विज्ञान मर्दै छ कि ?
जङ्गे पिल्लर सास फेर्न नसकी जाँदै छ उद्यानमा
डाँफे एक निमोनियासँग लडी लौ छट्पटाएछ कि ?
बारीको डिलमाथि एकछिनमै नौलाख तारा झरे
सल्लाका रुख अस्पताल तिर पो भर्ना हुँदै छन् अरे
फक्रिन्छन् कसरी र वन्य लहरा आक्रान्त आक्रान्तमा
कोठाभित्र हिमाल चोर जसरी लुक्दै छ एकान्तमा ।।
लागी घातक रोग जङ्गलहरू रोए कराए कति
खोक्दाखेरि बतासले शहरमा बाजा बजाए कति
ढोकाले म त जान्न बाहिर भन्यो के झ्याल खोल्छौ भन
पृथ्वी नै घरभित्र बस्दछ अहो आग्लो लगाईकन ।।
हे कीटाणु यताउता भ्रमणले को को सकिस् टोलको
माग्दै छन् भिख चर्च , मन्दिरहरू नाथे सिटामोलको
उल्टो मार्ग हिँडेछ सृष्टि किन हो जन्मेन चल्ला कतै
त्यो धौलागिरि टाइफाइड भई मर्ने छ हल्ला कतै ।।
कोही भेट्न नआउनू घरघरै रारा र फेवाहरू
आएको छ ज्वरो भनीकन सुते सारा परेवाहरू
कैदी झैँ थुनिएछ नाइल नदी आउन्न फर्की सुख
हाच्छ्यूँ गर्दछ है वसन्त ऋतुले छोपेर आफ्नो मुख ।।
सुन्दैनन् अब ता कुनै बगरले माछाहरूको ध्वनि
खै के अर्थ छ सभ्यता यदि मरे बाँचेर पैसा पनि
के नै बन्दुकले गर्यो भुवननमा जीवाणु गर्दै छ कि ?
रोगीको उपचार गर्न नसकी विज्ञान मर्दै छ कि ? ।।