पठनपाठनमा वैकल्पिक प्रस्ताव
कोरोना भाइरसको महामारीले झन्नै विश्व नै लकडाउनको स्थितिमा छ। यो बेला शैक्षिक संस्थाहरू बन्द छन्। परीक्षाहरू हुन सकेका छैनन्। आम अभिभावक, शिक्षक र विद्यार्थीलाई अब के हुन्छ भन्ने चिन्ता छ। स्रोतसाधन भएका देश र संस्थाहरूले अनलाइन कक्षाहरू लिइरहेका छन्। तर, स्रोतसाधन नभएका हाम्राजस्ता देशहरूमा तुरुन्तै वैकल्पिक व्यवस्था गर्न पनि गाह्रो छ। तर, असम्भव भने छैन। यसै सन्दर्भमा शिक्षालाई हेर्ने हाम्रो समग्रचिन्तनको सान्दर्भिकतालाई यो महामारीले कसरी प्रश्न गरेको छ र यसबाट राज्य, विद्यालय र विश्वविद्यालयहरूले सिक्न सक्ने पाठहरूबारे चर्चा गरिएको छ।
आम चिन्तनमाथि प्रश्न
यो महामारीले हामीले स्वीकार गर्दै आएको शिक्षासम्बन्धी चिन्तनलाई फेर्नुपर्छ भन्ने सन्देश दिएको छ। मुख्य गरेर विद्यार्थीको क्षमता घण्टे परीक्षाको माध्यमबाट मापन गर्न सकिन्छ भन्ने सोच बदलेर वैकल्पिक विधिहरू अपनाउनुपर्छ भन्ने पाठ सिकाएको छ। महामारीको त्रास बढ्दै जाँदा एसईई र कक्षा ११, १२ को अन्तिम परीक्षा कहिले गर्न सकिन्छ भन्ने आकलन गर्न सकिने स्थिति छैन। यी परीक्षा कसरी गर्न सकिन्छ भन्ने कुरामा अहिले शिक्षा मन्त्रालय बढी चिन्तित देखिन्छ जुन स्वभाभिक छ। तर, महामारी लम्बिँदै जाँदा यी तीन घण्टे परीक्षामा अल्झेर नयाँ शैक्षिक सत्र सुरु नगरी बस्नुपर्छ र ?
महामारीको लगत्तै विद्यार्थीहरू परीक्षा दिन मानसिक रूपमा तयारी हुन सक्छन् ? यस्तो स्थितिमा केही वैकल्पिक उपाय सोचिएन भने घण्टे परीक्षालाई सर्वोपरि ठान्ने हाम्रो साँघुरो चिन्तनमा परिवर्तन गर्ने अवसर गुम्नेछ। यो महामारीका बेलामा मात्र होइन अब हामीले यसरी राष्ट्रिय स्तरमा गरिने परीक्षाहरूबारे सोच्नुपर्ने बेला आएको छ। वर्षभरि आर्जन गरेको ज्ञानको मूल्यांकन तीन घण्टे परीक्षाले गर्नसक्छ भन्ने सोच अब बदल्ने बेला आएको छ। उच्चशिक्षामा त झन् यस्तो घण्टे परीक्षाहरूको सान्दर्भिकता त्यति छैन। यी र यस्ता जाँचहरूको सट्टा शिक्षक र विद्यालयलाई बढी जिम्मेवार बनाएर विद्यार्थीले वर्षभरि गरेको कार्यका आधारमा उनीहरूको सिकाइ उपलब्धि मापन गर्न सकिन्छ। यसकालागि शिक्षकलाई निरन्तर सहयोग र सहकार्यको जरुरी पर्छ। अहिलेको निरन्तर मूल्यांकन प्रणालीजस्तो गर्नुहोस् मात्र भनेर पुग्दैन ।
लकडाउन महिनौं जान सक्छ। के अब कानमा तेल हालेर मस्त बस्ने ? विद्यालय–विश्वविद्यालय पो खोल्न भएन तर सरोकारवालाहरुले ज्ञान र विवेकको बिर्काे त खोले हुन्छ नि !
यो महामारीले हाम्रो शिक्षण शैलीलाई पनि परिवर्तन नगरी हुन्न भन्ने सन्देश दिएको छ। अबको शिक्षण सिकाइलेकक्षाकोठामा सीमित ज्ञान निर्माणको प्रक्रियालाई भत्काउनै पर्छ। प्रभावकारी सिकाइका लागि दैनिकरूपमा विद्यालय र विश्वविद्यालय नै जान जरुरी छैन। घरमै बसेर पनि केही सिक्न सकिन्छ। यसका लागि विभिन्न स्रोत रसाधन प्रयोग गर्न सकिन्छ। विभिन्न सूचना प्रविधिका साधन प्रयोग गर्न सकिन्छ। अहिले जुम, मुडल, क्यान्भस, माइक्रोसफ्ट, गुगलजस्ता विभिन्न कम्पनीले अनलाइन कक्षा लिने साधनहरूको विकास गरेका छन्। ती साधनहरूले विद्यार्थीसँग छलफल गर्न सहयोग गर्दछन्।
प्रायः सबै देशमा अहिले घरबाटै कक्षा लिने व्यवस्था गरिएको छ। हाम्रोमा चाहिँ सरकारी निर्णयबमोजिम विद्यालय र विश्वविद्यालयहरू बन्द गरिएको छ।अहिले विभिन्न समूह बनाएर प्राध्यापक र शिक्षकले विद्यार्थीसँग छलफल चलाएको देखिन्छ। प्रविधिमैत्री शिक्षक समाजले प्रदेशस्तरमै जुमको प्रयोग गरेर महामारीमा कसरी पढाउने भनेर छलफल सुरु गरेका छन्। अनौपचारिक रूपमा पनि विभिन्न विषय शिक्षकको समूह बनाएर छलफल भएका छन्। यी सबै प्रयास संस्थागतभन्दा पनि शिक्षकहरूको आफ्नै जोडबलमा भइरहेका छन्। विश्वविद्यालयहरूमा पनि प्राध्यापकहरूको आफ्नै प्रयासमा अनलाइन छलफल र कक्षा भएका छन्। यस्ता प्रयास संस्थागत हुन जरुरी छ। अबको शिक्षणसिकाइमा प्रविधिको प्रयोग व्यापकरूपमा गर्न जरुरी छ ।
यसरी प्रविधिको प्रयोग गर्दा भुल्न नहुने केही मुद्दा छन्। पहिलो, महामारीमा विद्यार्थी, शिक्षक र अभिभावकको मानसिक स्वास्थ्य दह्रो हुन जरुरी छ। त्यसका लागि विद्यालय र विश्वविद्यालयहरूले कोर्समा दिएका विषयवस्तु पढाउनुभन्दा पहिले विद्यार्थीको मानसिक स्वास्थ्यलाई ध्यान दिन जरुरी छ। उनीहरू दिइएको पुस्तक, लेख र क्रियाकलाप गर्न मानसिकरूपमा तयारी छन् कि छैनन् ? बुझ्न जरुरी छ। यसका लागि विश्वविद्यालय र विद्यालयहरू आफ्ना विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहनुपर्छ।
शिक्षण शैली बदलौं
हाम्रो शिक्षण शैलीमा परिवर्तन हुन जरुरी छ। घोकाउने र परीक्षा पास गराउने शैलीले अब काम गर्दैन। मानवतावादी अवधारणामा आधारित विधि र शैलीको प्रयोग गर्न जरुरी छ। यो विधिले विद्यार्थीको संवेग, भावना, संज्ञान र अनुभवलाई ज्ञान निर्माणको स्रोतका रूपमा प्रयोग गर्न सहयोग गर्छ। शिक्षकहरूले के सिकाउनेभन्दा पनि विद्यार्थीले के सिक्न खोजेका छन् र कसरी सिक्न चाहन्छन् भन्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ। महामारीमा आमविद्यार्थीमा पढाइलेखाइमा ध्यान दिने मुड हुन्न। किताब र कोर्सको पढ्ने उत्प्रेरणा कमै हुन्छ। त्यसैले जबर्जस्ती त्यो पनि पढ, यो पनि पढ भनेर कचकच गर्नुहुन्न। त्यसको सट्टा आफ्ना अनुभवहरू साटासाट गर्ने, विचारहरू बनाउने र तिनीहरूलाई संगठित गर्ने र प्रसारण गर्ने काम लाउन सकिन्छ ।
यो महामारी कति लम्बिन्छ थाहा छैन। विश्वविद्यालय र विद्यालय खोलिहाल्न हतार गर्नुहुन्न। शिक्षक र विद्यार्थीको स्वास्थ्यभन्दा ठूलो कुरा केही हुन सक्दैन। यस्तो बेला पठनपाठन सुचारु गर्न वैकल्पिक उपायको खोजी गर्न जरुरी छ। यस्ता विकल्पहरूको खोजी गर्दैगर्दा केही कुरामा स्पष्ट हुन जरुरी छ। केही समय विश्वविद्यालय र विद्यालय बन्द हुँदा विद्यार्थीले केही सिकेनन् भन्ने कुरा होइन। यतिबेला विद्यार्थीले आफ्ना अभिभावकसँग बस्न पाएका छन्। त्यो राम्रो हो। एक अभिभावक भएको नाताले मलाई एक÷दुई महिना आफ्ना बच्चाहरूसँग समय बिताउन पाउनु ठूलो अवसर होजस्तो लाग्छ। यो अवसरलाई सदुपयोग गर्ने धेरै तरिका हुन सक्छन्।
बच्चाहरूको चाहना बुझेर विभिन्न क्रियाकलापमा सहभागी गराउन सकिन्छ। मेरो आफ्नै अनुभवमा स्कुलको किताबमा बच्चाहरूको रुचि कम हुन्छ। किताब पढ्नभन्दा अरू दैनिक काममा सहभागी हुन बालबालिका रमाउँछन्। जस्तै- खाना पकाउने, तरकारी केलाउने, लुगा धुने, कोठा सफा गर्ने, फूल गोड्ने र पानी हाल्ने आदि। सहरबाट गाउँ गएका बालबालिकालाई घर वरिपरिका वनस्पति, जनावर, खेतबारी, खानेकुरा, छरछिमेक र साइनो सम्बन्धबारे खोज र अभिलेखीकरण गर्न लाउन सकिन्छ। गुन्द्रुक, अचार, दही, घिउ, किनिमा तथा अन्य स्थानीय ज्ञानहरू र तिनीहरूको अर्थ तथा प्रयोगबारे बुझाउन सकिन्छ। गुन्द्री, डोको, नाम्लो, पिरा, हलो र कोदालो सबै ज्ञानका स्रोत हुन्। ठेकी, ढिकी, जाँतो र हर्पेजस्ता घरभित्रै भएका वस्तुहरूबाट भाषा, विज्ञान, गणित र समाज सिकाउन सकिन्छ। बालबालिकालाई कुनै पनि वस्तुलाई अवलोकन गर्न र आफ्नो विचार भन्न लगाउँदा मात्रै पनि ठूलो उपलब्धि हुन्छ ।
यतिबेला बालबालिका घरभित्रै बस्नुपर्ने भएकाले उनीहरूको सामाजिकीकरणमा विशेष ध्यान दिनुपर्ने हुन्छ। यसका लागि घरपरिवारका सदस्यसँग अन्तक्र्रिया गर्ने वातावरण बनाउन जरुरी छ। यसबेला अभिभावक शिक्षाको विशेष महत्व छ। निजी विद्यालयका प्रायः अभिभावक केही मात्रामा सचेत छन्। उनीहरूसँग इन्टरनेट, कम्प्युटर, किताब र अन्य स्रोत उपलब्ध हुन सक्छन्। तर, गरिब, किसान र दुर्गम क्षेत्रका अभिभावकलाई समस्या छ। उनीहरूसँग प्रविधिको अभाव हुन्छ। तर,विद्यालय र स्थानीय सरकारको सहयोगमा उनीहरूलाई पनि घरमै विभिन्न किसिमका सिकाइ क्रियाकलापमा सहभागी गराउन सकिन्छ। कथा र गीतका सुन्ने र हेर्ने किताबहरूविद्यार्थीलाई दिन सकिन्छ। मातृभाषा सिक्ने, कथा भन्ने, चित्र बनाउने, रङ भर्ने, खेल खेल्ने, र अभिभावकसँग अन्तक्र्रिया गर्ने क्रियाकलापमा विद्यार्थीलाई सहभागी गराउन सकिन्छ।
बहुसाक्षरता र आलोचनात्मक चेतको खाँचो
किताबमा दिएको कुरा पढ्न र लेख्न जान्नु र परीक्षा पास गर्नु मात्र साक्षर हुनु र शिक्षा प्राप्त गर्नु होइन। शिक्षाको दायरा फराकिलो छ। किताबमा समेटिएका विषयवस्तुले मात्र साक्षरता र शिक्षाको समग्रअर्थलाई न्याय गर्न सक्दैन। किताबे शिक्षाले ज्ञानको सीमा तोकिदिन्छ र विद्यार्थीको सिक्न सक्ने क्षमतालाई खुम्च्याइदिन्छ। सिकाइको दायरा साँघुरो बनाउँछ। यस्तो महामारीका बेला विद्यार्थीले किताबमा नसिकेका ज्ञान र सीप सिक्न सक्छन्। फिल्म र भिडियो हेरेर तथा गीत सुनेर तिनीहरूका बारेमा मौखिक रूपमा व्याख्या गर्न सक्छन्। उनीहरूले देखेका वा सुनेका घटनाबारे प्रश्न गर्न र विश्लेषण गर्न लाउन सकिन्छ। उनीहरूले अनुभव गरेका घटनाले राख्ने सामाजिक, मानवीय, आर्थिक, राजनीतिक र पर्यावरणीय अर्थबारे छलफल गराउन सकिन्छ। उत्तर खोज्नुभन्दा पहिले प्रश्न गर्न उत्प्रेरित गरौं। आफ्नो वरिपरिको वातावरण र समाजबारे बुझ्न, प्रश्न गर्न र विश्लेषण गर्न प्रेरित गरौं। यसले उनीहरूमा अलोचनात्मक चेतको विकास गर्दछ।
आलोचनात्मक चेत शिक्षाको मुख्य खम्बा हो। आलोचनात्मक चेतबिनाको शिक्षाले समतामूलक समाजको निर्माण गर्न सक्दैन। आलोचनात्मक चेतबिनाको शिक्षाले ‘भक्त’हरू मात्र उत्पादन गर्छ तर सच्चा ‘नागरिक’ निर्माणमा सहयोग गर्दैन। यस्तो महामारीका बेलामा त झन् यसको महत्व बढी हुन्छ। महामारीमा सूचनाको बाढी नै आएको छ। सामाजिक सञ्जालमा आएका सूचना सबै सही हुँदैनन्। गाउँघर सहरबजार गलत हल्लाले आतंकित हुन सक्छन्। धेरै प्राध्यापक, शिक्षक, कर्मचारी र नागरिकले गलत सूचना पनि सामाजिक सञ्जालमा सेयर गर्ने मात्र होइन त्यही सूचनाका आधारमा आफ्ना धारणा पनि बनाउने गरेको पाइन्छ। यस्ता सूचनाले अर्को महामारी निम्त्याउँछ। यसको मतलब यो हो कि हाम्रो शिक्षाले सूचना विश्लेषण गर्ने र तिनीहरूलाई प्रश्न गर्ने संस्कृतिको विकास गर्न सकिरहेको छैन। अबको हाम्रो ध्यान त्यतातिर जानुपर्ने देखिन्छ ।
विश्वविद्यालयहरूको भूमिका
यतिबेला विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण देखिन्छ। माथि उल्लेख गरिए जस्तो वैकल्पिक ज्ञान र विधिहरूको निर्माण गर्ने मुख्य काम विश्वविद्यालयहरूको हो। आलोचनात्मक चेत भएको नागरिक (जो जुनसुकै पेसामा होस्),उत्पादन गर्ने काम विश्वविद्यालयहरूको हो। विद्यालय र समाज जोड्न, अभिभावक र विद्यार्थीहरूमा आलोचनात्मक चेत बढाउन र आफ्नो ज्ञानलाई समतामूलक समाज निर्माण गर्न सक्ने बनाउने शिक्षक उत्पादन गर्न विश्वविद्यालयहरूले भूमिका खेल्नुपर्छ। यस्ता सीपहरूले शिक्षामा नयाँ चिन्तन ल्याउन सहयोग गर्छ।
महामारीको बेलामा त झन् बढी आवश्यक छ। यसका लागि विश्वविद्यलायहरूले अब व्यापकरूपमा अनुसन्धान र विद्यालयहरूलाई सहयोग गर्ने कुरामाजोड दिन जरुरी छ। महामारीका बेला शिक्षक र विद्यार्थीहरूको मानसिक स्वास्थ्य कस्तो छ र आफ्ना बालबालिकाहरूसँग कसरी समय बिताइरहेका छन् भन्ने कुराको खोजी गर्नुपर्छ। यसले अभिभावक शिक्षा, होम स्कुलिङ र घरमा उपलब्ध स्रोतसाधनहरूको पहिचान गर्न र कुन बालबालिका तथा अभिभावकलाई कस्तो सहयोग चाहिन्छ भन्ने कुरा छुट्याउन सहयोग पुग्छ।
यसका साथै यो महामारीले बालबालिकाहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक र पारिवारिक जीवनमा पारेको असर र उनीहरूको आवश्यकताबारे तथ्य संकलन गर्न जरुरी छ। मुख्य कुरा यस्तो महामारीको बेलामा शिक्षकहरूले के चाहन्छन् र विद्यालयहरूमा केकस्ता स्रोतसाधन उपलब्ध छन् भन्ने अनुसन्धान गरेर त्यसको आधारमा शिक्षकहरूलाई सहयोग गर्ने काम विश्वविद्यालयहरूले गर्न सक्छन्। वैकल्पिक विधिहरूको खोजी र प्रयोगमा राज्य, विश्वविद्यालय र विद्यालयहरूबीच सहकार्य हुन जरुरी छ। यसका लागि राज्यले विश्वविद्यालयहरूलाई सक्रिय बनाउन जरुरी छ। हामीले उत्पादन गरेको ज्ञान, विधि र प्रविधिहरूअरू देशहरूलाई पनि उपयोगी हुन सक्छन् ।
@Premphyakl त्रिभुवन विश्वविद्यालयको अंग्रेजी शिक्षाशास्त्र केन्द्रीय विभागमा प्राध्यापन गर्छन् ।