सुत्केरी भोकभोकै, खोइ राहत ?

सुत्केरी भोकभोकै, खोइ राहत ?

महोत्तरी : संगीता सादा ४५ दिनकी सुत्केरी हुन्। उनलाई अहिले आराम र पौष्टिक आहारको जरुरी छ। तर, उनले नुनरोटी पनि खान पाएकी छैनन्। आमाको दूध खान नपाएर संगीताकी छोरी सञ्जना रुन्छिन्।

महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहास्थित मुसहर बस्तीमा सुत्केरी आमालाई लकडाउनले सताएको छ। सरकारले दिने राहत उनीहरूको घरमा पुगेको छैन।

राहतमा राजनीति हुँदा प्रदेश २ मा वितरणमा ढिलाइ भइरहेको छ। गरिबलाई दिने राहतको नामावलीमा धनीको नाम समावेश रहेको बर्दिबास नगरपालिका १ का वडाध्यक्षले बताए।

चैत १६ गते प्रदेश सरकारले गरिबलाई लकडाउनभर खाना उपलब्ध गराउन गाउँपालिकालाई १० लाख, नगरपालिकालाई १५ लाख उपमहानगरलाई २० लाख, महानगरलाई २५ लाख दिने निर्णय गरेको थियो।

प्रदेश २ को अर्थ मन्त्रालयले स्थानीय तहको खातामा रकम पठाइसकेको छ। स्थानीय तहलाई पनि रकम थप्न भनिएको थियो।

वडामा तथ्यांक संकलनमै दलका प्रतिनिधिले आफ्ना मान्छे (सम्पन्न)लाई पारेपछि विवाद चर्किएको छ।

निमुखा गरिबका लागि आएको राहतमा धनीले आँखा लगाउँदा संगीताजस्ता सुत्केरीको घरमा राहत पुगेको छैन। प्रदेश २ मा २५ लाख गरिबको संख्या छ।

कहिले आउँछ राहत ?

‘सबैतिर काम बन्द छ। घरबाहिर गयो प्रहरीले लखेट्छ। घरमा अन्न छैन। के खाउँ ? ’ संगीताका श्रीमान् सञ्जय सदाले भने, ‘झन् छोरीलाई खुवाउन कठिन भयो। आमाले खाना खायो भने मात्र नानीले दूध पाउँछ। डेढ महिनाकी छोरी आमाको दूध खान नपाएर चिच्याउँछिन्। सरकारले दिने भनेको चामल–दाल कहिले आउँछ ? ’

कोरोना भाइरसको महामारीले लकडाउन भएपछि नहुँदा खानेलाई छाक टार्न धौधौ छ।

फुलकाहाकै सुत्केरी अनिता सदालाई पनि छोरा आशिकलाई हुर्काउन समस्या छ। कमाउन भारतको पञ्जाब गएका श्रीमान् रामजी उता भोकै छन्। यता ललितालाई पाँच महिनाको दूधे बालक हुर्काउन कठिन बन्दै छ। खान नपाउँदा आमाको दूध सुकिसकेको छ।

उनका थप दुई सन्तान ५ वर्षका दीपक र ७ वर्षीया छोरी चाँदनीलाई खाना जुटाउनै समस्या छ।

‘घरमा चामल छैन, बच्चालाई के खुवाऊँ’, उनले भनिन्, ‘हातमा पैसा छैन, पसलले पनि उधारो दिँदैन। कहाँबाट खानेकुरा जोहो गरौं। सरकार, हामी भोकै मरौं ? ’

महँगीले आकाश छोयो

अनिताको छिमेकी लालोदेवी सदाको परिवारमा ८ सदस्य छन्। कमाउने एक जना मात्रै। एक वर्षको काखे छोरी मनिका छिन्। लालोदेवी भन्छिन्, ‘कोरोना भाइरसभन्दा भोकमरीले नै हामी गरिब मर्छौं।’

अहिले पहिलेको तुलनामा तीन गुणा महँगी बढेको उनले सुनाइन्। ‘कमाइ हुँदा हामी पालिएका थियौं। अहिले आम्दानी छैन। महँगीले अकाश छोइसक्यो’, उनले भनिन्, ‘अहिलेको बन्दले हामी भोकभोकै भयौं। सरकारले हामीलाई कम्तीमा खानेकुरा पठादिए त हुन्थ्यो नि !’

सरिताका ८ वर्षमुनिका ४ छोराछोरी छन्। ‘आफंैलाई खान पुग्दैन, कसरी बच्चालाई दूध चुसाउने’, उनले भनिन्।

ज्याला मजदुरीले उनको १३ जनाको परिवार चलेको थियो। १७ दिनदेखि उनीहरू घरभित्रै छन्। खाना जुटाउन समस्या छ, उनीजस्ता प्रदेश २ का गरिबलाई।

‘पहिले दुई जनाले कमाउँथे र परिवार चलेको थियो। अहिले त काम सबै बन्द छ। बाहिर निस्कियो कि प्रहरीले लाठी हान्छ’, उनले दुखेसो पोखिन्।

गौशाला नगर प्रमुख शिवनाथ महतोले राहत पाउनुपर्नेको तथ्यांक संकलनमा समस्या भए पनि राहत बाँड्न सुरु भइसकेको जानकारी दिए।

अब बाँचिँदैन कि जस्तो भो !

बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ६५ मन्जुर अन्सारीको चुलो निभेको छ। घरमा चामल छैन। काम गर्न जाने अवस्था पनि छैन।

‘छिमेकीसँग मागेर खाऊँ भने लकडाउनको बेला छ, आफ्नै घर बस भन्छन्’, उनले भने, ‘सरकारले राहत दिन्छ भन्ने सुनेको पनि सात दिन भयो। आएको छैन। खानै नपाएर, बाँचिँदैन जस्तो भो ! ’

चामल, नुन, तेललगायत खानेकुरा पाए ठूलो राहत हुने आशमा छिन् विपन्न गरिब मनतोरी देवी महतो। उनका श्रीमान् बहादुर महतोले भने, ‘चामल सकिएको छ। अहिलेसम्म त अलिअलि जोहो गरेकाले खान पायौं। चामल पाए नुनसँग पनि खान सकिन्थ्यो।’

महोत्तरीको बर्दिबास नगरपालिका–९ पशुपतिनगरमा राहत वितरणमा रस्साकस्सी हुँदा गरिब मारमा परेका छन्। गरिबबाहेक केही थपलाई राहत दिनुपर्ने भन्दै वडा कार्यालयमा पार्टी प्रतिनिधिले आआफ्नै नामावली पेस गरेका छन्।

टाठाबाठाले राहत दाबी गर्दा राहत लिनेको संख्या २ सय २८ बाट ४ सय ७७ जना पुगेको छ। बर्दिबास नगरपालिकाले एक साताअघि नै गिट्टी कुट्ने, दैनिक ज्यालामजदुरी गर्ने, विपन्न, गरिबलाई राहत वितरण गर्न निर्देशन दिएको थियो।

‘गरिबको चुलो निभ्न दिँदैनौं। राहतमा राजनीति गर्नेलाई उदांगो पारिदिनुस्’, बर्दिबास नगर प्रमुख विदुरकुमार कार्कीले भने, ‘राहतमा सामाजिक न्याय हुनुपर्छ। राहत राजनीतिक दलको हिस्सामा पर्नु हुँदैन।’

खिचातानीकै कारण बर्दिबास नगरपालिका–९ र १३ मा राहत वितरण हुन सकेको छैन।

भोको पेटमाथि राजनीति

प्रदेश २ मा गरिबको खानपिनको अवस्था दयनीय छ। सामान्य अवस्थामा पनि यहाँका गरिबलाई हातमुख जोड्न मुस्किल छ। भोकाहरूलाई वितरण गर्न आएको राहतमा राजनीति हुँदा गरिब तथा निमुखा महिलाको गर्भदेखि काखे बच्चा र युवा, वृद्धवृद्धा भोकभोकै छन्।

प्रदेश २ सरकारले प्रकाशन गरेको प्रदेश २ को जनसांख्यिक स्थिति प्रोफाइल ०७६ अनुसार ६१ लाख ५८ हजार जनसंख्या छ। बहुआयामिक गरिब प्रतिशत नेपालभर २९ छ भने प्रदेश २ मा ४८ प्रतिशत छ।

चमार, हरिजन, राम, धानुक, मुसहर, कुर्मी, दुसाद, पासवान र पासी जाति गरिबीको चपेटामा छन्।

राहतमा पोषणयुक्त खाना

‘कोरोना भाइरसको महामारीसँग लड्न अरू बेलाभन्दा बढी आवश्यक हुन्छ। मानवको पोषणको अवस्था र रोगसँग लड्ने प्रतिरक्षा शक्ति एक अर्कासित जोडिएको हुन्छ। कुपोषित मानिसमा रोग लाग्ने र मृत्यु हुने सम्भावना बढी हुन्छ’, स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले भने।

‘प्रदेश २ देशभरिकै बढी कुपोषित भएको प्रदेश हो। अहिले एउटा महामारीसँग लड्दै छौं। समयमा मानिसले खान पाएन भने अर्को रोगसँग लड्नुपर्ने हुन्छ। त्यसैले सबै जना राहत वितरणमा गम्भीर भएर भोकै भएकालाई तुरुन्तै खानेकुरा उपलब्ध गराउनुपर्छ। झन् गर्भवती र बच्चालाई खानेकुरासँगै पोषणयुक्त खानेकुरा वितरण गर्नुपर्छ।’

सुनौलो हजार दिनको अवधारणाले पनि गर्भवती, सुत्केरी तथा बच्चालाई दूध खुवाउने आमा तथा ५ वर्षमुनिका बच्चालाई विशेष ध्यान दिनुपर्ने उल्लेख गरेको छ।

नेपाल जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार प्रदेश २ को पोषणको अवस्था कर्णालीभन्दा पनि नाजुक छ। १५ देखि ४९ वर्ष उमेर समूहका महिलामा रक्तअल्पताः ५८ प्रतिशत छ। ६ देखि ५९ महिनासम्मका बालबालिकामा रक्तअल्पता ५९ प्रतिशत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.