क्वारेन्टिनमा किन बस्दैनन् मानिसहरु ?
आइसोलेसनमा बस्न नरुचाउनुको मूल कारण एक्लोपनाको भय हो । परिवारको कोही मानिस बिरामी परे अस्पतालमा शुभचिन्तकको भीड नै लाग्छ । नाजुक स्वास्थ्य सेवा भएका ठाउँमा राज्यले दिन नसकेको साथ र विश्वास शुभचिन्तकले दिन्छन्।
भारतको मध्यप्रदेशको इन्डोर क्षेत्रमा हालै भएको एउटा घटनाले सबैलाई चकित बनायो । सामाजिक सञ्जालमा त्यो दृश्य देख्ने जोकोहीले पनि आश्चर्य र आक्रोश मिसिएको प्रतिक्रिया जनाए । स्थानीय एउटा बस्तीमा कोरोना भाइरसको परीक्षण गर्न गएका पाँच जना स्वास्थ्यकर्मीलाई त्यहाँका जनताले हातमा लाठी लिएर लघारेका थिए । कोभिड–१९ को प्रतिरोध गरिरहेका स्वास्थ्यकर्मीमाथि हमला गर्नु कानुनविपरीत मात्र होइन, बरु अनैतिक समेत हो।
सन् १८९७ मा फैलिएको प्लेगको महामारीको बेला तत्कालीन बेलायती उपनिवेशवादी सरकारले भारतीय जनतालाई क्वारेन्टिनमा र आइसोलेसनमा राख्न खोज्दा त्यतिबेला पनि व्यापक असन्तोष फैलिएको थियो । त्यतिबेला मुम्बई, खेडा, दिल्ली र कोलकोत्तामा हिंसा भड्किएको थियो । भयले मानिसहरू आ–आफना गाउँमा भागेका थिए।
डेभिड आर्नोल्डले त्यतिबेला सन् १८५७ जस्तो अर्को विद्रोहको चेतावनी दिँदै भारतीयहरूले बोकेका प्लाकार्डबारे लेखेका छन् । त्यस्तै त्यही बेला मुम्बईको अर्थर रोड अस्पतालमा एउटा आक्रोशित भीडले हमला गरेको थियो । आइसोलेसनमा राखिएकी एक जना बिरामी महिलाको निधन भएपछि उनीहरूले अस्पतालमा तोडफोड गरेका थिए।
क्वारेन्टिन र आइसोलेसनको विरोधमा सन् १८९७ मा भएको त्यो प्रतिरोधले बेलायती अधिकारीहरूलाई आफ्नो निर्णयबाट हात झिक्न मनग्य बहाना दिएको थियो । तर, भारतीय जनता क्वारेन्टिन र आइसोलेसनमा बस्न के कारणले मानेनन्, त्यसको भेउ पाउन बेलायती अधिकारीहरूले त्यतिबेला सकेका थिएनन् । के विभिन्न जात–जातिका मानिसलाई एकै अस्पतालभित्र कैद बनाइने भयले भारतीयहरूले त्यसरी बस्न नमानेका थिए ? भारतीयहरू आज पनि पुरुष चिकित्सकले महिलाको स्वास्थ्य जाँच गरेको सहज रुपमा लिँदैनन् । के त्यतिबेला क्वारेन्टिन वा आइसोलेसनको विरोध गर्नुमा त्यस्तै कुनै लैंगिक कारण जिम्मेवार थियो ?
उतिबेला भारतका कुलिन वर्ग पनि क्वारेन्टिन र आइसोलेसनको पक्षमा थिएनन् । क्वारेन्टिनमा बसेका कुलीन वर्गले सामान्य मानिस सरह जीवनयापन गर्नुपथ्र्यो जो उनीहरूको कुलीन अहंले दिँदैनथ्यो । उनीहरू पनि विभेदको सामना गरेर बस्नुपथ्र्यो । त्यसकारण भारतीय राजा र सामन्तहरूले क्वारेन्टिन र आइसोलेसनको विरोधमा उठेको आवाजमा थप साथ दिए । धनी व्यापारीहरू र पढेलेखेका मानिसहरू पनि क्वारेन्टिनबाट असहज मान्थे किनभने रेल स्टेसनहरूमा उनीहरूलाई पनि अन्य साधारण मानिसजस्तै स्वास्थ्य जाँच गरिन्थ्यो।
इतिहास
बेलायती अधिकारीहरूले विगतको नजीरका आधारमा त्यतिबेला भारतीय जनताको तर्फबाट क्वारेन्टिन र आइसोलेसन अस्वीकार गर्ने पूर्वानुमान गर्न सक्थे । तर, पुस्तौं पुस्ताअघिको घटना उनीहरूलाई पनि सायद थाहा थिएन । क्वारेन्टिनको इतिहास खोज्दै जाँदा हामी चौधौं शताब्दीमा पुग्छौं । क्वारेन्टिनको अभ्यास सबभन्दा पहिले युरोपेली बन्दरगाहहरूमा गरिएको थियो । जहाजीहरूले परदेशबाट प्लेग रोग भित्र्याएको भन्दै प्लेगको महामारीले उचाइ लिंदै गर्दा क्वारेन्टिन लागू गरिएको थियो । सम्भवतः यसको सबभन्दा पहिलो अभ्यास भने इटालीको भेनिस सहरमा भएको थियो । ‘क्वारेन्टिन’ शब्द नै खासमा इटालियन भाषाबाट आएको हो।
त्यतिबेला पनि लामो समुद्री यात्राबाट फर्केका जहाजीहरूलाई क्वारेन्टिनमा राख्दा सुरक्षाकर्मीहरूलाई झुक्याएर ग्रामीण भेगतिर भाग्थे । त्यसरी भागेका जहाजीबाट नै अरु मानिसमा रोग संक्रमण हुन्थ्यो । अनि महामारीको रुपमा लिन्थ्यो । फलतः क्वारेन्टिनबाट रोग रोकथामको प्रयास निरर्थक हुन्थ्यो।
क्वारेन्टिन राख्दा प्रतिरोध गर्ने क्रम शताब्दिऔंसम्म चालू रह्यो । थेम्स इस्टुरी नामको व्यापारिक पानीजहाजका कप्तानहरूले सन् १८२५ को क्वारेन्टिन ऐन र सन् १८७५ को जनस्वास्थ्य ऐन लागू गर्न दत्तचित्त बेलायती अधिकारीहरूलाई ढाँट्दा बेलायतमा महामारी फैलिएको थियो । सन् १८३० को दशकमा इटालीको सर्दिनिया टापुमा हैजा फैलिनबाट रोक्न बन्दरगाहमा सशस्त्र सेना नै परिचालन गर्नुपरेको थियो।
न्युयोर्कमा पहेँलो ज्वरोको महामारी फैलिएपछि क्वारेन्टिनका अधिकारीहरूले सेनाले जस्तै लुगा लगाएर सडकमा हिँड्डुल गर्थे । महामारी फैलिन नदिन ती अधिकारीहरूलाई सेनालाई जत्तिकै अधिकार दिइएको थियो । सन् १८९२, नोभेम्बर ५ को ‘द टाइम्स लिडर’को एउटा समाचारमा सरकारी अधिकारीहरूको बढ्दो चेतावनी र दबाबका कारण सर्वसाधारण जनता आत्तिने गरेको कुरा लेखिएको छ ।
यी सबै आरोह–अवरोहबीच क्वारेन्टिन र आइसोलेसनमा राख्ने चलन आज पनि चलेकै छ । दशकौं दशकको प्रयोगले यो प्रक्रिया सामान्य बन्दै गएको छ । उन्नाइसौं शताब्दीका सुरु सुरुका दशकसम्म धेरै युरोपेली देशहरूमा क्वारेन्टिनको विरोधमा झडपहरू समेत हुने गथ्र्यो । हैजाको महामारी रोकथाम गर्न मानिसहरूलाई क्वारेन्टिनमा राख्न खोज्दा प्रतिरोध हुन्थ्यो । समयान्तरमा क्वारेन्टिनको प्रतिरोध गर्ने क्रम कम हुँदै गयो । तर, प्रतिरोधको क्रम पूर्ण रुपमा बन्द भने भएन । कहीँ न कहीँ प्रतिरोधको क्रम चालु रह्यो । सन् १८६० सम्ममा बेलायतमा ७५० भन्दा बढी आइसोलेसन अस्पतालहरू बनिसकेका थिए । तथापि क्वारेन्टिनप्रति मानिसको विकर्षण बाँकी नै थियो। सन् १८९२ मा इटालीको भेनिस सहरमा एउटा सम्मेलन भयो । उक्त सम्मेलनले महामारीजन्य रोगको रोकथामका लागि क्वारेन्टिनमा राख्ने बेलायती तरिका प्रभावकारी भएको स्वीका¥यो । टर्कीको स्कुटारी युद्धमैदानमा विश्वविख्यात फ्लोरेन्स नाइटिङ्गलको बिरामीलाई अलग राख्ने तरिकाको लोकप्रियताको कारण पनि युरोपेली देशहरूले यो तरिका स्वीकार्दै गए।
सामाजिक कारण
क्वारेन्टिनको प्रतिरोध गर्नुको कारण अवधि धेरै लामो भएर मात्र हो ? विज्ञान प्रविधिको विकासका कारण आज हामी सबै रोगको संक्रमण चक्रबारे सहजै थाहा पाउन सक्ने भएका छौँ । तर, पुरानो जमानामा क्वारेन्टिनको अवधि ४० दिन थियो । ४० दिन नै किन राखियो भन्ने कारण भने कसैलाई थाहा छैन। के त्यो अवधिकोही अनुभवी जहाजीको अनुभवको आधारमा तय गरिएको थियो ? वा जुडायन मरुभूमिमा ४० दिनसम्म जिसस क्राइस्टले राक्षससँग लडेको हुनाले क्वारेन्टिनको अवधि पनि ४० दिन तय गरिएको थियो ? अथवा ग्रीस दार्शनिक पाइथागोरसको चार अंकसँगको आसक्तिसँग त्यो ४० दिनको कुनै सम्बन्ध छ ?
पश्चिमको अनुभव त यस्तो छ भने भारतको इन्डोर वा जहाँ कहीँ पनि क्वारेन्टिनको प्रतिरोधको सम्भावनालाई असम्भव मान्न सकिन्न । तथापि भारतजस्तो देशमा क्वारेन्टिन वा आइसोलेसनप्रति आक्रोश, भय र आशंका अझ बढी हुनु स्वाभाविक हो किनभने युरोपमा जति भारतका जनता यस्ता अभ्यासमा अभ्यस्त भइसकेका छैनन् । आजको जमानामा जातभात वा लिंगको कारण क्वारेन्टिनमा मानिस बस्न नमान्ने होइन । मलाई लाग्छ, सन् १८९७ मा पनि ती कारणले भारतमा क्वारेन्टिनको प्रतिरोध गरेका थिएनन्।
आइसोलेसनमा मानिस बस्न नरुचाउनुको मूल कारण मानिसमा एक्लोपनाको भय हो । भारतमा गम्भीर खालको कुनै पनि बिरामी कहिल्यै पनि एक जना व्यक्तिको विषय बन्ने गर्दैन । परिवार र छरछिमेकको पनि त्यतिबेला निकै खाँचो र साथ चाहिएको हुन्छ । अनि बिरामी मानिस त्यस्तो बेला ती सबैबाट अलग बस्नु भनेको तनावपूर्ण वा चिन्ताको विषय बन्न सक्छ।
परिवारको कोही मानिस बिरामी परे भारतजस्तो देशमा अस्पतालमा आफन्त र परिवारको भीड नै लाग्ने गर्छ । यसको एउटै कारण त त्यहाँको स्वास्थ्य सेवाको नाजुक अवस्था हो । राज्यले दिन नसकेको साथ र विश्वास आफन्त र परिवारजनले मात्र दिन सक्छ।
त्यसको अर्थ के इन्डोर वा संसारको कुनै पनि देशमा कोभिड–१९ महामारीविरुद्ध अग्रमोर्चामा लडिरहेका स्वास्थ्यकर्मीहरूमाथि भौतिक हमला गर्नु उचित हो ? क्वारेन्टिनप्रतिको सन्देह पछाडि सामाजिक–ऐतिहासिक पृष्ठभूमि हामी इतिहासको पाना पल्टाउँदा बुझ्न सक्छौँ । तर, स्वास्थ्यकर्मीमाथि भौतिक हमलालाई भने कुनै पनि तर्कका आधारमा सदर गर्न भने सकिन्न।
(दिपंकर गुप्ता भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक हुन् ।
(आइएनबाट नीरज लवजूको उल्था)