२१ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइयो, एकजना आइसोलेसनमा भर्ना
बेंसीसहर : कोरोना भाइरस संक्रमण हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै भारतलगायत विभिन्न देशबाट आएर क्वारेन्टाइमा बसेका २१ जनाको स्वाब परीक्षणका लागि पोखरा लगिएको छ ।
जिल्ला सामुदायिक अस्पतालबाट ६ जना र मध्यनेपाल नगरपालिकाबाट १५ जनाको स्वाब कोरोना भाइरस संक्रमण भए नभएको परीक्षणका लागि पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रयोगशालामा पठाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्काले जानकारी दिए ।
बेसीशहरबाट पठाइएका राइनास नगरपालिकाको रहेका र मध्यनेपाल नगरपालिकाबाट स्वाब परीक्षणका लागि लगिएका सोही पालिकाका रहेका छन् । मध्यनेपाल नगरपालिकामा भने क्षेत्रीय प्रयोगशालाबाट टोली आएर स्वाब निकालेर लगेका हुन्।
त्यस्तै राइनासका ६ जनामध्ये एकजना सुकराज तामाङलाई बेसीसहरस्थित सामुदायिक अस्पतालको आइसुलेसन बेडमा भर्ना गरिएको छ । उनको अवस्था भने सामान्य रहेको बताइएको छ । अन्य पाँचजना भने बेँसीशहरस्थित सहरी डिभिजन कार्यालयको भवनमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ।
यसअघि ९ जनाको कोरोना भाइरस संक्रमणको जाँच गर्दा सबै जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । चैत १ गते यता जिल्लामा विभिन्न देशबाट आउनेको संख्या २ सय ८० जना रहेका छन् । सोमध्ये अधिकांश होम क्वारेन्टाइनमा बसेका छन् भने केही स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसेका छन् । क्वारेन्टाइनमा बसेकामध्ये पनि १४ दिन पार गरेर केही घर फिर्ता भइसकेका छन्।