औषधि छैन, उपचार कसरी गर्ने ?

औषधि छैन, उपचार कसरी गर्ने ?

जाजरकोट : कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भइरहेको पूर्वतयारीबारे अनुगमनमा आएका कर्णाली प्रदेश सरकारका मन्त्रीलाई जिल्लाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले गुनासो गरेका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी र सामाजिक विकासमन्त्री दल रावलसमक्ष उनीहरुले जिल्लामा पर्याप्त औषधि र उपकरण नभएको भन्दै उपचारमा समस्या भएको गुनासो गरे। जिल्लाका स्वास्थ्य संस्थामा ज्वरो नाप्ने डिजिटल थर्मोमिटर, कोरोना शंकास्पद बिरामीको नमुना (स्वाब) संकलनका लागि भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया) नहुँदा स्वाब संकलन गरी पठाउन समस्या भएको दुःखेसो पोखे।

नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले स्वास्थ्यकर्मीका लागि आवाश्यक व्यक्तिगत सुरक्षा सामग्री पीपीई नहुँदा समस्या भएको बताए।
'स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री नदिएर उपचारमा पठाउनु भनेको सिपाहीलाई हतियारबिना लडाइँमा खटाउनुजस्तै हो', उनले भने, 'हाम्रो तर्फबाट गर्नुपर्ने काम गछौं तर प्रदेश सरकारले पनि अनुगमन मात्रै होइन, सहयोगको काम गरेर देखाउनुपर्छ।' आवश्यक पूर्वाधार र तयारीको हिसाबले जाजरकोट निकै कमजोर अवस्थामा रहेको नलगाडका प्रमुख लालबहादुर महताराले स्वीकारे। 'जिल्ला अस्पतालमा कम्तिमा भेन्टिलेटर सहितको आइसोलेसन वार्ड हुनुपर्ने हो। त्यसका लागि प्रदेश सरकारले चासो दिएको छैन', उनले भने।

जिल्ला अस्पतालका मेडिकल अधिकृत डाक्टर अमिन शाहले सबै स्वास्थ्यकर्मीलाई पुग्ने पीपीईको व्यवस्था मिलाइदिन मन्त्रीसँग आग्रह गरे। '५० शैयाको अस्पताल नाम मात्रको छ। विशेषज्ञ चिकित्सक छैनन्। पूर्वाधारको अवस्था पनि कमजोर छ', उनले भने, '६५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १८ जना मात्र कार्यरत छन्। यस्तो अवस्थामा औषधि छैन। कसरी बिरामीको उपचार गरौं।'

जिल्लामा भएका स्वास्थ्य समस्या तत्काल समाधानमा पहल गर्ने आश्वासन दिँदै मन्त्री रावलले स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री प्रदान र स्वास्थ्य संस्थाको क्षमता विकासका लागि तत्काल काम गर्ने प्रतिवद्धता व्यक्त गरे। मन्त्री विमला केसीले प्रदेश सरकारले कोरोना विरुद्धको अभियानमा सबै संयन्त्र परिचालन गरेर काम गरेको बताइन्।

परीक्षणबिनै घर फिर्ता
जाजरकोटमा हालसम्म दुई सय १३ जना भारत र १७ जना अन्य मुलुकबाट भित्रिएको सरकारी तथ्यांकमा उल्लेख छ। जिल्लाभर एक सय ३६ क्वारेन्टाइन र १२ आइसोलेसन बेड पनि तयारी अवस्थामा छन्। तर भारतबाट आएर क्वारेन्टाइनमा राखिएका जाजरकोट जुनीचाँदेका २२ जनालाई परीक्षणबिनै घर पठाइएको छ। भारतबाट गत चैत्र ९ र १० गते आएका जुनीचाँदेको वडा नम्बर २, ३ र ९ का स्थानीयको स्वाब परीक्षणबिनै शनिबार घर पठाइएको हो।

स्थानीय स्वास्थ्यकर्मीले सामान्य ज्वरो नाप्दा लक्षण नदेखिएको भन्दै घर पठाएका हुन्। प्रहरीका अनुसार लकडाउनकै अवधिमा भारतबाट ६४, कतारबाट दुई र मलेसियाबाट एक जना आए पनि पाँच जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको छ। डिएसपी किशोरकुमार श्रेष्ठले घर फिर्ता भएकालाई होम क्वारेन्टाइनमा बस्न निर्देशन गरिएको बताए।

सर्जिकल बेड सहयोग
पूर्वसांसद राजीवविक्रम शाहले जाजरकोटका स्थानीय तहमार्फत स्वास्थ्य संस्थालाई सर्जिकल बेड उपलब्ध गराएका छन्। उनले कोरोनालाई मध्यनजर गर्दै आइसोलेसनका लागि बेड उपलब्ध गराएका हुन्। शाहले निजी खर्चमा जाजरकोटका सातवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थालाई पाँच वटाका दरले ३५ वटा सर्जिकल बेड हस्तान्तरण गरेका छन्।

शाहले भने, 'मेरो सानो सहयोगले उपचारमा सहयोग पुग्छ र स्वास्थ्यकर्मीको मनोबल बढ्छ भनेर हो।' सर्जिकल बेड उपलब्ध गराएर उपचारमा सहजता प्रदान गरेकोमा पूर्वसांसद शाहलाई स्थानीयले धन्यवाद दिएका छन्। उनले थप सहयोगका लागि स्ट्रेचरलगायत अन्य स्वास्थ्य सामग्रीसमेत 'अर्डर' गरेको बताए। साथै उनले आफ्नो निजी लगानीमा जाजरकोटको छेडागाड–५ मा २५ शड्ढयाको अस्पताल पनि निर्माण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.