लकडाउनमा मिथिला चित्रकला

लकडाउनमा मिथिला चित्रकला

जनकपुरधाम। कोरोना भाइरस महामारीसँग जोगिन पछिल्लो तीन साताको लकडाउनले अधिकांशको दैनिकी दिक्दार बनाएको छ। तर, केहीका लागि यो बन्दाबन्दीको समय उपलब्धि लिएर आएको छ।

लकडाउनलाई उपलब्धिमा परिणत गर्न सफल भएका छन् जनकपुरका विजयदत्त मणि। मणि पेसाले शिक्षक हुन्। तर, उनी आफ्नो कलाका कारण यस क्षेत्रमै प्रख्यात छन्। उनले बनाउने मिथिला चित्रकला, पौराणिकस्थलको प्रतीकात्मक स्वरूप, मिथिला चित्रकला निर्मित खादा र गम्छा तथा प्रसिद्ध पाग जनकपुर क्षेत्रमा हुने हरेक कार्यक्रम र समारोहको शोभा बन्दै आएको छ।

कोरोनाको जोखिमले गर्दा विद्यालय बन्द भएपछि उनले आफ्नो दैनिकी मिथिला चित्रकला र वास्तुकला बनाउँदै बिताइरहेका छन्। अरू बेला व्यस्त भएकाले मागअनुसारका चित्र बनाउन नभ्याएका मणिका लागि लकडाउन उपलब्धिमूलक भएको छ।

‘अहिले मिथिला चित्रकलाको माग छैन तर, स्टक गरेर राख्न यो बेला उपयुक्त छ’, मणि भन्छन्, ‘हाम्रो संयमले यो समयलाई पनि बिताएर पुनः दैनिकी पहिलाझैं सामान्य हुन्छ त्यो बेला मैले बनाएका सामग्रीको माग बढ्नेछ।’

घरपरिवारको दैनिकी सकेर पत्नी मीरादेवी र छोरी प्रियंकासँगै मणि मिथिला चित्रकला बनाउन व्यस्त हुन्छन्। ‘घरमै बसेर हामी व्यस्त छौं’, मीराले भनिन्, ‘लकडाउनको पालना पनि भइरहेको छ र हाम्रो काम पनि।’

लकडाउन सुरु भए र हालपछि मणिले १५ वटा जति मिथिला चित्रकला बनाइसकेका छन्। दर्जनौं चित्रको रूपरेखा कोरिसकेर काम भइरहेको छ। बढीजसो मिथिलाको लोकजीवन झल्किने घरगृहस्थीसँग सम्बन्धित चित्रले प्राथमिकता पाएको छ। त्यसैगरी सांस्कृतिक पर्वहरूको परिदृश्य, सामाचकेवा, झिझिया, नागपञ्चमी, मधु  श्रावणी र जानकी लीलाका चित्रहरू पनि महत्वका साथ कोरिएका छन्।

मिथिला वैवाहिक परम्पराका बेला काम लाग्ने कोबर, बास, कमलदह, दसअवतार जस्ता चित्र पनि पूर्ण हुने क्रममा छन्। मणिले मिथिलाका लोपोन्मुख बस्तुहरू डोली, कहार, बयलगाडाको प्रतीकात्मक स्वरूप पनि बनाउँदै आएका छन्। उनले बनाउने जानकी मन्दिर र रामानन्द द्वारको प्रतीकात्मक स्वरूपको माग जनकपुर बजारमा निकै हुन्छ। तर, यी सामग्री बनाउन चाहिने समय मणिले अहिले मात्र पाएका छन्। ‘यो बन्दीको बेला एकाग्र भएर मैले आफ्ना कलाकृति निखार्न पाएको छु’, मणि भन्छन्, ‘यो हामी सबैका लागि एउटा मौका पनि हो आफूभित्र भएका प्रतिभा प्रस्फुटित गर्ने।’

पछिल्लो १० वर्षदेखि मिथिला चित्रकलालाई प्रचारप्रसार गरिरहेका मणिले यो अवधिमा अढाई सयभन्दा बढी गरिब विपन्न महिलालाई यो कला सिकाइसकेका छन्। लकडाउनभन्दा अगाडि पनि उनले दलित बस्तीमा ११ जना महिलालाई मिथिला चित्रकलाको निःशुल्क कक्षा दिइएका थिए। तर, अहिले बाहिरको काम बन्द भएपछि उनी घरमै मिथिला चित्रकला बनाउन व्यस्त छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.