राहत आएन, भोकले मरिने डर
मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिका ७ पटेर्वाका नागेन्द्र माझी मुहसर लकडाउन घोषणा भएदेखि कामकाज छोडेर घरमा बस्न बाध्य छन् । इट्टाभटामा मजदुरी गरेर परिवारको पाल्दै आएका माझी लकडाउन भएदेखि कामको अभावमा घरमा बस्दै आएका हुन् ।
काम गर्ने उद्योग बन्द भएपछि माझीको दैनिकी कष्टकर बन्दै गएको छ । दिनभरि कमाएर ल्याएको पैसाबाट गुजारा गर्दै आएका माझीलाई अहिले बालबच्चा र वृद्ध बुबालाई खुवाउने भन्ने चिन्ताले सताउन थालेको छ । घरमा थोरै जोहो गरेर राखेको चामल दाल सकिन लाग्दा उनी थप चिन्तित बनेका छन् । ६ जनाको परिवार भएका माझी कहि कतैबाट राहत आउला र राम्रोसँग खाउँला भन्ने आशामा बसेका छन् । तर, अहिलेसम्म कतैबाट राहत नपाएपछि माझी परिवार निराश र चिन्तित बनेका छन् ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि इट्टाभाटा बन्द भएको माझीले बताए । इट्टाभट्टाबाट कमाएर ल्याएको पैसाबाट परिवारको गुजारा चल्थ्यो । तर, काम गर्ने उद्योग बन्द भएपछि आफ्नो परिवारको बिच्चली भएको माझीले बताएका छन् । 'थोरै जाहो गरेर राखेको चामल दाल पनि सकिन लागिसक्यो । पैसा पनि छैन। अब परिवारको पालनपोषण कसरी गर्ने ?', चिन्तित हुँदै उनी भन्छन्, ' चिन्ता लाग्न थाल्यो । यस्तै अवस्था रह्यो भने भोकले मर्छौं होला ।'
घरका खानेकुराहरु सकिएको र बजारबाट किनेर ल्याउन पैसा नभएको राजकुमार माझीले बताए । 'गाउँपालिकाबाट अहिलेसम्म मास्क र साबुन मात्र पाएका छौं । राहत अहिलेसम्म पाएका छैनौं । काम बन्द भएपछि परिवार पाल्ने चिन्ता लाग्न थालेको छ', उनी भन्छन् , 'एकबोरा चालम किन्न १५ सय रुपैयाँ चाहिन्छ । आफूसंग त्यो पनि छैन।'
कहिँ कतैबाट सहयोग भएमात्र अब परिवारको गुजारा हुने राजकुमारले बताए । आफ्नो गाउँमा रहेको करिब ४० परिवार मुहसरको अवस्था आफ्नोजस्तै रहेको र सबै राहतको पर्खाइमा रहेको उनको भनाइ छ ।
वडाअध्यक्षहरूले राहत पाउने परिवारको विवरण समयमा नै नपठाउँदा ढिलाइ हुन गएको गाउँपालिका अध्यक्ष विक्रम राय यादवले बताए । आफूहरू राहत वितरण गर्न तयार भए पनि विवरण नआउँदा समस्या भएको उनले बताए ।