लकडाउनमा सल्बलाउँदै तस्कर, सामुदायिक वनका खयर काटेर सखाप

लकडाउनमा सल्बलाउँदै तस्कर, सामुदायिक वनका खयर काटेर सखाप

मुलपानी (धादिङ) : कोरोना भाइरसको संक्रमण फैलिन नदिनको लागि देशव्यापीरुपमा लकडाउन गरिएको छ । तर यही डकडाउनको मौका छोपेर वन पसेका काठ तस्करले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ३ (साविकको मुलपानी गाविस वडा नं ६ कुपिण्डे) को माता जलेश्वरी सामुदायिक वनभित्र खयरको रुख सखाप पारेका छन् ।

सामुदायिक वन फडानी भएको सूचनाका आधारमा स्थलगत अनुगमनमा पुगेको डिभिजन वन कार्यालयको टोलीले  जाँच मचुल्का गर्दा अवैधानिक रुपमा काटिएका बहुमुल्य खयरका २६ वटा रुखका ठुटा फेला फारेको छ । 

रुख काट्नको लागि डिभिजन वन कार्यालय धादिङले इजाजत दिएको थिएन । करिब ६ सय ६९ क्युफिट खयरका काठ वन कार्यालयको टोलीले नियन्त्रणमा लिएको छ । स्थानीयबासी शिव गुभाजूसहित १५ जनाले गत मंसिर १७ गते आफ्नो लालपुर्जामा भएको जग्गामा रहेको खयरको रुख काट्न अनुमति मागेका थिए । तत्पश्चात सबै प्रक्रिया पुरा गरी डिभिजन वन कार्यलय धादिङल उनीहरुलाई १ सय ८४ वटा रुखमा टाँचा लगाइ कटानको अनुमति दिएको थियो । जसमध्ये १ सय ७४ वटा रुखहरु कटान भइ राजश्व तिरेर बेचबिखन समेत भइसक्दा आवादी जग्गाकै छेउछाउमा रहेको सामुदायिक वनको जग्गामा रहेको खयरका रुखहरु पनि काटिएको भेटिएको हो । 

डिभिजन वन कार्यलय धादिङका प्रमुख जीवनाथ पौडेलले भने, 'नम्बरी जग्गाको जम्मा १० रुख मात्रै काट्न बाँकी छ, १ सय ७४ वटा रुख काटेर करिब १९०० क्युफिट काठ प्रक्रिया पूरा गरेर ओसार पसार समेत भइसकेको थियो । अहिले बरामद भएको काठजति सबै सामुदायिक वनको हो ।'

सामुदायिक वनमा खयर रुख काटिएको विषयमा भने वन उपभोक्ता समितिकै कुराहरु बाझिएको छ । उपभोक्ता समितिका अध्यक्ष बहादुर बानियाले आवादी क्षेत्रका रुख काट्ने ठेकेदारलाई आवादी नजिकै वनमा पहिरोले ढलाएका ६ वटा रुख मात्रै काट्न मौखिम अनुमति दिएको बताए । उनले भने, 'सचिव र म गएर ६ वटा रुख देखाइ दिएका हौँ, पछि त धेरैवटा रुख पो काटेछन् ।'

यता उपभोक्ता समितिका सचिव गणेश बहादुर अधिकारीले भने, 'आवादी क्षेत्रमा मात्रै रुख काटिएको थाहा भएको तर वनक्षेत्रका खयरका रुख काटिएको विषयमा भने आफूलाई केही पनि थाहा नभएको बताए ।

स्थानीयबासीले भने उपभोक्ता समितिका केही पदाधिकारी, आवादी क्षेत्रमा रुख काट्न अनुमति लिने व्यक्तिहरु र ठेकेदारको मिलेमतोमा सामुदायिक वनका खयर रुखहरु सखाप पारिएको आरोप लगाएका छन् ।

वन उपभोक्ता हरि कुमारी अधिकारीले भनिन्, 'कोरोना भाइरसले गर्दा लकडाउन गरिएकाले कोही वनमा आउँदैनन् भन्ने ठानेर वन समितिकै बाठाटाठा टाउकेको मिलेमतोमा यो सबै भएको हो, सबै छानबिन गरी दोषीलाई कडा कारवाही हुनुपर्छ ।'

रुख काट्ने अनुमति लिएका केही स्थानीयले खेतको छेउछाउको रुख आफ्नोमा पर्छ भनेर व्यतिगत रूपमा ठेकदारलाई बेचेको पनि उपभोक्ताले आरोप लगाएका छन् ।  रुख काट्ने कामदारबीच विवाद भएपछि तस्कर वन पसेको घटना सार्वजनिक भएको थियो । रुख काट्ने कामदारमध्ये एक जना भारतबाट फर्किएका व्यक्ति रहेको र उसलाई कोरोनाको शंका गरेर अरु कामदारले काम गर्न अवरोध गरेपछि वनको रुख काटिएको कुरा बाहिर आएको थियो ।

वन प्राविधिकसहितको टोली विगत ३ दिनदेखि वनक्षेत्रमै रहेर जाँचपड्ताल गरिरहेकाले आइतबारसम्ममा विस्तृत रिपोर्ट आइसकेपछि मात्रै थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने डिभिजनल वन अधिकृत पौडेलले बताए । उनले भने, ,'अहिले सबै कारवाहीको प्रक्रिया अघि बढाउन लकडाउनले समस्या परेको छ, सबै काठ हाम्रो नियन्त्रणमा छ, लकडाउन पछि मुद्धा प्रक्रिया अघि बढ्छ ।'

खयरका काठहरु खरिद गर्ने ठेकेदार मिनलाल सारु र गुप्तलाल सारु भने फरार रहेका छन् । उनीहरुको दुवैको मोबाइल अफ छ । खयरको काठ पानमा राख्ने मसालाको रुपमा तथा विभिन्न रङ्ग र पालिका बनाउन प्रयोग हुन्छ ।

यस्तै एक साताअघि पनि धादिङको ज्वालामुखी-१ मैदीमा प्रहरीले चोरी निकासी हुन लागेका अवैध काठ बरामद गरेको थियो । चिरान गरेको ३७ थानको ६०.७३ क्युफिट तयारी सालको काठ गाडीमा राख्दै गरेको अवस्थामा प्रहरीले बरामद थियो । ढल्पु सामुदायिक वनक्षेत्रबाट काठ लोड गरिरहेको बा ४ ख १७२७ नम्बरको मिनी ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो । लकडाउन कार्यान्वयन गराउन खटिएको गस्ती टोलीले काठ बरामद गरेको थियो ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.