म एक्लो गेस्ट

म एक्लो गेस्ट

लेकसाइडमा म बसिरहेको होटलको अगाडि राताम्मे फुलेको रुख छ। त्यहाँ हरदिन चरा आउँछन्, चिर्बिर चिर्बिर गर्दै गुन्गुनाउँछन्। तिनलाई देखेपछि म विप्लव प्रतीकको अष्टमानको पसलमा गुँड लगाउने गौँथली सम्झेर सुक्सुकाउँछु। उनीहरू मलाई हेर्दै करुणाभाव सिञ्चित गर्छन्। म हरेक बिहान त्यही चिर्बिरे भावसँगै उठ्छु। जीउ तन्काउन पाँच तलामाथिको छतमा पुग्छु। होटलमा मबाहेक अन्य गेस्ट छैनन्। एक्लो गेस्ट पालेको पाँच तले होटल पनि मजस्तै एक्लो छ। 

छतबाट यसो हेर्‍यो, कस्तो उराठलाग्दो देखिन्छन् सहरका निर्जन गल्लीहरू। मानिसहरू बाल्कोनीबाट यताउता नियाल्छन् तर म उनीहरूको अनुहारमा रङ देख्दिनँ। बेलाबेला सुरक्षाकर्मी सडकमा सचेतनाको सन्देश दिँदै हुइँकिन्छन्। उसबेला आफैँलाई एकपटक हेर्छु, विचरण गर्छु, पुराना गल्ती, दुःख र नराम्रा भावनालाई पखाल्छु। सबै भएर पनि कोही नभएजस्तो। आफ्नो प्यारो सामान छुन पनि डराउनुपर्ने, माया गर्ने मान्छेलाई भेट्न वा प्रेमले अँगाल्न अघि सरेका हात झस्कँदै पछाडि हटाउनुपर्ने। हरे, यो कस्तो समय आइलाग्यो ? यस्तै कुराहरू खेलाउँदै म तल झर्छु र कोठामा थुनिन्छु। 

मलाई मनपर्ने सहरमध्ये एक हो, पोखरा। नगरभित्र जहाँ बसे पनि हिमाल ताल र हरियाली प्रकृतिको रसस्वादन गर्न पाइन्छ। माटोको गन्ध अनुभूत गर्न पाइन्छ र एकै क्षणको लागि सही, आफैंलाई तिनमा लीन गराउन पाइन्छ। तर, दुई सातादेखि म बेग्लै मनोदशामा छु, पोखरामा। पहिलेजस्तो कफी सप, स्निग्ध बार र रेस्टुरेस्ट खुलेका छैनन्। त्यस्तो चहलपहल पनि छैन। शून्य फैलिँदो छ। ताल, हिमाल र हरियाली पनि कतै बिलाएजस्तो लाग्छ जसरी हामी सबैजना बिलाएर कोरोनासँग लडिरहेका छौं। फेरि घरमा रहेर आफ्नो व्यक्तिगत स्वास्थ्य र सरसफाइमा ध्यान दिनुको विकल्प छँदा पनि त छैन। 

मलाई हेर्दै मेरा पुस्तक, केही औषधिका डिब्बा, आस्थामाको इन्हेलर पिल्पिलाउँछन्। ल्यापटप बिग्रेर थन्केको पनि चार दिन भयो। यसको व्यथा बेग्लै छ, मेरो मामुको जस्तो। जसरी मामु इन्स्टाग्राममा हरेक दिन भिडियो च्याट गर्दा प्रेमले मलाई चुम्बन गर्नुहुन्छ। सायद ल्यापटप अलग्गिएको पीडाले, प्रेमको अभावले मसँग रिसाइरहेको होला। तर, मेरो बाबाको जोक गर्ने शैलीले मलाई दुःखी हुन दिँदैन। सोच्छु, मनमनै र आफैंलाई भन्छु, ‘यत्तिका वर्षमा तँ पैलो पटक घर मिस गर्दैछस् चे, आफ्नो घर ।’ 

होटलमा मबाहेक अन्य गेस्ट छैनन्। एक्लो गेस्ट पालेको पाँच तले होटल पनि मजस्तै एक्लो छ। 

यस्तैमा आँखा रसाउँछन्। फेरी भँगेरा, गौंथली र सारौं जस्ता चरा झ्यालमा आएर मलाई भावुक बनाइदिन्छन्। तर, यो समय म मुस्कुराउँछु। आफूसँग भएको खानेकुरा टुक्रा पारेर बाल्कोनीमा चारा हाल्दिन्छु। उनीहरू प्रेमले कस्तो मीठोसँग बाडेर खान्छन् र उडान भर्छन्। सायद ती आफ्ना घर जाँदा हुन्। 

डेढ वर्षदेखि म नाट्य लेखन, निर्देशन र अभिनयको कामले धेरै स्थानमा डुल्दै हिँडेकाले सबै ठाउँ आफ्नो घरजस्तै लाग्छ। किनभने, म यी समय उडी हिँड्ने चरीजस्तो भएँ। कहिले कसले फोन गर्नुहुन्छ, कहिले कसले। खै र, एक्लो हुन दिँदैन समय। हुन त म एक्लोपन मन पराउने मान्छे हो। आफूलाई त्यति चाँडो हतोत्साहित हुन दिन्नँ। कोरोना सङ्क्रमणको जोखिमबाट बच्न जसरी सरकारले लकडाउनको घोषणा गर्‍यो, तर सँगै केही थान मानिस यो महामारीको दुःखद अवस्थालाई अवसर मानी महाभोजका रूपमा बडो उत्साहसाथ रसस्वादन गर्न तम्सिए। तबदेखि म बबुरोको प्रेसर बढ्न थालेको छ। म फेसबुक चलाउन्नँ, ट्विटर र इन्स्टाग्राम साथीसँग जोडिन र सूचित हुन प्रयोग गर्छु। ट्विटरमा यसो के भइरहेछ भनेर हेर्‍यो, बडो घिन लागेर आँउछ। मन कटक्क कुँडिन्छ, शिथिल भएको शरीर पनि एक्कासि तातो भएर रन्किन्छ। 

हाम्रा बुद्धिजीवी नेता वा ठूलाबडा भनाउँदाको चर्तिकला देखेर तापक्रम चुलिन्छ। मलाई जस्तो कति युवाहरूलाई हुँदो हो है ? म आफ्नो काम गर्छु, जीविका जसोतसो चलिराछ। आफ्नो जमिनप्रति कृतज्ञ छु, जे होस् म यहीँ छु। विदेशबाट कालजस्तो नदीमा हाम फालेर घर पुग्न सजिलो छ र ? परिवारसँग माया साट्न र अलिअलि जोहो गरेको रकमले गाँस र बासको बन्दोबस्त गर्न भौंतारिएका मनहरूलाई कस्तो हुँदो हो ? सोचेर चक्कर लाग्छ। 

धेरै कविहरुले भन्ने लाइन छ, देश दुखेको छ। शासकहरुले अहं र शक्तिको आडमा सीमारेखा कोरिदिए तर उनीहरूले यो बिर्से कि मनको कुनै सीमारेखा हुँदैन। मन देशसँग जोडिएको हुन्छ र त्यो मन जनतासँग हुन्छ, न कि शासकसँग। बरु तिनीहरू कस्तो अजीवको धातुले बनेका हुँदा हुन्, सोचिबस्छु। यही कुरा मैले बाहिर भनेँ भने उनीहरूका लागि म पागल ठहरिन्छु। यस्तो अवस्थामा कसलाई झोँक नचल्ला ? 

मन मजदुरसँग हुन्छ भन्ने कुरा उनीहरूले पोलिखाए। हात्तीको देखाउने दाराझैँ उनीहरूको वक्तव्य वा लेख हेर्दा जो कसैलाई सनक चल्नु अनौठो कुरा हो र ? तर, हामी यिनका कर्तुतलाई नियति सम्झेर हँसीमजाकको विषय बनाउँछौं। हाम्रो विवेक कहाँ गयो खै ? एक छाक टार्न नसकेर भोकले पेट बटारिएका जनताको आँसु, अस्पतालमा भोग्नुपरेको अवहेलना, गेटबाटै फर्किइनुको पीडा कसले बुझिदिने खै ? 

घाटमा लास जलाउन पैसा नभएर ती अबोध आँखाबाट निस्केको आँसु अहिले राज्यका लागि अनावश्यक भावनाको विषय बनेको छ। थुक्क, हामी नित्सेले ‘द गड इज डेड’ भनेझैँ सरकारलाई ‘यु आर डेड’ भन्ने साहस कहिले राख्छौं होला ? तिमीहरूको नालायकीपनले हद नाघ्यो। जाऊ र बिर्सेर पनि तिम्रो यो अनुहार देखाउन नफर्क, कहिले भन्छौं ? हामी जो जो भन्ने ठाउँमा छौं नि, उल्टै हामी यस्ता विषयलाई कोट्याए जस्तो मात्र गर्छौं किनकि हामीलाई कार्यक्रम बनाउनु छ। आफ्नो सर्कल, फ्यान र संसारलाई देखाउनु छ, ‘यी हेर, मैले यसो गरेँ ।’ 
माफ गर्नुहोला, एकाध लेखक, प्रस्तोता, नागरिक र पत्रकारहरूले बाहेक तपाईंहरूले केही बखार्नुभएको छैन बरु झन् बलेको आगोको घिउ थपिरहनुभएको छ। 

राजनीतिक दल जे जति छन्, तिनीहरूलाई स्वीकार्नु नै हाम्रो नियति हो भन्ने ठहरिँदै आएको छ। भोकभोकै पिल्सिनु, कुनै विचारलाई जबर्जस्ती स्वीकार्नु, परिवर्तनको नाममा मारिनु, आन्दोलनमा अग्रपंक्तिमा उभिनु, भ्रष्टाचार गरिरहेको मौन हेरिबस्नु, प्राकृतिक डाँडा छटाहरू मासिइरहँदा नबोल्नु, यस्तै हराजौँ कुरा हाम्रो नियतिको रूपमा स्थापित भइदियो। वर्षौंदेखि हाम्रा अभिभावकले मानेको विचार मानिदिनुपर्ने, प्रगतिशील कुरा गरे पाप लाग्छ जस्तो गर्नु पनि। हाम्रो पाप, हाम्रो तुच्छ मानसिकता हो। हामीले प्रश्न गर्ने संस्कारको हत्या गर्‍यौँ। विपरीत विचारमाथि जाइलाग्ने, थुक्ने वा निन्दा गर्नमा हामी अग्रसर भयौँ। आफ्नै परिवार, समाज र राष्ट्रको स्वरूप खुइल्याउन लागिपर्नेलाई भोट गरेर पदमा पुर्‍यायौँ। मान्छे मार्नु नराम्रो भनी वकालत गरिरह्यौँ तर सँगै हामी आफंै हरेक सेकेन्ड मरिरहेको कुरा बिर्सियौँ। 

अहिले कोरोनाको महामारी र सरकारको यस्तो हर्कतले हाम्रो चेत खुल्दै छ। सरकार लामो समयदेखि व्यवस्था, सरकारी कर्मचारी र संस्कारले होइन, दलाल र केही थान भ्रष्टले चलाएको रहेछ भन्ने प्रस्ट भयो। यो नर्बिसौँ कि, यो हाम्रो नियति होइन। हामीलाई सहने वा लादिने बानी परेकाले हो। अब हामी सबैले आँखा खोल्नुपर्छ। वुहानबाट नेपाली उद्धार गर्न सक्ने सरकार, विदेशी नागरिकलाई कुनाकाप्चाबाट थुती देश फर्काउन सक्ने सरकार भारतमा बिचल्लीमा परेका नागरिकहरूलाई नेपाल आउने वातावरण मिलाएर स्वास्थ्य सेवा दिन सक्दैनथ्यो होला र ? महाकालीमा इन्द्रसिंह खत्रीलाई अन्डरवेयर मात्र लाएको अवस्थामा प्रहरीले हात समातेर तानिरहेको दृश्य हेर्दा कस्को मन रुँदैन र ? 

स्वदेश आउनु छ, त्यो पनि नाङ्गै र भुतुङ्गै। कसरी भ्रष्टाचारीलाई उन्मुक्ति दिने भनेर सोच्ने तुच्छ दिमागी सरकार सञ्चालकले यो सोच्न सक्दैनन् होला र ? कसरी नेपाली जनताको जीजीविषा र समृद्धिका लागि रचनात्मक र प्रगतिशील हुन सकिन्छ ? कसरी विश्वले भोगिरहेको महामारीबाट उन्मुक्त हुन सकिन्छ, कसले सोच्ने ? गल्ती हाम्रै हो। हामीले ज्ञान, बुद्धि र विवेक भएका नेता भन्दा पनि पैसा, बल र गुण्डा नाइकेहरूलाई सरकारसम्म पुर्‍यायौँ। अहिले यसैको प्रतिफल भोग्दै छौँ। हेरौँ न, अस्पताल विद्यालय लगायतका सबै सामाजिक संस्था नेताका चाकरीबाजको कब्जामा छन्। उसो हुन्नथ्यो त कयौँ मानिस शिक्षा र उपचारका लागि घरबारी बेच्नुपर्ने अवस्थामा पुग्दैन थिए। समयसँगै हामीले प्रतिवाद गर्दै बोल्न सुरु गर्नुपर्छ। हाम्रो जीवन, परिवेश वा वर्तमान राजनैतिक व्यवस्थालाई यसै गरी स्वीकार्नु हाम्रो नियति होइन। यो हामी आफैंले सृजना गरेको दासत्वको उपज हो। 

यस्तै तर्कना मनमा चलिरहन्छ। भित्रभित्रै वर्तमानले चिथोर्छ। यद्यपि वर्तमान भनेको हामी सबै सुसूचित हुँदै यो महामारीसँग लड्नु हो। म पनि तपाईंहरू जस्तै घरभित्रै बसेर रचनात्मक काम गर्ने कोसिस गरिरहेको छु। बन्दाबन्दी डायरी शीर्षकमा धेरै स्थानका साथीले पठाएका फोटो मिलाउँदै बस्छु। डोरिस डे, क्याट स्टिभिन्स, एल्भिस, जोन लेनन, जोन डेनवर्ग, केनी रेज्रेसको संगीत सुन्छु, सँगै भारतीय शास्त्रीय संगीत पनि। लेखिरहेको चलचित्रलाई कोट्याउँछु। कविता पढ्छु, किनकि तिनले मन हलुका बनाउँछन्। केही समय युकेलिली बजाउँछु, दुई हप्तादेखि सिक्दै छु। कला तथा साहित्यका पुस्तक पढ्छु। 

समयसँगै विस्तारै झ्यालबाट पहेँला किरणले चियाउँछन्, म ती किरणलाई पछ्याउँदै छतमा उक्लिन्छु। बादल लोभी नभएका दिने हिमाल मलाई हेरेर मुस्कुराउँछ, म हिमाललाई। फेवाताल पहेँला किरणले क्यानभासको सुन्दर पेन्टिङजस्तै देखिन्छ। सँगैको जंगल प्रेमिल हुँदै उभिन्छ पनि। बिस्तारै घाम अर्को दुनियाँ उजेलो पार्न बिदा हुन्छ। चराहरू आफ्नो वेगसँगै हुल बाँधेर उड्छन्। उनीहरूको उडान, फेरिँदै गरेको पहेँलो किरण र चिसोसँगै म पनि आफ्नो गुँडतिर झर्छु। यो महामारी हाम्रो लगायत सबै देशले भोगिरहेका छन्। हजारौँले ज्यान गुमाइसकेका छन्, लाखौँ संक्रमित पनि। हामी नआत्तिऔँ, सबै घरभित्रै बसौँ। सामाजिक दूरी कायम गरौँ। रचनात्मक क्रियाकलापमा सहभागी बनौँ। स्वास्थ्यको ख्याल गरौँ। जनावर, पक्षी वा छिमेकमा समस्यामा परेका मानिसलाई सहयोग गरौँ। कोरोना संक्रमित भएर पनि निको भएका हजारौँ छन्, आत्मविश्वास कायम राखौँ। हामीले पक्कै जित्नेछौँ। सरकारसँगको हिसाबकिताब महामारीको बिदाइसँगै गरौँला। माक्र्सवादीको सरकार छ। तर, मास्क लाउनु बोली बन्द हुनु हैन। जय होस्। सबैको मंगल होस्। 

@CheeShanka


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.