दिनहुँ दुई नाटक मञ्चन
काठमाडौं : क्वारेन्टाइन अभियान नाट्य उत्सवमा बिहीबारदेखि प्रत्येक दिन दुई नाटक मञ्चन सुरु भएको छ। चैत १४ बाट फेसबुकमार्फत सुरु भएको नाटक साँझ ५ बजे एकपटक मात्रै प्रदर्शन हुँदै आएको थियो।
बिहीबारबाट दिउँसो १ बजे पनि नाटक प्रदर्शन भएको हो। प्रत्येक दिन दुई नाटक सुरु भएको पहिलो दिन बिहीबार दिउँसो १ बजे भारतीय नाटककार भरतेन्दु हरिषचन्द्र लिखित, संगीत सापकोटा र आशिष घिमिरेको संयुक्त निर्देशन रहेको नाटक ‘अँधेरी नगरी चौपट राजा’ को भिडियो देखाइयो। त्यस्तै बिहीबार नै दोस्रो नाटकका रूपमा फ्रान्सेली निर्देशक एलिज बियान्निकको नेपाली भाषामा निर्मित डान्स ड्रामा ‘द फ्लाइट’को भिडियो प्रदर्शन भयो।
नाटक फेस्टिभल निर्देशक केदार श्रेष्ठका अनुसार उत्सव समापनतिर पुगेकोमा दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण नाटकको समयावधिसँगै नाटक पनि एक सो थपिएको हो। आयोजकलाई प्राप्त नाटक धेरै भएकाले सबै देखाउन यो निर्णय लिइएको उनले बताए। बुधबार प्रतीक्षा कट्टेल लिखित तथा विजया कार्की निर्देशित ‘क्लेशा’ नाटकको भिडियो प्रदर्शन भएको थियो।
त्यस्तै चे शंकर निर्देशित लु सुनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’, हीरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’, डेनमार्कको नाटक ‘टु बी’, आयोजककै ‘भोको घर’ तथा आरोहण गुरुकुलको अर्को एक नाटक पनि भिडियो प्रदर्शनीको सूचीमा छ। नाटकको भिडिओ थिएटर मलको अफिसियल फेसबुकपेजबाट लाइभ स्ट्रिमिङ भइरहेको छ।