वीर अस्पतालमा कोरोना परीक्षण सुरु : २४ घण्टामा ८९७ नमुना परीक्षण, नतिजा सबै नेगेटिभ
काठमाडौं : काठमाडौं उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक वीर अस्पतालमासमेत कोरोना भाइरस (कोभिड–१९) को नमुना परीक्षण सुरु भएको छ।
यसअघि काठमाडौं उपत्यकासहित सातै प्रदेशका विभिन्न अस्पताल गरेर ११ ठाउँमा कोरोना परीक्षण भइरहेको थियो। पछिल्लो २८ घण्टामा आठ सय ९७ जनाको नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिलेसम्म देशभर चार हजार चार सय २६ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये ९ जनामा मात्र कोरोना संक्रमण देखिएको छ। एकजना निको भएर डिस्चार्ज भएका छन्।
संक्रमित आठ जनामध्ये चारजना धनगढीस्थित सेती अस्पताल र अन्य चारमध्ये बागलुङमा दुई र टेकुमा दुईजनाको उपचार भइराखेको छ।
अहिले देशभर क्वारेन्टाइनमा आठ हजार ८२ जना रहेका छन्। जसमध्ये आइसोलेसनमा ८२ जना छन्। उपत्यकामा १५ र उपत्यका बाहिर ६७ जना आइसोलेसनमा रहेको डा. देवकोटाले बताए।