कोरोना कहर : स्याक्वत्याक्वमा चढेन बलि

कोरोना कहर : स्याक्वत्याक्वमा चढेन बलि

भक्तपुर : आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्का जात्राअन्तर्गत शनिबार स्याक्वत्याक्व । स्याक्वत्याक्वको दिन भैरवनाथ, भद्रकाली र बेतालसँगै भक्तपुर तलेजु र अरु अष्टमातृका पीठमा बलि दिएर पूजा गरिन्छ ।

उक्त पूजा भक्तपुर तलेजूमार्फत हुन्छ । जुन पूजामा एउटाएउटा बोकाको बलि दिनुपर्ने भक्तपुर तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी बताउँछन् ।
तर विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यस वर्ष उक्त पूजा रोकिएको मूल नाइके जोशीले जानकारी दिए ।

उनका अनुसार बिस्काजात्राभर भक्तपुर तलेजु, त्रिपुरासुन्दरीसहित अष्टमातृकाको पीठ र भैरवनाथ तथा बेतालको लागि ३७ वटा बोकासहितको बलि पूजा हुन्छ । त्यस्तै एउटा राँगो र केही हाँस तथा कुखुराको समेत बलि पूजा हुन्छ । जुन यस वर्ष सबैथरि पशुपंक्षीको बलि रोकिएको उनको भनाइ थियो ।

‘बिस्का जात्रा अवधिभर भक्तपुर तलेजु, त्रिपुरासुन्दरीसहित अष्टमातृकाको पीठ भैरवनाथ र बेतालको लागि ३७ वटा बोकासहितको बलि पूजा हुन्छ’, नाइके जोशीले भने, ‘यी सबै पूजाको लागि गुठी संस्थान भक्तपुरबाट व्यवस्थापन हुँदै आएको छ तर यस वर्ष कोरोना भाइरस संक्रमण नियन्त्रणको कारण बलि चढेन । अहिंसात्मक रुपमा पूजामात्रै भएको छ ।’

उनले स्याक्वत्याक्वको दिन भक्तपुर तलेजुमा बिहानदेखि पूजा भएको जानकारी दिए । जसअनुसार बिहानै तलेजुस्थित पुरानो देवी दुईमाजु मन्दिरमा चौगुठी तथा मूलगुठीले पूजाआजा गरेका थिए । त्यसपछि राजोपाध्याय र जोशी नाइकेहरुले पूजा गरेका थिए ।

‘उक्त पूजापछि सरकारी पूजा र चोका भडेलहरुलेको पूजा हुन्छ’, मूल नाइके जोशीले भने, ‘बिहानको पूजापछि बेलुका महादीप प्रज्ज्वल गरेर रातभर छोडिन्छ र त्यसपछि कर्माचार्य नाइकेहरुको पूजा हुन्छ । यी सबै पूजामा बोकाको बलि दिइन्थ्यो तर यस वर्ष बलि चढेन ।’
उनका अनुसार बिस्का जात्राको इतिहासमा पहिलोपटक भक्तपुर तलेजुमा विना बलि स्याक्वत्याक्व जात्रा मनाइएको छ ।

स्याक्वत्याक्वको दिन भक्तपुर नगरभित्रका सबैजसोको घरमा मासु भित्रिन्छ । भक्तपुर नगरवासीले आफ्नो गच्छेअनुसार भैरवनाथ, भद्रकाली र बेताल ताथ अष्टमातृका पीठमा गएर बलिसहितको पूजा गर्ने संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउँछन् ।
बिस्काजात्राको लागि सबैको घरमा भोज मनाइने भएकाले उक्त भोजको लागि स्याक्वत्याक्वको दिन बलिसहितको पूजा गरिने उनले स्पष्ट पारे ।
उनका अनुसार नेपालभाषाको स्याक्वत्याक्व भनेको यस दिन मारे जति विजय हुने मानिन्छ ।
‘स्याक्व भनेको ‘मारे जति’ र त्याक्व भनेको ‘जीत’ हो’, संस्कृतिकर्मी धौभडेलले भने, ‘त्यसैले आजको दिन दिइने बलिलाई जीतको रुपमा लिइन्छ । र यहीं जीतको खुसीयालीमा बिस्काजात्रामा भोज खाइन्छ ।’
स्याक्वत्याक्वको दिन पशुपंक्षीको बलि दिन नसक्ने परिवारले समेत हाँस वा कुखुराको अन्डासहितको पूजा गरेर यो जात्रा मनाइने उनी बताउँछन् ।

मासु पनि बाँडिएन
स्याक्वत्याक्वकै दिन भक्तपुर नगरपालिका ४ लाकुलाछेंमा लाक्वः फेतः राँगो काटिन्छ । लाकुलाछेंस्थित चपालमा भैरवनाथको द्योछें (देवघर) रहेको छ । जहाँ बिस्का जात्राको पहिलो दिन द्यः क्वहाँबिज्याइगु जात्राअन्तर्गत मन्दिरबाट रथमा बिराजमान भई गःहिटी पुगेको भैरवनाथ मन्दिरलाई बिराजमान गराइन्छ । आफ्नो टोलमा भैरवनाथ विराजमान भएको खुसीयालीमा स्याक्वत्याक्वको दिन लाकुलाछेंमा लाक्वः फेतः राँगो काट्ने संस्कृतिकर्मी धौभडेल बताउँछन् । उक्त राँगो काटेपछि लाकुलाछेंस्थित करिब ५० घरमा उक्त राँगोको मासु बाँडिन्छ । यसरी राँगो काटेर मासु भाग राख्ने तथा बाँड्ने भएकै उक्त ठाउँको नाउँ लाकुलाछें राखिएको उनको भनाइ थियो ।
तर कोरोना भाइरसकै कारण उक्त राँगोसमेत काट्न नपाएको भैरव नाइके कृष्णभक्त छुकां बताउँछन् । उनका अनुसार उक्त राँगो प्रत्येक वर्या गुठी संस्थान भक्तपुरले उपलब्ध गराउँदै आएको थियो ।
तर यसवर्ष बिस्का जात्रा नै औपचारक पूजाआजामा मात्रै सीमित भएकाले उक्त राँगोसमेत नकाटिएको भैरव नाइके छुंकाले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.