अर्थतन्त्रलाई अर्थपूर्ण बनाउने अद्भुत अवसर
नेपालजस्तो परनिर्भर मुलुकका लागि अर्थव्यवस्थालाई नयाँ ढंगबाट सोच्ने र कार्यान्वयन गर्ने योभन्दा राम्रो अवसर अरू हुनेछैन।
विकास अर्थशास्त्रको दृष्टिकोणबाट हेर्ने हो भने पछिल्ला दुई दशक अत्यन्तै महत्वपूर्ण रहे। यी २० वर्षमा संसारमा गरिबी, भोकमरी, रोगव्याधिजस्ता समस्या क्रमशः कम भएका छन्। विश्वव्यापीकरणका कारण यी वर्षहरूमा भएको तीव्र आर्थिक वृद्धि, सूचना प्रविधिको विकास, वैदेशिक रोजगारीका अवसरहरूले मानिसको आयस्रोतमा वृद्धि हुँदै थियो। अतिकम र कम विकसित मुलुकहरू बिस्तारै विकासशील हुँदै थिए। भलै असमानता, राजनीतिक उतारचढावजस्ता अन्य समस्या यथावत् नै थिए। तर मानिसहरूको जीवनस्तरमा क्रमिक सुधार देखिँदै थियो। गरिबीको रेखामुनि रहेको जनसंख्या घट्दो क्रममा थियो।
सन् २०१९ मा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार बिजेतामध्येका प्राध्यापक अभिजित बनर्जी तर्क गर्छन्, ‘यी पछिल्ला दुई दशकले संसारका गरिबहरूको जीवनमा नाटकीय परिवर्तन ल्याइदिएको छ ।’
सन् २०२० सुरु हुँदै गर्दा अबको दशक शिक्षित जनसंख्या, द्रुत गतिमा भइरहेको आर्थिक वृद्धि, सूचना प्रविधिमा भएको विकास, आर्टिफिसियल इन्टेलिजेन्सलगायतका कारण, मानवजातिका लागि पछिल्ला दशकभन्दा अझ सहज हुने र विश्वव्यवस्थामा नयाँ दशकको सुरुवात हुने अनुमान धेरैले गरेका थिए।
यी सबै अनुमान विपरीत सन् २०२०को चौथो महिना आइपुग्दा विश्वको आधा जनसंख्या कोरोना भाइरसको महामारीका कारण यथास्थानमा थुनिएको छ। सम्पूर्ण विश्वव्यवस्था यो संकटको सामना गर्दै छ। मानवजातिकालागि अबको चुनौती भाइरस सिर्जित महामारी हो भनेर धेरैले अनुमान गरे तापनि महामारीले यसरी सम्पूर्ण विश्व ठप्प पार्नेछ भन्ने अनुमान सायदै कसैले गरेका थिए।
कोभिड–१९ को महामारीले निम्त्याएको यो संकट मानवजातिले भोगेका अन्य महामारीभन्दा फरक छ। यस्तोभयावह अवस्थाको कल्पना हामीले सायदै गरेका थियौं। यसअघिका महामारी र विश्वयुद्धजस्ता संकटहरूले समग्र विश्वव्यवस्थालाई यसरी पूर्ण रूपमा ठप्प पारेका थिएनन्। पूर्वको जापानदेखि पश्चिमको क्यानडासम्मका सम्पूर्ण आर्थिक–सामाजिक गतिविधि ठप्प पार्ने महामारी यस अगाडि सायदै आएका थिए।
केहि मुलुकहरू संकटसँग जुध्दै गर्दा अन्य मुलुकमा आर्थिक गतिविधि चलायमान नै हुन्थे, जसले विश्व अर्थतन्त्रमा धेरै थोरै भए पनि भरथेग गरेकै थियो। अहिलेको महामारीले निम्त्याएको यो संकट नयाँ प्रकृतिको छ। विश्वव्यापीकरणले गर्दा एक देशसँग अर्काे देशको अन्तनिर्भरता पहिलेभन्दा ज्यादा छ। मूल्य शृंखलाका कारण धेरैजसो उत्पादनहरू एकै देशमा पूर्णरूपमा तयार हुँदैनन्। प्रविधि, कच्चा पदार्थ, मजदुर, बजारजस्ता यावत् कुराहरू एकअर्का मुलुकबीच अन्तरसम्बन्धित छन। यसैकारण अहिले उपभोग्य वस्तुहरूमा माग र आपूर्तिको तालमेल मिल्न सकेको छैन। अन्य संकटमा जस्तो यतिबेला उपभोक्ताको मागमा कमी आएको छैन। तर, आपूर्ति प्रणाली भने समस्यामा छ।
विश्वका ठूला, विकसित र सम्पन्न मानिएका मुलुकहरूले समेत यो विधि क्षतिको अनुमान नगरेको अवस्थामा नेपालजस्तो वैदेशिक रोजगार, पर्यटन र आयातमा निर्भर अर्थतन्त्र भएको मुलुकका लागि महामारी सिर्जित यो संकट सामना गर्न महामुस्किल पर्ने देखिन्छ। तर, संकटले अवसरहरू भने पक्कै देखाउनेछ।
राजनीति, समाज र बजारले संकटको सामना गर्ने प्रक्रिया एकै हुन्छ। डर र अनिश्चितताबाट सुरुहुने यो प्रक्रिया संकट समाधान र संकट व्यवस्थापनमा गएर टुंगिन्छ। अहिले संकटसँग जुध्नुका साथै संकटपछिको नयाँ समयलाई कसरी सुरु गर्ने, भएको क्षतिलाई कसरी पूर्ति गर्ने मुख्य चुनौती रहेको छ। अन्य महामारीभन्दा पृथक् यो महामारीमा मानिसहरूमा रोगको भन्दा भोकको डर धेरै देखिन्छ। आयआर्जन र रोजगारी गुम्ने हो कि भन्ने चिन्तामा धेरै व्यक्ति छन्।
अन्तर्राष्ट्रिय श्रम संगठनको भर्खरै प्रकाशित अनुसन्धानले कोभिड–१९ महामारीका कारण संसारबाट २५करोड रोजगारी कम हुने अनुमान गरेको छ। आर्थिक गतिविधिहरू ठप्पप्रायः छन्। अत्यावश्यक बाहेकका उद्योगहरूसञ्चालनमा छैनन्। अनौपचारिक क्षेत्रमा काम गर्ने ठूलो संख्यामा रहेका मजदुर, आप्रवासी कामदारको रोजगारी जोखिममा रहेको छ। यो बन्दाबन्दीको प्रभाव अर्थतन्त्रले पछिसम्म भोग्नुपर्ने हुन्छ। देशको समष्टिगत अर्थतन्त्रमा यसले नकारात्मक असर देखाउन थालिसकेको नै छ।
अहिलेको प्रमुख प्रश्न ‘महामारीपछिको विश्व अर्थव्यवस्था कसरी अगाडि बढ्छ? भनेर घोत्लिँदा विगत दुई दशकभन्दा फरक ढंगले चल्नेछचाहिँ भन्न सकिन्छ। तर, कस्तो फरक ?ठूला उद्योग, कार्यालयहरूले यो संकटँंग जुध्दै गर्दा मितव्ययिता अपनाएर कसरी काम गर्न सकिन्छ भन्ने सिकेका छन्। उनीहरूको ध्यान खर्च र कामदार कटौतीमा हुनेछ जसलेगर्दा रोजगारीका अवसरमा पनि कमी आउनेछ। एक महिनाभन्दा धेरै समय घरभित्रै बिताएका उपोभोक्ताको खर्च गर्ने शैली महामारीबाट उम्किँदै गर्दा पक्कै पनि केही फरक हुनेछ। विलाशिताभन्दा पनि आधारभूत आवश्यकता र स्वास्थ्यमा गर्ने खर्च पक्कै पनि वृद्धि हुनेछ र यसको प्रभाव अर्थतन्त्रमा देखिने नै छ।
आउँदो समयको मुख्य चुनौती यो कहरपश्चात् अझै बढ्ने धनी र गरिबबीचको खाडल कसरी कम गर्ने भन्ने हो। रोजगारी गुमाएका व्यक्तिहरूलाई कसरीव्यवस्थापन गर्ने, निम्न वर्गीय र गरिब जनसंख्यालाई विपद्सँग जुध्न कसरी सिकाउने, जनस्वास्थ्यलाई कसरी सर्वसुलभ बनाउनेलगायत नयाँ र महत्वपूर्ण चुनौती हाम्रो पुस्तालाई यो महामारीले दिएको छ।
अहिलेसम्मका आर्थिक संकट र महामारीबाट पार गराएका वर्तमान विश्वका आर्थिक नीतिहरू अब काम लाग्ने छैनन्। यस नयाँ किसिमको महामारी र यसले निम्त्याएका चुनौतीको सामना गर्न, नयाँ र फरक ढंगका संयन्त्र र नीतिहरू आवश्यक छन्। कस्ता आर्थिक नीति तथा कार्यक्रमहरू बनाउने भन्ने विषयमा अन्तर्देशीय समन्वय निकै नै जरुरी हुनेछ।
महामारीपछिको समयले विश्वलाई सधैँ अवसर दिएको छ। दोस्रो विश्वयुद्धपश्चात्को संकटले उदार राज्य व्यवस्थाको सुरुवात गरेजस्तै, के भाइरस सिर्जित यो महामारीले नयाँ विश्वव्यवस्था जन्माउला?विश्वव्यापीकरणको अधिकतम फाइदा उठाएको यो पुस्ता यतिबेला सकेसम्म एक्लै बसेको छ। घरका ढोका, आवागमन र अन्तर्राष्ट्रिय सिमाना बन्द गरेर महामारीको कहरसँग जुध्दै गर्दा के अब बन्ने राष्ट्रिय–अन्तर्राष्ट्रिय नीतिहरू एकरूप भएर यस्ता महामारीकानीतिगत निर्णयहरू एकै होलान् ? के सम्पूर्ण विश्वले एक भएर यो कहर सामना गर्नेछ? वा हामी पहिलेजस्तै नियमित जीवनयापनमा फर्किनेछौं ? यी प्रश्नको जवाफ अबको केही महिनामा प्रस्ट हुँदै जानेछ।
महामारीपछिको नेपाली अर्थव्यवस्था
पर्यटन, कृषि, उद्योग जस्ता स्थानीय आर्थिक क्रियाकलापहरू बन्दप्रायः रहँदा र विप्रेषणमा कमी आउँदा नेपालको समग्र आर्थिक वृद्धिदरमा यो महामारीले असर गरिसकेको छ। अनौपचारिक क्षेत्रमा हुने रोजगारीको कमी, वैदेशिक रोजगारीका अवसरको कटौतीका कारण सिर्जना हुने बेरोजगारीले सन् २०२२ सम्म विकासशील राष्ट्र बन्न नेपालले राखेको मध्यकालीन आर्थिक लक्ष्य भेटाउन पनि पनि कठिन हुने देखिएको छ।
नेपालजस्तो परनिर्भर मुलुकका लागि अर्थव्यवस्थालाई नयाँ ढंगबाट सोच्ने र कार्यान्वयन गर्ने योभन्दा राम्रो अवसर अरू हुने छैन। विश्वभर नै आपूर्ति प्रणाली र मूल्य शृंखला (भ्यालु चेन) खलबलिएको छ। यो प्रणालीलाई पुरानै ढाँचामा फर्किन अवश्य नै केही समय लाग्नेछ। हामीले सामान आयात गर्ने देशहरूको प्राथमिकता आफ्नो आन्तरिक माग पूर्ति गर्नुमै हुनेछ। हामीले हाम्रा साना तथा मझौला उद्योगहरूलाई पूर्णरूपमा सञ्चालन गरेर आधारभूत आवश्यकतामा आत्मनिर्भर हुन सक्यौं भने आन्तरिक रोजगारी सिर्जनाका साथै आयात प्रतिस्थापन र निर्यातका नयाँ सम्भावना पहिचान गर्न सक्नेछौं। यसले नेपाली अर्थतन्त्रमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव देखाउनेछ।
अब बन्ने नीति तथा योजनाहरूमा यो कहरले सिकाएका पाठ अवश्य समावेश गरिनेछ, मानव जातिका आधारभूत प्राथिमकताहरू केके हुन्, तिनलाई कसरीव्यवस्थापन गर्ने भन्ने विषय अबको दशकमा बन्ने आर्थिक नीतिहरूको प्राथमिकतामा पर्नुपर्छ। यो महामारीले सिकाएको ठूलो पाठ सायद यही नै हुनुपर्छ।
@Neshaant