दक्ष जनशक्ति अभावमा आरटीपीसीआर मेसिन जडानमा ढिलाइ
धनगढी : संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडान हुन सकेको छैन् । केन्द्रीय पशुपन्छी अन्वेशण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षण तीव्रता दिन पठाएको आरटीपीसीआर मेसिन जडान हुन नसकेको हो ।
सरकारले एकै पटक ठूलो संख्यामा कोभिड-१९ परीक्षण गर्न मिल्ने आरटी पीसीआर मेसिन धनगढीमा पठाएको छ । सेनाको स्काई ट्रकमार्फत ल्याएको उपकरण सञ्चालन गर्ने जनशक्ति नहुँदा समस्या हुने देखिएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले आवश्यक जनशक्तिको माग गरेको बताए । दक्ष जनशक्ति नहुँदा उपकरण जडान गर्न ढिलाइ भएको मन्त्रालयले जानकारी दिएको छ ।
धनगढीमै कोरोनाको संक्रमित बिरामी देखिँदासम्म परीक्षणको लागि 'थ्रोट स्वाब' परीक्षण काठमाडौं नै पठाउनुपर्ने बाध्यता छ । यसको परीक्षण धनगढीमा नै गर्न पीसीआर मेसिन पठाएको हो ।
जडानका लागि पठाएको उपकरणमा आवश्यक थप सामग्रीको अभाव भएपछि समस्या भएको प्राविधिकले बताए । प्रदेश सरकारलाई आवश्यक १० बढी सामान खरिद गर्न भनिएको मोलिकुलर माइक्रोबायोलोजिष्ट सुनिल प्रसाद लेखकले जानकारी दिए । प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामग्री खरिद गर्न नसक्दा जडानको काम ढिलाइ भएको उनको भनाई छ ।
'प्रदेश सरकारलाई आवश्यक सामानको सूची दिएका छौं, सामान आएको छैन् । सामान नभएकाले उपकरण जडानको काम रोकिएको छ,' उनले भने । उपकरण जडान भए १२ घण्टामा दुई सय ७० जनाको कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्न सकिने छ ।'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १८ गते सुदूरपश्चिम प्रदेशको लागि भन्दै पीसीआर मेसिन पठाएको हो । पठाएको २ दिनपछि सो मेसिनबाट परीक्षणको कार्य सुरु भए पनि १ पटकमा १ वटामात्रै नमूना परीक्षण गर्न सकिने तथा दिनमा ७÷८ वटा मात्रै नमूना परीक्षण हुने हुँदा नमूना परीक्षण गर्न काठमाडौं नै पठाउनुपर्ने बाध्यता यथावत छ ।
उपकरण मात्रै पठाइएपछि हाल सो उपकरण जडान तथा सञ्चालनको जिम्मेवारी सेती प्रादेशिक अस्पतालमा स्थापना गर्न खटाइएका मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखककै काँधमा थोपारिएको हो । उनका अनुसार सो मेसिनबाट दैनिक २ सय देखि ३ सय जनाको नमूना परीक्षण गर्न सकिन्छ ।
लेखकले यहाँ रहेका सीमित जनशक्तिलाई प्रयोगशाला सञ्चालनबारे सिकाउँदै परीक्षणको काम अगाडी बढाने दावी गरे । भारत तथा अन्य मुलुकबाट सुदूरपश्चिममा मात्रै डेढ लाख भित्रिएका छन् । तर हाल कोभिड-१९ को दोस्रो चरणमा रहेको सुदूरपश्चिममा २ हजार ३ सय ९९ जनालाई मात्रै क्वारेन्टाइनमा राखिएको प्रदेश स्वास्थ्य आपतकालिन सञ्चालन केन्द्र डोटीले जानकारी दिएको छ ।