महामारीमा मेरो मन
घरको एउटा कुनामा केही बदमासहरू आएर पिट्न खोजे। मैले आफूलाई बचाउन हात उठाएँ र ठूलो स्वरले चिच्याएँ ता कि घरका मानिसहरू आएर मलाई बचाऊन्। आफ्नो ठूलो स्वरमा मैले आफैं अचम्म मानेर झसंग बिउँझे आज। बिहानको ५ बजेको रहेछ। बिहान उठ्नेबित्तिकै यस्तो सपना लेखिहाल्ने बानी छ। यो सपनाको के अर्थ होला ? सायद कोरोना भाइरसले मलाई आक्रमण गर्न खोजेको र मैले आफूलाई बचाउनुपर्छ कि भन्ने संकेत हो कि ?
सानैदेखि आफ्नो सपना डायरीमा लेख्ने मेरो बानी छ। सपना देखेको आधारमा ‘मेरो काम हुन्छ कि हुँदैन’ भन्ने ‘भविष्यवाणी’ म गर्छु। मलाई थाहा छ, यो एक प्रकारको ‘अन्धविश्वास’ हो, तर यो ‘विश्वास’ले मलाई बेफाइदा गर्दैन, बरु एक प्रकारको साहस नै दिन्छ। आज देखेको सपनाले पनि म ‘कोरोनाबाट’ संक्रमित हुन्न भन्ने ‘विश्वास’ पलाएको छ। यसले मलाई मनमा केही उत्साह जगाएको छ।
‘बन्दाबन्दी’मा घर बसेपछि त कति लेखूँला भन्ने मेरो विचार थियो। अरू बेलामा कति धेरै विचार आउँथे। ती विचार बुँदागत रुपमा डायरीमा टिप्थेँ। तर १०, १२ दिनसम्म घरमा बस्दा मेरो लेखन नै चल्न सकेन। अनि मैले बुझेँ कि मेरो विचार, लेखाइ जब धेरै मानिसहरूसँग भेट हुन्छ, अनि मात्र मेरो मस्तिष्क सक्रिय हुने रहेछ। यो मैले आफूलाई धेरै समय भए, अझ धेरै लेख्न सक्छु भन्ने विचार गरेको व्यर्थ रहेछ। सायद यो ‘डिप्रेसन’को लक्षण पनि हो कि ? भन्न सकिन्न ।
यो ‘डिप्रेसन’ हटाउन अहिले मैले हरेक दिन ‘योगासन’को समय बढाएको छु। दिउँसोभरि घरमा बस्दा अल्छी लाग्ने भएकाले हरेक दिन किताब पढ्छु। मेरा पुराना २५, ३० वर्षअघिका ‘डायरी’ हेरेर मन शान्त पार्न कोसिस गर्दैछु। १८ वर्षअघि म अफगानिस्तान गएकी थिएँ। त्यहाँ पनि कति दिनसम्म घरबाट बाहिर निस्कन पाइँदैनथियो, बाहिर सडकमा कहिले कहिले फौजीहरू मात्र हिँड्थे। त्यो बेलामा लेखेका ‘डायरी’ हेरेर त्यस्तो गाह्रो ‘युद्धको अवस्था’बाट पार गरेँ भने अहिलेको अवस्था पनि पार गरिनेछ भनेर म डायरी लेख्छु। यसले मनमा केही शान्ति दिएको भान हुन्छ।
नेताका छोराछोरीहरू यसरी स्वास्थ्यकर्मी भएर काम गर्नुपर्ने भएको भए के नेताहरूलाई मास्क, पीपीई नलगाएरै बिरामीलाई सेवा गर भन्थे ?
यो समयमा आफ्ना चिनेजानेका व्यक्तिले मलाई टेलिफोन गरेर के खाए कोरोना भाइरस लाग्दैन भन्ने प्रश्न गर्छन्। त्यस्तो बेलामा म भन्ने गर्छु, ‘यदि यसको उत्तर कसैसँग भयो भने त ठूलो उपलब्धि हुनेछ। म यो प्रश्नको उत्तर दिन सक्दिनँ, तर एउटा कुरा भन्न सक्छु, पत्रु खाना चाहिँ पक्कै खानु हुँदैन। शरीरको रोगसँग लड्ने शक्ति बढाउने खाना, मसला हाम्रै भान्छामा छन्। रोगसँग लड्ने शक्ति केवल खानाले मात्र होइन भन्नेमा पनि भर पर्छ। शरीरमा यदि पहिले कुनै समस्या छ जस्तो मधुमेह, उच्च रक्तचाप, अन्य मुटुका समस्या आदि भएका व्यक्तिलाई कोरोना भाइरसको संक्रमण भए जटिलता हुन्छ, त्यसैले यस्ता समस्या भएकाहरू बडो चनाखो हुनुपर्छ ।’
यसको साथै म यो भन्न पनि छुटाउँदिनँ, ‘शरीर फुर्तिलो राख व्यायाम, योग हिँडाइ आदिको बडो महत्व छ। अहिले ‘बन्दाबन्दी’को बेलामा त यसको महत्व झन् बढेको छ। कोठामा गरिने व्यायाम र योगासनका लागि पैसा तिर्न पर्दैन। तर इच्छा शक्ति चाहिन्छ। किनभने घरमा नै बसिरहँदा झन् अल्छी भइन्छ। दुईचार दिन अल्छी भइयो भने बानी नै हुन्छ ।’
यो बेला आफूलाई शान्त पार्न मैले इतिहासका किताब पनि पढ्न थालेकी छु। यसले मलाई इतिहासमा भएका युद्ध, महामारी आदि जितेर मानव सभ्यता यहाँसम्म पुगेको छ, यो महामारीलाई पनि पक्कै जित्नेछ भन्ने भावनाले मनमा केही मल्हम लगाइदिन्छ।
‘लकडाउन’ अब नेपाली शब्द भइसकेको छ तर ‘बन्दाबन्दी’ कति जनाले प्रयोग गर्छन्। जे शब्द प्रयोग गरे पनि कुरा त उही हो, घरभित्र बस।
कति जनालाई उकुसमुकुस पनि भएको छ। कति जनाले चाहिँ यसलाई ‘आराम लिने’ भन्ने पनि गरेका छन्। कोही चाहिँ भित्र बस्न गाह्रो हुँदा तरकारी लिने निहुँले सडकमा हिडँेका छन्। तर एक्लै सडकमा हिँडिरहँदा पनि अचम्म लाग्ने रहेछ। ‘नेपालमा अझ एक महिना ‘लकडाउन’ हुने छाँट छ,’ ‘लकडाउन’ गर्नैपर्छ भन्ने अनेक कुरा सुनिन्छन् ।
सम्पूर्ण संसार नै तहल्का मच्चाएको यो अति सुक्ष्म जिवाणु (भाइरस) ले मान्छेलाई फेरि एकचोटि ‘हाम्रो जीवनमा त परिवर्तन गर्नुपर्ने रहेछ’ भन्ने दर्शन सिकाइरहेको छ। यो भिन्दै कुरा हो कि यो ‘दर्शन’ अहिलेको महामारी सिद्धिएपछि पनि बाँकी रहन्छ कि उडेर जान्छ ?
विश्वका ठूला शक्तिसम्पन्न राष्ट्रलाई यो भाइरसले नराम्ररी हल्लाएको छ। अमेरिकाबाट मेरा विदेशी साथी लेख्छन्, ‘हामी सबै डरमा छौं। कुन बेला कसको मृत्युको खबर सुन्नुपर्ने हो भनेर ।’
‘अमेरिकाजस्तो धनी देशमा त यस्तो अवस्था छ भने नेपालमा ‘महामारी’ भयो भने के होला ? यहाँ मान्छेहरू झिँगा जस्तै भटाभट मरे भने त लास जलाउन पनि ठाउँ हुनेछैन। अनि त्यही कुहिएको लासले फेरि अर्को महामारी ल्याउनेछ ।’ मेरा एक डाक्टर साथीले उदास भएर भने।
‘कोरोनाको महामारीले मर्ने कुरा के गर्ने, मजदुर, इँटाभट्टामा काम गर्नेहरू त भोकले नै मर्छन्। तर तिनीहरूबारे कसैले कुरा गर्नेछैन। किनभने राज्यको दृष्टिमा त उनीहरूको अस्तित्व नै छैन ।” अर्को साथी दर्शन छाँट्छन् ।
यस्तै यस्तै दर्शन र गफको बीचमा बन्दाबन्दीमा परेका हामी कसैसँग पनि भोलि के होला भन्ने उत्तर चाहिँ छैन। ‘भगवान् भरोसा’ भनेर हामी बसिरहेछौं। अहिले नेपालमा धेरै संख्यामा संक्रमित देखिएका छैनन्। साँच्चि नै संख्या कम हो या हामीकहाँ जाँच नै नगरिएको हो भन्ने प्रश्नको उत्तर चाहिँ ठ्याक्कै दिन गाह्रो छ।
फागुन महिनामा मेरा एक साथी पोखराको लेकसाइडमा गएका थिए। त्यहाँ एक होटेलमा धेरै जना चिनियाँहरू दुई हप्तादेखि बसिरहेका थिए। ‘कताबाट यति धेरै टुरिस्ट आउँछन् त साहुनी’ मेरो साथीले सोधेछन्। ‘अँ, चाइनिज ‘करेला’ भन्ने कीराले मान्छेहरू बिरामी भएछन्। त्यसैबाट बच्न उनीहरू आएको रे’ साहुनीले खुसी हुँदै भनेकी थिइन्। ‘करेला भन्ने कीरा’ भनेको त्यही कोरोना भाइरस पो रहेछ। अहिले बल्ल बुझियो।
मेरो साथीले भने, ‘ती चीनबाट आएका मानिसहरूले सायद कतिलाई संक्रमित पनि गरे होलान्। फागुन महिनामा त हामीले त्यति धेरै वास्ता पनि गरेका थिएनौं ।’ उनको कुरा सुनेर मलाई लाग्यो, यदि ती चिनियाँहरूले एक महिना बसेर संक्रमण गरेका भए अहिले पोखरातिर धेरै मानिसहरू बिरामी भएको खबर आइसक्नुपर्ने थियो। तर फेरि अर्कोतिर संक्रमण भएकामध्ये ८० प्रतिशतलाई खासै ठूलो समस्या नहुने, साधारण रुघाखोकी, ज्वरो आउने जस्तो मात्रै हुनाले पनि संक्रमण भएको कुरा थाहा नभएको हो कि ? यही नेपालमा अहिले पाँच लाखलाई ‘कोरोना’को परीक्षण गरियो भने हजारौ संक्रमित भएका देखिन्छन् होला भन्ने पनि छलफल गरिँदै छ।
नेपालमा र संसारमा अहिले डाक्टर, नर्स अस्पतालमा काम गर्ने व्यक्तिहरूले अहिले जसरी काम गरिरहेका छन्, त्यो प्रशंसा गर्न लायक छ। तर राजनीतिक नेताहरूको बेवास्ताले गर्दा उनीहरूको स्वास्थ्य पनि खतरामा छ। यदि नेताका छोराछोरीहरू यसरी स्वास्थ्यकर्मी भएर काम गर्नुपर्ने भएको भए के उनीहरूलाई मास्क, पीपीई नलगाएर नै बिरामीलाई सेवा गर भन्थे होलान् ?
अहिलेको महामारीले देखाएको छ, जुन देशमा राज्यले जनस्वास्थ्यलाई वास्ता गरेको छ, त्यहाँ यसको महामारीलाई कम गर्न धेरै काम भएको छ। ‘अमेरिका जस्तो ‘महाशक्ति’कहाँ स्वास्थ्यलाई राज्यको भन्दा निजी हातमा दिएको हुनाले त्यहाँ महामारी फैलिँदा धेरै समस्या छ। त्यसको तुलनामा सानो देश क्युबाले स्वास्थ्य राज्यको दायित्व मानेको हुनाले त्यहाँ कोरोनाले महामारीको रूप लिएको छैन। यति मात्र होइन, क्युबाले इटलीमा डाक्टरहरूसमेत पठाउन सकेको छ ।’ जनस्वास्थ्य विज्ञहरूको बीचमा छलफल चलेको छ ।
कोरोना संक्रमणबारे पहिलेदेखि नै वैज्ञानिकहरूले भन्दै आएका थिए, राजनीतिज्ञले बेवास्ता गरे। चीनमा पनि यही समस्या भएको थियो, पछि मात्र ‘महामारी’ हो भनेर चीनका नेताले स्विकार गरेर, ‘महामारी’ रोक्न सफल भए ।
टेकु अस्पतालमा काम गरिरहेका डाक्टर पनि नेपालमा कोरोनाको संक्रमणले खासै ठूलो जटिलता नदेखिएको दाबी गर्छन्। नेपालमा जहाँ स्वास्थ्यको अवस्था ‘भगवान् भरोसे’ छ, जहाँ महामारीको बेला पनि सत्तामा बसेकाहरूलाई ‘कोरोनाबाट कमिसन’ चाहिन्छ, त्यहाँका बिचरा हामी जनता साँच्ची नै’ भगवान्लाई प्रार्थना गर्ने, ‘जे होगा देखा जाएगा’, ‘भाग्यमा छ भने बाँचिन्छ’ भन्नेबाहेक के भन्न सकिन्छ र ?
अहिले सत्तामा बसेकाहरूले जनस्वास्थ्यलाई कति बेवास्ता गर्दा रहेछन् भन्ने कुरा त डाक्टर र नर्सलाई संक्रमणबाट बचाउन चाहिने उपकरण पनि उपलब्ध नगराएकोबाट देखिन्छ। कति जनाले अहिलेको सत्तामा बसेकालाई धारे हात लगाइरहेका छन्। प्रतिपक्षमा बसेकाहरू अहिले उफ्रीउफ्री सरकारलाई गाली गर्दैछन्। यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर कांग्रेसका नेताहरू भन्दैछन्। तर इतिहास बिर्सेर न त वर्तमान, न त भविष्यको कुरा गर्न सकिन्छ।
२०४६ सालपछि सत्तामा आएको कांग्रेसले चाहेको भए नेपालको प्राथमिक स्वास्थ्यको अवस्था, धेरै औषधि नेपालभित्रै बनाउने व्यवस्था, सरकारी अस्पताल सुधार्ने व्यवस्था मिलाउन सक्थ्यो। तर गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाहरू धेरै चोटि प्रधानमन्त्री हुँदा पनि यसतर्फ उनीहरूले चासो नै दिएनन्। यसको उदाहरण त वीर अस्पताल, कान्ति अस्पताल, जिल्लाका अस्पतालहरू छन्। जहाँ अहिले ‘हुनेखाने’ र ‘सुकिलामुकिला’ जाँदैनन्। सत्तामा बसेकाहरू पनि ९० प्रतिशत निजी अस्पताल नै जान्छन्। अनि त वीर असपताल वा कान्ति अस्पताल सुधार्ने ‘प्रपञ्च’ किन गर्नुपर्यो ?२०४६ सालदेखि हरेक स्वास्थ्यमन्त्री हुनेबित्तिकै वीर अस्पतालको ‘दर्शन’ गर्न जान्छन्। अनि त्यहाँका डाक्टर र कर्मचारीसँग ‘अब वीर अस्पताललाई अत्युत्तम बनाउनुपर्छ’ भन्ने वाचा गर्छन्। अनि त्यहाँबाट फर्केपछि नेताहरू रुघाखोकी लागे पनि निजी अस्पताल जान्छन्।
किन कोही कांग्रेसका नेता र स्वास्थ्यमन्त्रीले वीर अस्पतालमा आफ्नो र आफ्नो परिवारको उपचार गराउने ‘काम’ नगरेको होला ? किनभने ती नेतालाई थाहा छ नि ‘जति गरे पनि वीर अस्पतालको अवस्था सुध्रिनेछैन, त्यहाँको व्यवस्थापनमा धमिरो, अझ अहिलेको अवस्थामा त कोरोना भाइरसले नै संक्रमित भएको छ’ भन्ने पनि हुन्छ। नेपालका उत्तम डाक्टर, नर्सहरू छन् तर ‘राजनीति’ले गाजेको हुनाले उनीहरूले पनि आफ्नो काम राम्रोसँग गर्न पाउँदैनन् ।
वीर अस्पतालको दुर्दशाको वर्णन त हजार जिब्रो भएका शेषनागले पनि गर्न सक्दैनन्, मेरो यो सानो कलमले के गर्न सक्थ्यो र ?२०४६ सालदेखि बिग्रिन थालेको बिचरा, बबुरो, विवश वीर अस्पतालले अहिले कोरोनाको महामारीको संक्रमणमा हामी नेपालीलाई ‘आऊ, मेरो ढोकामा आएपछि म तिमीलाई राम्रो सेवा दिन्छु’ भन्ने साहस गर्न सक्दैन। किनभने नेताहरूले उसको ‘वीरत्व’ खोसिदिएका छन्। वीर अस्पताल नेताका लागि कमाइखाने भाँडो बनेको छ, २०४६ सालदेखि ।
के कोरोनाको महामारीपछि संसार यस्तै रहँला ? लोभलालच कम होला ? स्वास्थ्यमा राज्यले जिम्मेवारी लेला ? उत्तर मसँग छैन। समयले देखाउँला ।