लोप हुने अवस्थामा ‘हुचिल’
दैलेख : हुचिल लाटोकोसेरा प्रजातीको एक पंक्षी हो। हुचिल जादुगर चरोको उपनामले समेत परिचित छ। तर, यसको संख्या बर्षेनी घट्ने क्रममा छ। हुचिल उचित संरक्षणको अभावमा संकटमा परेको छ। बर्षेनी करोडौ मुल्यमा हुचिल नेपालबाट बाहिरी देशमा तस्करी हुने गरेको तथ्य सार्वजनिक हुने गरेको छ। हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला दैलेखबाट उद्वार गरिएको छ।
विश्वको केहि देशहरुमा मात्र पाइने दुर्लभ पंक्षी हुचिल दैलेखको नारायण नगरपालिका–१ चिहानडाँडाको वनबाट उद्वार गरिएको हो। घाइते अवस्थामा भेटिएको हुचिललाई कागहरुले लुछिरहेका बेला पैदल यात्रीले देखेपछि उद्वार गरिएको हो। यो पंक्षी संरक्षित चराको सूचीमा पर्छ भन्ने थाहा भएकाले उद्वारका लागि प्रहरी र वन कार्यालयलाई खबर गरेको स्थानीय सुक्मा सुनारले बताइन्।उद्धार गरिएको हुचिललाई जिल्ला पशु अस्पतालमा स्वास्थ्य जाँच गरी पशु प्राविधिककै सल्लाहमा डिभिजन वन कार्यालय दैलेखको संरक्षणमा राखिएको सहायक वन अधिकृत नवराज पौडेलले जानकारी दिए। अहिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर लकडाउन गरेको छ। लकडाउन खुलेपछि नजिकैको आरक्षमा पठाउने सहायक वन अधिकृत पौडेलले जनाए।
सोधकर्ताहरुलाई समेत अन्यौलमा पार्नसक्ने अद्मुत विशेषताका कारण हुचिललाई जादुगर चरा भनिएको हो। करिब ६० बर्ष आयु हुने हुचिल ३ केजी भन्दा माथी भयो भने खुट्टाका नङ्गाले सिसा काट्न सक्छ। ५ केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्छ। हुचिल नेपाल, भारत लगाएत दक्षिण अफ्रिका र एसियाका केहि देशमा मात्र पाइन्छ।