लकडाउनमा यात्रु ओसार्ने दुई एम्बुलेन्स प्रहरी नियन्त्रणमा
चरिकोट : बिरामी बोक्नुपर्ने एम्बुलेन्सले यात्रु ओसारेको पाइएपछि दोलखामा दुईवटा एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ। लकडाउनका बेला एम्बुलेन्सले यात्रु ओसार्न थालेको सूचनाको आधारमा प्रहरीले दुईवटा एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो । एम्बुलेन्समा यात्रुलाई ओसार्दा यात्रुलाई संक्रमण हुनसक्ने वा यात्रुबाट बिरामीलाई थप संक्रमण हुनसक्ने जोखिमका कारण गरिएको कारबाही अभियानमा दुईवटा एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए ।
चरिकोटमा निजी अस्पताल सञ्चालन गरिरहेको च्छोरोल्पा अस्पतालको बा२१च ७९६९ नम्बरको एम्बुलेन्स र प्रदेश-३-१-०२३च नम्बरको एम्बुलेन्सलाई नियन्त्रणमा लिइएको डीएसपी पोखरेलले जनाए ।
च्छोरोल्पा अस्पतालको एम्बुलेन्सले मरन्तमा जानको लागि ४ जना यात्रु ओसारेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । प्रदेश-३-०१-०२३च नम्बरको एम्बुलेन्सले बाबरेबाट ४ जना यात्रु लिएर चरिकोट आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
विभिन्न स्थानमा खटिएका प्रहरीले बिरामी, बिरामीका आफन्त, यात्रु को हुन् भनि सोधपुछ गरेर मात्र आवतजावतलाई निगरानी बढाएको डीएसपी पाखरेलले बताए । जिल्ला आवतजावत गर्ने खरिढुङ्गा र किर्नेटार नाकामा एम्बुलेन्स, बिरामी र उसका आफन्तको तथ्याङ्क राख्न समेत सुरु गरिएको उनले बताए।