अमेरिकामा कोरोना कहर : सिटामोलदेखि खाद्यान्न घरघरमै पुर्‍याउँदै नेपाली

अमेरिकामा कोरोना कहर : सिटामोलदेखि खाद्यान्न घरघरमै पुर्‍याउँदै नेपाली

अमेरिका : कोभिड १९ को नयाँ इपिसेन्टर बनेको अमेरिकामा भाइरसबाट प्रभावित नेपालीलाई सहयोग गर्न यहाँ विभिन्न संघ संस्था सक्रिय देखिन्छन् । एनआरएनए अमेरिका, त्यस अन्र्तगतका च्याप्टरहरु,अन्तर्राष्ट्रिय समन्वय परिषद, राजनीतिक दल निकट तथा अन्य संघ संस्थाले सहयोगका कार्यक्रम गरिरहेका छन् ।

अमेरिकामा गैरआवासीय नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र न्यूयोर्क हो। यहाँ भाइरसबाट प्रभावित नेपाली समेत धेरै छन् । हालसम्म न्यूयोर्कमा बसोबास गर्दै आएका दुईजनाको भाइरसबाटै ज्यान गएको छ भने ज्यान गुमाउने अन्य दुईजनाको रिर्पोट आउन बाँकी छ । 

न्यूयोर्क राज्यमा कोरोना भाइरस लागेका तथा भाइरस प्रभावित बढी भएकाले पनि त्यस्ता सहयोगी संघ संस्थाले मास्क, सेनिटाइजर, सिटामोल, थर्मोमिटर, खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरु घरघरमा पुर्‍याइरहेका छन् । यसो त अमेरिकाका सबै राज्यमा नेपालीको बसोबास रहेको पाइन्छ । 

यसरी सहयोग गर्नका लागि संघ संस्थादेखि पत्रकार, सामाजिक अभियान्तासमेत सक्रिय रहेका छन् । कोरोना भाइरस संक्रमण हुने डरले घरमै सेल्फ क्वारेन्टाइनमा बसेकाहरु, भाइरसका कारण बिरामी भई अस्पतालबाट डिस्चार्ज भएका, असक्क्त, वृद्धवृद्धाहरुलाई विभिन्न व्यक्ति तथा संघ संस्थाले सहयोगी हात बढाइरहेको देखिन्छ ।'हामीले भाइरसका कारण उपचार गरेर घर फर्किनु भएकादेखि अन्य असक्क्त तथा बिरामीलाई सहयोग गरिरहेका छौं, 'एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले भने, 'बिरामीलाई सिटामोल पुराउनेदेखि सेल्फक्वारेन्टाइनका लागि चाहिले कोठासम्म व्यवस्थापन गरिरहेका छौं, हामीले सक्दो सहयोग गर्ने कोशिस गरिरहेका छौं।'
 
अधिकारीले भने,' नेपालीले सूचना गोप्य राख्नु भएको छ, तर मेरो सम्पर्कमा आउनु भएकालाई आधार बनाएर भन्ने हो भने अहिले अस्पतालमा मात्रै हाराहारी १ सय ५० जना हुनुहुन्छ, यस्तै भाइरसका सामान्य लक्षणहरु देखिएर घरमै बिरामी भई औषधि प्रयोग गर्नु भएका पनि कम्तीमा सयजना हुनुहुन्छ। '

जनसम्पर्क समितिका अध्यक्ष आनन्द बिष्टले महामारीको चपेटामा परेका धेरै नेपालीलाई सिटामोल पुराउने, थर्मोमिटर, मास्कलगायतका सामग्री घरघरमा पुराई सहयोग गरिरहेको जानकारी दिएका छन् । यस्तै नेकपा निकटको प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापाले पनि अमेरिकाका सबै राज्यमा प्रभावित नेपालीलाई विभिन्न तवरले सहयोग गरिरहेका जनाएका छन् । उनले हरेक राज्यमा अत्यावश्यक सामग्रीहरु वितरण गरिरहेको उल्लेख गरेका छन् ।

अमेरिकामा कागजपत्रको अभावमा धेरै नेपालीहरु रहेको अनुमान गरिन्छ ।कानुनी हिसाबले राज्यबाट सहयोग नपाउनेलाई समेत सहयोग गरिरहेको यहाँ सक्रिय संघ संस्थाले जानकारी दिने गरेका छन् । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिवगौरी जोशीले अमेरिकामा रहेका नेपालीलाई सहयोग गर्न हालै बनेको समितिमा सहयोग रकम जुट्न थालेको र प्रभावित नेपाली समुदायलाई सहयोग जारी राखिने जानकारी दिए । जोशी संयोजक रहेको एनआएनए अमेरिकाज क्षेत्रिय समितिअन्र्तगत एउटा समितिबनाएर अहिले सहयोग रकम जुटाइँदैछ ।एनआरएनएअमेरिकाले पनिअहिले अमेरिकाका सबै राज्यमा रहेका च्याप्टरहरुमार्फत सहयोगजारी राखेको छ ।

बाणिज्यदूतावास न्यूयोर्कका कार्यवहाक महाबाणिज्यदूत पुष्पराज भट्टराइले सूचना गोप्य राख्ने गरेका कारण अमेरिकाभर संक्रमितको संख्या बढ्दै गएको भएपनि यकिन संख्या भन्न नसकिने बताउँछन् । न्यूयोर्कमा संक्रमितको संख्या किन बढ्दै गएको होला भन्ने प्रश्नमा भट्टराइले भने यस राज्यमा नेपाली एउटै कोठा सेयर गरेर बस्ने गरेका कारण संक्रमितको संख्या बढ्दै गएको हुनसक्ने बताए । 

अमेरिकामा रहेका नेपालीले दूतावासबाट प्रयाप्त सहयोग र सूचना नपाएको गुनासो गरेका छन् । राजदूतावासले औपचारिकताका लागि विभिन्न राज्यमा सक्रिय संघ संस्थाका प्रतिनिधि तथा राजनीतिक दल निकटका नेतालाई फोनमार्फत बैठक गर्ने गरेको भएपनि प्रभावकारी प्रयास भने गरेको देखिन्न। 

राजदूत डाक्टर अर्जुन कार्कीले नेपाली समुदायका व्यक्ति भाइरसकै कारण देहान्त हुँदा समेत प्रभावित परिवारलाई फोन सम्पर्क गरेर सान्तोना नदिने, सिटामोललगायतका अत्यावश्यक सामग्री खोज्न सहयोग नगरेको तथा विभिन्न भीषामा अमेरिका आइ यहीँ रोकिएकालाई आवश्यक सूचना नदिएको आरोप लगाएका छन् । तर राजदूत कार्कीले त्यसरी आयोजना गर्ने बैठकमा आफूले सक्दो सहयोग गरिरहेको बताउने गरेका छन् । उनको खरो स्वभावको समेत आलोचना हुने गरेको छ । 

कोरोना पुष्टि भई साता दिनपछि अस्पतालबाट घर फर्किएका बाग्लुङका ५० वर्षीय टिकाराम उपाध्यायले एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरलाई धन्यवाद दिँदै भने.' म साथीसँग मिलेर बस्थेँ, अहिले तत्कालै कोठामा फर्किँदा अन्य साथीभाइलाई सर्ने डर हुन्थ्यो । मलाई एनआएनले सहयोग गरेका कारण म छुट्टै कोठामा बस्न पाएको छु ।' टिकारामजस्तै अन्य नेपालीले पनि यो महाविपदमा सिटामोल खुवाउने विभिन्न संघ संस्थालाई धन्यवाद दिइरहेका छन् ।प्रभावित नेपाली भन्छन्, 'आखिर मर्दा पर्दा चाहिने त आफ्नै नेपाली दाजुभाइ नै रहेछन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.