कोरोना कोषमा सुपा देउराली मन्दिरको एक लाख सहयोग
सन्धिखर्क : धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिरले कोरोना संक्रमणबाट बच्न एक लाख एक हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । सन्धिखर्क ७ खाँचीकोटमा रहेको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर संरक्षण समितिले सन्धिखर्क नगरपालिकाको विपद व्यवस्थापन कोषमा एक लाख एक हजार आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रितम बहादुर थापाले बताए ।
राहातका प्याकेज एउटै तवरबाट गर्न र सबैलाई बराबर पर्ने गरी वितरण गर्न सन्धिखर्क नगरपालिकाले आफू खुशी राहत वितरणमा प्रतिबन्ध लगाएपछि विभिन्न संघ सस्थाले नगरपालिकाको कोषमा राहात रकम जम्मा गर्न सुरु गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
कोरोना भाइरसका कारण दुई छाक टार्न समस्यामा परेका परिवारलाई राहात वितरण एउटै मापदण्डबाट गर्नका लागि नगरपाकिलाले आफू खुशी राहात वितरणलाई प्रतिबन्ध गरेको हो । विभिन्न संघ सस्था तथा व्यक्तिले आफू खुशी राहात वितरण गर्दा पाउनुपर्नेले राहात नपाउने तथा एकै स्थानमा धेरैको सहयोग पुग्ने भएकाले नगरभित्र एउटै प्रकारले राहात वितरण गर्न नगरपालिकाले यस्तो नियम बनाएको नगर प्रमुख कमल प्रसाद भुसालले बताए ।
नगरभित्र मजदुरी गरेर खाने १४ सय ५६ परिवारमा पहिलो चरणको राहात वितरण सम्पन्न भएको शाखा अधिकृत मञ्जु खनालले बताइन् । अहिलेसम्म नगरपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा एक लाख ५८ हजार ७ सय १७ रुपैयाँ जम्मा भएको छ।
सन्धिखर्क दोश्रो साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाबाट २५ हजार, वाङला पब्लिक सेफ्टी ट्रेनिङ सेन्टर प्रा.ली र नेपाल ट्रेड एण्ड इन्जीनियरिङ प्राली काठमाडौंबाट २१ हजार, सन्धिखर्क दोश्रो साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठबाट ११ हजार ७ सय १७ रुपैयाँ नगद सहयोग गरेका हुन् ।
त्यसैगरी पूजा एण्ड सुदन किराना स्टोर्स सन्धिखर्कबाट ८ हजार ९ सय ७५ बरारबको खाद्यान्न र शुभ अग्रहरी स्टोर्सबाट १७ हजार ९ सय पचास रुपैयाँ बराबरको खाद्य सामग्री सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ।
कसैलाई सहयोग गर्ने इच्छा भएमा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले बनाएको मापदण्डमा बसेर राहत वितरण गर्नुपर्ने छ । सहयोगी मनका धनीहरुले सहयोग गर्नकालागि नगरपालिकाले आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले एक सूचना प्रकाशित गरी आर्थिक सहयोग गर्नेहरुले सन्धिखर्क नगरपालिकाको राष्ट्रिय वाणिजय बैंकमा रहेको खाता नम्बर ३०५०३०५०४९४०६ मा जम्मा गर्न आग्रह गरिएको छ । जिन्सि तथा खाद्यान्न सहयोग गर्नेले पनि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ ।