प्रशिक्षकहरु भन्छन्, 'व्यायाम र खानपिनमा ध्यान दिऊँ'
यतिबेला कोरोना भाइरसबाट जोगिन सरकारले लकडाउन गरेको छ । लकडाउनको आज २० औँ दिन । यसबाट सबैभन्दा बढी प्रभावित हुनेमा खेलाडी र प्रशिक्षकसमेत हुन् ।
कुनै पनि खेलमा राम्रो नतिजा ल्याउन प्रशिक्षणमा नै बढी जोड दिनुपर्ने हुन्छ । प्रशिक्षकले खेलाडीलाई बढीभन्दा बढी अभ्यासमा संलग्न गराउनुपर्छ । यदि यस्तो हुन सकेन भने प्रशिक्षक र खेलाडी दुवैले खेलबाट सफलता प्राप्त गर्न सक्दैनन् ।
परिस्थिति पहिलेको जस्तो छैन । अहिले कोरोना भाइरसका कारण अरु नागरिकसरह प्रशिक्षक र खेलाडी पनि घरमै कैद छन् । यसको दीर्घकालीन असर पर्न सक्ने खतरातर्फ सचेत गर्दै हरेक खेलका प्रशिक्षकले आफ्ना खेलाडीलाई घरमै व्यायाम र खानपिनमा ध्यान दिन सचेत गराउँदै आएका छन् । 'मनलाग्दी ढङ्गले खाएपछि ठूलो असर गर्छ', राष्ट्रिय भलिबलका प्रशिक्षक जगदीशप्रसाद भट्ट भन्नुहुन्छ, 'प्रत्येक खेलाडीले व्यायाम र खानपिनमा ध्यान दिनैपर्छ, यसो गर्न नसके धेरै हानी व्यहोर्नुपर्ने हुन्छ ।'
लकडाउन शुरु हुन केही दिनअघि मात्र महेन्द्रनगर घर फर्केका प्रशिक्षक भट्ट घरमै बसेर आफ्ना खेलाडीसँग सम्पर्कमा रहेका छन् । उनले अधिकांश समय खेलाडीलाई सचेत गराउन सामाजिक सञ्जालको प्रयोग गरेका छन् ।
'म देशभरका भलिबल खेलाडीलाई सधैँ सचेत गराउँदै आएको छु', एशियन सेन्ट्रल जोन महिला भलिबलमा पहिलोपटक स्वर्ण पदक दिलाएका उनले भने, 'खेलाडीले घरभित्रै वा आँगनमा भए पनि व्यायाम गर्नैपर्छ ।' व्यायाम र खानपिनमा ध्यान नदिए खेलमा दीर्घकालीन असर पर्नेबारे उनले खेलाडीलाई सचेत गराउँदै आएका छन् । दुई दशकदेखि उनी आफैँ पनि घरमा छोरीहरुका साथ नियमित व्यायाम र भलिबल खेल्ने गर्छन् ।
कैलालीको टीकापुर घर भएका क्रिकेट प्रशिक्षक जगत टमाटा लकडाउनका कारण काठमाडौँमै थन्किए । छोरा र भान्जाका साथमा बस्दै आएका उनी पनि नियमितरूपमा खेलाडीको सम्पर्कमा रहेके छन् । यसका लागि उनले पनि सामाजिक सञ्जालको प्रयोग गरेका छन् । 'सरकारले जारी गरेको लकडाउनको पालना गर्न खेलाडीलाई सचेत गराउँदै आएको छु, यो हाम्रै लागि हो', उहाँले भने, 'खेलाडीले व्यायाम गर्न भने छाड्नुहुन्न, टन्न खाएर सुते बर्बाद हुन्छ भनेर सम्झाउने गरेको छु ।' विगतमा आफैँले खेलेका खेल तथा विश्वका उत्कृष्ट क्रिकेट खेलाडीको खेल प्रदर्शन पाएसम्म युट्युबमा खोजीखोजी हेर्न प्रशिक्षक टमाटाले खेलाडीलाई सल्लाह दिँदै आएका छन् ।
फुटबल प्रशिक्षक रवीन्द्र श्रेष्ठ बाँकेको नेपालगञ्जमा घरमै व्यायाम गरिरहेका छन् । चाहे कोठामा होस् वा आँगनमा उहाँ व्यायाम गर्न भने छाड्नुहुन्न । 'जुनसुकै परिस्थितिमा पनि प्रशिक्षण र व्यायाम जारी राख्नुपर्छ', उनले सुझाव दिए, 'मैले आफ्ना खेलाडीलाई फोन गरेरै पनि सल्लाह दिँदै आएको छु, यसो नगरे पछि हामीलाई खेलमा फर्कन गाह्रो हुन्छ।' श्रेष्ठले पनि अहिले सामाजिक सञ्जालको अत्यधिकरूपमा प्रयोग गर्ने गरेको बताए ।
कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाट यतिबेला कञ्चनपुरमा खेतीपातीमा व्यस्त छन् । उनलाई खेलाडीको फोन तारन्तार आइरहन्छ । 'गहुँ काट्दै थन्क्याउँदै पनि भ्याएसम्म खेलाडीलाई फोनमै सम्झाइबुझाइ गर्ने गरेको छु', उनले भने । उनी नियमितरूपमा व्यायाम गर्छन् । उनी खेलाडीलाई पनि पछि आउन सक्ने समस्याबारे सचेत गराउँदै छन् । 'खेलाडी खाएर सुत्न हुन्न, घरकै काममा सघाएर पनि शरीर तन्दुरुस्त राख्नुपर्छ', मुख्य प्रशिक्षक भाटको खेलाडीलाई सुझाव छ ।
कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिन्छन् । 'यति बेला फुर्सदिलो भएर ढुक्क बस्ने होइन,' उनले भने, 'जसरी भए पनि खेलाडीले व्यायाम गर्नैपर्छ ।'
हाल झापाको विर्तामोडस्थित घरमा रहेका कराँतेका मुख्य प्रशिक्षक मदन उप्रेती बिहान बेलुका नियमितरूपमा अभ्यास गर्न गराउन आफू मातहतका प्रशिक्षक र खेलाडीलाई सल्लाह दिन्छन् । 'खानमा जोड दिने होइन, व्यायाममा ध्यान दिनुपर्छ', उनले भन्, 'दिनमा सकभर नसुुत्न भनेको छु, युट्युबमा कराँतेका ‘टेकनिक’ हेर्न सल्लाह दिने गरेको छु ।'
दार्चुलामा कार्यरत कराँते प्रशिक्षक ओमकार गिरी लकडाउन खुलेपछि जिल्लास्तरीय र राष्ट्रपति रनिङ शिल्ड हुने भएकाले खेलाडीलाई तयार भएर बस्न सल्लाह दिइरहेको बताउछन् ।
'घरभित्रै अभ्यास गर्न फोनमा र सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेको छु', उनले भने । कराँते प्रशिक्षक विमल खडायत लकडाउनको बेला घरको छतमै भए पनि नियमित प्रशिक्षण गर्न खेलाडीलाई सल्लाह दिन्छन् ।
रासस /विक्रम गिरी