भक्तपुरको बिस्का जात्रामा सुनको लिंगो उठाइने

भक्तपुरको बिस्का जात्रामा सुनको लिंगो उठाइने

भक्तपुर  ः आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत लिंगोजात्रामा यहीं चैत ३० गते सुनको लिंगो उठाइने भएको छ ।

सरकारले लकडाउनबीच सर्वसाधारणको भीडभाड हुने गरी कुनै जात्रा, पर्व र पूजा नगर्न निर्देशन दिएसँगै भक्तपुरमा प्रतीकात्मक रुपमा सुनको लिंगो उठाइने भएको हो । गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले ५५ हात लामो काठको लिंगो उठाउनुपर्नेमा कोरोना भाइरस संक्रमणको कारण यस वर्ष प्रतीकात्मक रुपमा सुनको सानो लिंगो उठाइने व्यवस्था मिलाइएको जानकारी दिए ।

बिस्का जात्राको इतिहासमा अहिलेसम्म काठको लिंगो ठड्याइँदै आएको छ । बिस्का जात्राअन्तर्गत चैत महिनाको अन्तिम दिन साँझ भक्तपुर नगरपालिका ५ स्थित योसिंखेलमा ५५ हात लामो लिंगो ठड्याइन्छ । उक्त लिंगोमा करिब ३५ हात लामा दुई ठूला हलिंपत्त (विश्वध्वजा) झुन्डाइन्छन् । अष्टमातृकाको प्रतीकको रुपमा आठ वटा मोटा डोरी तानेर हजारौं जात्रालुले लिंगो ठड्याउने प्रचलन रहँदै आएको छ । तर यस वर्ष कोरोना भाइरसको कारण सर्वसाधारणले लिंगो तानेर ठड्याउने छैनन् ।

‘सरकारको निर्देशनानुसार ५५ हात लामो लिंगो ठड्याउँदैनौं’, भक्तपुर गुठी प्रमुख कर्माचार्यले भने, ‘त्यसको प्रतीकको रुपमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारी र भैरव नाइकेहरुको सीमित उपस्थितिमा सानो सुनको लिंगो उठाउँछौं ।’
चैत मसान्तमा ठड्याइएको उक्त लिंगो भोलिपल्ट पनि पूजाको सम्पूर्ण विधि पुर्‍याएरु ढालिने उनले जानकारी दिए ।

उनका अनुसार सुनको लिंगो उठाउन र ढाल्न अष्टमातृकाको प्रतीकस्वरुप आठ वटा डोरीको रुपमा भने कुम्हाः काँ (पवित्र पहेंलो धागो) प्रयोग गरिनेछ ।
प्रमुख कर्माचार्यले बिस्काजात्राअन्तर्गत लिंगो नठड्याउँदा र नढाल्दा देश र जनताका कुनै विघ्न वा दशा नलागोस् भनेर प्रतीकको रुपमा सुनको लिंगो उठाउने निष्कर्षमा पुगिएको बताए ।
भक्तपुरको बिस्का जात्रा तान्त्रिक विधिअनुसार सम्पन्न गरिन्छ । सर्वसाधारणको उल्लेख्य उपस्थिति देखिए पनि सर्वसाधारणको सहभागिता हुनुअघि गरिने सम्पूर्ण पूजाआजा तान्त्रि विधिअनुसार नै गरिन्छ । ती पूजा नसकिएसम्म बिस्का जात्रामा सर्वसाधारणको उपस्थिति नहुने भैरव नाइके कृष्णभक्त (माइला) छुंकाले जानकारी दिए ।

‘सर्वसाधारणले भैरवनाथको रथ तान्ने होस् वा लिंगो ठड्याउने र ढाल्ने  कार्य होस्, यी सबै हुनुअघि तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गर्नुपर्छ’, नाइके छुकांले भने, ‘यी पूजा नसकिएसम्म कुनै पनि जात्रामा सर्वसाधारणको सहभागिता हुँदैन ।’ त्यसैले यसवर्षको बिस्का जात्रामा सर्वसाधारणको उपस्थिति नभए पनि जात्राका सम्पूर्ण विधिविधान नरोकिने उनी बताउँछन् ।

बिस्काजात्राको विधिविधानअनुसार बिहीबार द्यः क्वहाँबिज्याइगु जात्रा (देवता तल सवारी हुने) सम्पन्न गरिएको भैरव नाइके छुकांले जानकारी दिए । उक्त जात्रामा यसअघि भैरवनाथ मन्दिरमा भैरवनाथको तान्त्रिक पूजा सकेर भैरवनाथको रथको विराजमान गराइन्थ्यो तर यस वर्ष भैरवनाथको रथ नबनेकाले भैरव देवतालाई मन्दिर बाहिर नल्याइकनै द्यः क्वहाँबिज्याइगु जात्रा सम्पन्न गरिएको हो ।

जात्राको प्रचलनअनुसार मन्दिरबाट रथमा बिराजमान गराइएको भैरवनाथलाई द्यः क्वहाँबिज्याइगु जात्राअन्र्तगत मन्दिरमा नलगी भक्तपुर नपा ४ चपालमा रहेको द्योछेंस्थित सिंहासनमा बिराजमान गराइन्थ्यो । त्यस्तै लिंगोजात्रा हुने चैत ३० गते योसिंखेलस्थित च्यासिङमण्डप पाटीस्थित सिंहासनमा बिराजमान गराइन्थ्यो तर यस वर्ष भैरवनाथलाई मन्दिरमै राखिने भएको भैरव नाइके छुकां बताउँछन् ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.