन्ने जानकारी एकछिनमै पाउन सकिन्छ। यस्तो बेलामा पनि नागरिकको आँखामा छारो हाल्ने काम गर्नु मुर्खताको पराकाष्ठा होइन ? के सरकारसँग यति पनि जानकारी राख्ने क्षमता भएका विज्ञ छैनन् ?
वर्षको करोडौं रुपैयाँ सुविधा लिने निजी अस्पतालले सरकारलाई सहयोग गरेका छैनन्। अस्पताल दर्ता गर्दा नै पीपीईजस्ता अति आवश्यक सामान तयारी अवस्थामा नराख्ने अस्पताललाई सञ्चालन अनुमति हुँदैन भन्न किन सकिएन ? गृहले शान्तिसुरक्षाको जिम्मेवारी लिएजस्तै स्वास्थ्यमन्त्रालयले पनि यस्तो कठिन अवस्थामा मुलुकका सम्पूर्ण अस्पताल सञ्चालन आफूमातहत गराउनुपथ्र्यो। नक्कली उपचारका समान सरकारलाई बेची ज्यानसँग खेलबाड गर्ने ठेकदारलाई गलत मनसायले बदनियतपूर्वक ठेक्का दिने अधिकारीउपर पनि नेपालको संविधानअनुसार हदैसम्मको कार्बाही हुनुपर्छ।
—केसी मानवशास्त्री हुन्।