स्थानीय धमाधम घर फर्किदैं, भारतीय क्वारेन्टाइनमै
बेंसीसहर : विदेशबाट आएर १४ दिन क्वारेन्टाइनमा बिताएका स्वास्थ्य परीक्षणपछि धमाधम घर फर्किन थालेका छन् । क्वारेनटाइनमा बसेका स्थानीय घर फर्किए पनि भारतीय नागरिक भने निस्कन पाएका छैनन् ।
विदेशबाट आएर घर गएकालाई खोजी खोजी परिवारलाई समेत क्वारेन्टाइनमा राखिएको थियो । लमजुङका ८ वटा स्थानीय तहमध्ये ४ वटा स्थानीय तहमा बसेका ६० भन्दाबढी घर फर्केका छन् । क्वारेन्टाइनमा बसेर १४ दिन पुरा भएपनि भारतीय नागरिक भने निस्कन पाएका छैनन् । स्वास्थ्य अवस्था ठिक रहेको र क्वारेन्टाइन अवधी पूरा हुँदा पनि आफूहरु निस्कन नपाएको भन्दै भारतीय चिन्तित बनेका छन् । बेंसीसहर नगरपालिकाको वडा नं. २ भकुण्डेस्थित बालक्लायाण माविको क्वारेन्टाइनमा ८ जना भारतीय २० दिनयता क्वारेन्टाइनमा छन् ।
उनीहरुलाई खाना सुविधासहित क्वारेन्टाइनमा राखिएको छ । यसबाहेक अन्य स्थानीय तहका क्वारेन्टाइनमा रहेका भारतीय पनि बाहिर निस्किन पाएका छैनन्। प्रमुख जिल्ला अधिकारी लक्षमणबहादुर खड्काले क्वारेन्टाइनमा बसेका भारतीय १४ दिन अवधि पूरा भएपनि निस्कन नपाउने बताए । भारतसँगको नाका बन्द रहेकाले उनीहरुलाई क्वारेन्टाइनमै राखेर खान बस्ने व्यवस्था मिलाइएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लाभर ९ सय ४९ बेड क्षमताको क्वारेन्टाइन भएपनि हाल २४ जना मात्र क्वारेन्टाइनमा बसेका छन् ।