सुदूरपश्चिममा विपन्न परिवारलाई ३ हजार राहत
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले अति विपन्न परिवारलाई ३ हजारका दरले राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
विपन्न परिवारलाई स्थानीय सरकारमार्फत राहत दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिए । ‘अति विपन्न, असहाय र ज्यालादारी मजदुरका परिवारलाई ३ हजारका दरले राहत दिइने छ’, मन्त्री शाहले भने, ‘प्रदेश सरकारले स्थानीय तहलाई १६ करोड सहयोग गर्ने छ ।’
मन्त्रिपरिषद् बैठकले प्रदेशमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको विमा गर्ने निर्णय गरेको छ । संघीय सरकारले गरेको विमामा थप १५ लाखको विमा गर्ने मन्त्री शाहले जानकारी दिए । ‘संघीय सरकारले ल्याएको स्वास्थ्यकर्मीको विमामा प्रदेश सरकारले १५ लाख थप्ने निर्णय भएको छ’, प्रवक्ता शाहले भने ।
प्रदेशका विभिन्न जिल्लाका लागि २० वटा भेन्टिलेटरको खरिद गर्ने निर्णय भएको छ । प्रदेशमा भेन्टिलेटरको अभाव छ । यस्तै जिल्ला प्रशासन कार्यालयलाई ५ लाखका दरले कोरोना रोग नियन्त्ररण र व्यवस्थापनका लागि रकम उपलब्ध गराउने निर्णय भएको छ । नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको लागी १५ लाखका दरले रकम उपलब्ध गर्ने भएको छ । कोरोना रोग व्यवस्थापनका लागि उक्त रकम उपलब्ध गर्ने निर्णय प्रदेश सरकारले गरेको छ ।
मन्त्रीपरिषद् बैठकले कोस सञ्चालन निर्देशिका र राहत वितरण मापदण्ड पारित गरेको छ । मन्त्रीपरिषद् बैठकले प्रदेशमा फाल्गुन मसान्तसम्म तिर्नुपर्ने कर सुल्क र दस्तुरको अवधि बैसाख मसान्तसम्म थप गप्ने निर्णय गरेको प्रदेश सरकारले जानकारी दिएको छ ।