‘कोरोना कोषमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब काटिएको छैन’
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी नभएको बताएका छन्।
शुक्रबार नियमित पत्रकार सम्मेलनमा बोल्दै देवकोटाले चैत ११ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोषमा नराखिएको प्रष्ट पारेका हुन्।
सरकारले विभिन्न तहका कर्मचारीको तलब ३ देखि ७ दिनसम्मको कट्टी गरेर कोरोना कोषमा राख्ने निर्णय गरेको भए पनि स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीको तलब कट्टी गरेर कोषमा राख्न निर्देशन जारी नगरेको देवकोटाको भनाइ छ।
‘स्वास्थ्य मन्त्रालयले चिक्तिसक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी गरेका छैनौँ। हालसम्म कट्टी गरिएको अवस्था पनि छैन’, डा. देवकोटाले भने, ‘सबैलाई उच्च मनोवलका साथ काम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अपील गर्दछ।’
त्यस्तै प्रवक्ता देवकोटाका अनुसार २४ घण्टामा ६ सय ३० जनामा कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो।
‘प्रयोगशाला परीक्षणमा आजसम्म तीन हजार पाँच सय २४ टेष्ट भएका छन्’, नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘नयाँ टेष्ट जम्मा ६ सय ३० जनाको भएको छ। जसमा उपत्यकाका चार सय एक र बाहिरका दुई सय २९ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ।’ अहिले परीक्षणको क्रममा रहेका नमुनाको संख्या आठ सय बढी रहेको डा. देवकोटाले जानकारी दिए।
प्रवक्ता देवकोटाका अनुसार अहिले देशभर क्वारेन्टाइनमा आठ हजार ६ सय ६० जना छन् भने आइसोलेसनमा एक सय २५ जनाको उपचार भइराखेको छ। उपत्यका भित्र आइसोलेसनमा १५ र बाहिर एक सय १० जना रहेको देवकोटाले जानकारी दिए।
अहिलेसम्म र्यापिड टेष्ट सबै प्रदेशमा पाँच हजारको दरले वितरण भएको छ। र्यापिड टेष्टमार्फत् कैलाली ३३९, कञ्चनपुर १३७, कपिलवस्तु २१, बागलुङ १९ जनामा भएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ।
डा. देवकोटाका अनुसार शुक्रबारबाट प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा पीसीआर मेसिनबाट नमुना परीक्षण सुरु भएको छ। यो सँगै कोरोना परीक्षण उपत्यकासहित ११ स्थानमा सुरु भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार डडेललधुराबाट १९९, बैतडी ४२५, कर्णली प्रदेशबाट ८५ गरेर सात सय ९ नमुना संकलन गरेको छ। त्यसको परीक्षणकार्य भइरहेको देवकोटाले बताए।
नेपालमा अहिलेसम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन्। अन्य आठमध्ये चारजनाको धनगढी, दुईदुई जनाको टेकु र बागलुङमा उपचार भइराखेको छ। मन्त्रालयका अनुसार पछिल्लो ६ दिनमा नेपालमा कोरोनाका नयाँ संक्रमित भेटिएका छैनन्।
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि सुरु भएको लकडाउनलाई पटकपटक थप गरेर वैशाख ३ गतेसम्म पुर्याएको छ।