बागलुङमा र्यापिड टेष्ट सुरु
![बागलुङमा र्यापिड टेष्ट सुरु](https://annapurnapost.prixacdn.net/media/albums/Rapid_Test-BAglung_20200409062800_wvM8NlqttS.jpg)
बागलुङ : नेपाल सरकारले निर्णय गरेको पाँचौ दिनदेखि बागलुङमा कोरोनो भाइरस (कोभिड -१९) को द्रूत परीक्षण (र्यापिड टेष्ट) सुरु भएको छ। स्वास्थ्य मन्त्रालयअन्र्तगतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले बिहीबार बागलुङ, पर्वत र म्याग्दीका २५ जना स्वास्थ्य प्राविधिकलाई प्रयोगात्मक परीक्षण दिएर विधिको विषयमा जानकारी गराएपछि र्यापिड टेष्ट सुरु गरिएको हो ।
पहिलो परीक्षणका क्रममा तीनजना स्वास्थ्य प्राविधिकको नमूना जाँच गरिएकोमा तीनैजनाको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।
अब जिल्लामा शंकास्पद व्यक्तिको किटको प्रयोग गरेर १५ मिनेटमै कोरोना संक्रमण भए नभएको जानकारी लिन सकिने महाशाखाका मेडिकल ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले बताए । नेपाल सरकारले निर्णय गरेको दिननै स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा टोली हिँडिसकेको बताए पनि टेष्ट किट लिएर मन्त्रालयको टोली बुधबार साँझ मात्रै बागलुङ आएको थियो ।
दुई संक्रमित पुष्टि भएपछि जोखिम भएकाको के कसरी परीक्षण गर्ने भन्नेबारेमा योजना निर्माणका लागि छलफल जारी रहेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । 'हाम्रो र अञ्चल अस्पतलाको जनशक्ति सिमित छ, अब पालिका स्तरमा जाँच गर्ने कि भन्नेमा छौ, गुरौले भने, 'घर घरमै जान सम्भव छैन, पालिकास्तरमा भएका क्वारेन्टाइनमा पुगेर टेष्ट गर्ने कि भन्नेमा छौं, दिउँसो बैठक बसेर योजना निर्माण गर्छौ।'
स्वास्थ्य मन्त्रालयले र्यापिड टेष्टका लागि प्रयोग हुने १ हजार थान आरबिटि किट पठाएको छ । बागलुङमा संक्रमित, उनीहरुसँग सम्पर्कमा भएका, विदेशबाट आएर १४ दिन बितेका, क्वारेन्टाइनमा रहेका ९ सय बढीको द्रूत परीक्षण गर्ने योजना छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)