खुला चौरबाट राहत
शुभलक्ष्मी विश्वकर्मा
हेटौंडा : लकडाउनले दैनिकी असहज भएपछि हातमा पोका थमाएर सेल्फी खिच्नेदेखि राहत लिने-दिनेको लाइनमा बसेर फोटो खिच्नेसम्मका प्रचारात्मक राहत यतिबेला निकै चर्चाको विषय बनेको छ। हेटौंडा उपमहानगरपालिका-८ मा विपन्न परिवार पहिचान गरी लेनदेनको फोटो नखिचेरै राहत वितरण गरेको छ।
हेटौंडा-८ का वडाध्यक्ष गोपाल श्रेष्ठले व्यक्तिबाट व्यक्तिमा हस्तान्तरण नगरी खुला चौरबाट लकडाउन प्रभावित परिवारले लिएर जानसक्ने व्यवस्था मिलाइदिएका हुन्। ज्यालादारी गरी जीविका चलाउँदै आएका प्रभावितको लागि भन्दै वडाले त्यस्ता ६ सय ५० परिवार पहिचान गरी राहत वितरण गरेको हो। जसमा १५ किलो चामल, २ किलो दाल, नुन, साबुन, तेल वितरण गरिएको थियो। कोरोना संक्रमण, नियन्त्रण तथा रोकथामका क्रममा लकडाउनका कारण समस्यामा रहेकालाई राहत स्वरुप खाद्य सामग्री वितरण गरिएको अध्यक्ष श्रेष्ठले बताए।
लकडाउनलाई प्रभावकारी बनाउन मकवानपुरका दशवटै स्थानीय तह राहत वितरणमा केन्द्रित छन्। प्रभावित विपन्न परिवारको दैनिकी सहज बनाउन स्थानीय तह राहत वितरणमा केन्द्रित बनेको हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले बताए। उनकाअनुसार स्थानीयस्तरमा राहत वितरणको काम सबै वडामार्फत गरिएको छ। पहिलो चरणको राहत वितरण सकेर दोस्रो चरणको राहत वितरण भइरहेको र हेटौंडाका अधिकांश वडामा दोस्रो चरणको राहत वितरण भइरहेको मेयर महतले जानकारी दिए।
सरकारले राहत वितरणमा एकद्वार प्रणाली अपनाउने घोषणा गरेसँगै स्थानीय तहका वडाहरू लगत संकलन तथा राहत वितरणमा केन्द्रित भएका हुन्। जिल्लाका सबै स्थानीय तहहरूले राहत वितरण जारी राखेका छन्। मनहरी गाउँपालिकाले हालसम्म १ हजार ५ सय परिवारलाई राहत वितरण गरिसकेको अध्यक्ष एकराज उप्रेतीले बताए। दैनिक ज्यालादारी गर्ने परिवारको नाम संकलन भइरहेको र राहत वितरणलाई निरन्तरता दिइने अध्यक्ष उप्रेतीले जानकारी दिए।
थाहा नगरपालिकाले विपन्न परिवारको लगत संकलन गरी विपन्न परिवारलाई आवश्यक खाद्य सामग्री उपलब्ध गराएको मेयर लबशेर विष्टले बताए। राहतको नाममा जथाभावी आश्वासन र पोका नबाँड्न सूचना गरिएको भन्दै मेयर विष्टले सो क्षेत्रका नागरिकको लागि आवश्यक सामग्री उपलब्ध गराउन थाहा नगरपालिका सक्षम रहेको दाबी गरे।
जिल्लाको मकवानपुरगढी, कैलाश, राक्सीराङ, बकैया, बागमती र इन्द्रसरोवर गाउँपालिकाले पनि राहत वितरण सुरु गरेका छन्। यस्तै, पहिले राहत पाउनेको नाम सार्वजनिक गरेर खाद्यान्न वितरण गर्न लागिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले बताए। सरकारको निर्देशिका पछ्याउँदै फरक-फरक तरिका अपनाएर जिल्लाका सबै स्थानीय तहले राहत वितरण गरेका हुन्।