अमेरिकामा कुकुरलाई पनि तनावै छ

अमेरिकामा कुकुरलाई पनि तनावै छ

प्रमोद अमात्य, अमेरिका

मार्क मेरो सहकर्मी हो। उसको एउटा कुकुर छ, स्कट। सबभन्दा तनाव उसैलाई छ, मालिक दिनभर घरमा बसेर। अरू बेला त मालिक अफिसबाट फर्केपछि गाडीसम्म स्वागत गर्न दौडियो, पुच्छर हल्लायो, हात चाट्यो, सकियो। अब दिनभर मालिकसामु पुच्छर कति हल्लाउनु, कति हात चाट्नु ? 


दुई हप्ताअगाडिको कुरा हो, एक जना मजस्तै जुँघे सहकर्मीसँग अफिसको बाथरुममा भेट भयो। साबुनले हात धुँदै साथीले भने, ‘बुझ्नुभयो, अहिलेजस्तो सफा मेरो हात कहिल्यै थिएन। 

‘त्यै त, मेरो पनि उस्तै अवस्था छ,’ मैले सही थापेँ, ‘यो सब कोरोनाको करामत हो।’

त्यसपछिका १५ दिनयता मैले उसलाई भेटेको छैन। यो पनि कोरोनकै करामत हो। 

गएको हप्तादेखि म पनि ऊजस्तै ‘घरबाट काम’ गर्दै छु। अर्थात्, त्यो दुष्ट विषाणुदेखि डराएर घरमा लुकेको आज ठ्याक्कै दुई हप्ता भयो। म बस्ने काउन्टी (जिल्ला) प्रशासन डराएको छ, क्यालिफोर्निया राज्यसमेत डराएको छ। राज्य सरकार र स्थानीय सरकारले सबैलाई बिनाकाम घरबाहिर नहिँड्न अनुरोध गरेको छ। यो भाइरसदेखि संसारको अति शक्तिशाली देश अमेरिका, जुन देशसँग आणविक अस्त्र–शस्त्र, संसारको आधुनिक प्रविधि छ, संसारकै सबभन्दा ठूलो अर्थतन्त्र छ, त्यो देश पनि डराएको छ। यो देशको सरकारले आफ्ना सम्पूर्ण जनतालाई कोरोनाबाट टाढा, घरमै बस भनेको छ। संसारको अर्को अति शक्तिशाली देश चीनलाई थला पारेर यो विषाणुको झुण्ड देश–देशावरको भ्रमणमा निस्केको छ। त्यसैले सब त्राहित्राहि छन्, आतंकित छन्।

यो त्रासबाट बच्न कतै ‘लकडाउन’ छ, कतै ‘इन–सेल्टर’ त कतै ‘स्टे–होम’ लागू भएको छ। हामीकहाँ इन–सेल्टर लागू भएको तीन हप्ता नाघिसक्यो। दिनभर घर बस्यो, कोरोनाको कहर सुनेर, पढेर अघाइयो। दिक्क लागिसक्यो। ‘रोई रहनुभन्दा गाइरहनु निको’ भन्छन् नि ! त्यसैले रमाइलो गर्न कोरोना गन्थन सुनाउन खोजेको हुँ।

पहिले हामी घरी–घरी पात्रो पल्टाएर सरकारी बिदा कहिले छ भनेर खोज्थ्यौँ। बिदा नभए हाकिमलाई बिहान–बिहान फोन गरेर ‘आज मलाई सञ्चो भएन, अफिस आउन सक्दिनँ’ भनेर झुक्याउँथ्यौँ र घरै बस्थ्यौँ। आज बल्ल थाहा भयो, धेरै दिन घरमा बस्न पनि कहाँ सजिलो रहेछ त !

मार्क, मेरो अफिसको सहकर्मी हो। उसको र मेरो क्युबिकल सँगसँगै छ। उसको एउटा कुकुर छ, ‘स्कट’। लकडाउन अर्थात् इन–सेल्टरबाट सबभन्दा तनाव स्कटलाई छ, मालिक दिनभर घरमा बसेर। दिनभर मालिकको अघिपछि, दायाँबायाँ गर्ने कि, कतै कुनै कुनामा चुपचाप बस्ने ? ऊ दुविधामा छ। अरू बेला त मालिक अफिसबाट फर्केपछि गाडीसम्म स्वागत गर्न दौडियो, पुच्छर हल्लायो, हात चाट्यो सकियो। अब दिनभर मालिकसामु पुच्छर कति हल्लाउनु, कति हात चाट्नु ? अनि, मालिक घरमै बस्न थालेकोले उसलाई शंका पनि लाग्न थालेको छ, कतै मालिकको जागिर त चैट भएन भनेर। जागिर गयो भने मालिकले उसलाई अब मीठो मसिनो खान नदिने त होइन, तनाव छ स्कटलाई।

त्यति मात्र कहाँ हो र ! मार्कपुत्र जेफलाई पनि उस्तै तनाव छ। बाउले कहिले ‘जा, ग्यारेज सफा गर’ भन्छ, कहिले ‘आफ्नो कोठामा भ्याकुम लगा’ भन्छ। न टीभीमा हिपहप, र्‍याप हेर्न, सुन्न दिन्छ, न त उसलाई मन पर्ने टीभी च्यानल हेर्न दिन्छ। बाउ घरी–घरी फक्स च्यानल मात्र लगाउँछ। जेफ बाउसँग फन्फनिएको छ। कहिले यो कोरोनाको कहर सकिएला र स्कुल जाऊँ भएको छ उसलाई।

विश्वका शक्तिशाली देशहरूमा अन्तरिक्षमा यान पठाउने होड छ। तर, कुनै पनि देशले कोरानाबारे राम्ररी जान्न सकेका छैनन्। ओखती कहिले पत्ता लगाउलान् ? विश्वयुद्धमा अति शक्तिशाली देशहरूले युद्धका लागि गुटबन्दी गरेजस्तै यो महामारीसँग लड्न एकजुट हुन सक्दैनन् ? 

त्यसैले सबैसँग मेरो अनुरोध छ– घरबाहिर बिनाकाम ननिस्कौँ, बारम्बार हात धोऔँ र आफ्नो सुरक्षा आफैँ गरौँ। 

अन्नपूर्ण सम्पूर्णबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.