स्याङजामा ३ सय ७ जनाको कोरोनाको रिपोर्ट नेगेटिभ
स्याङजा : भारत लगायत विभिन्न देशबाट स्याङजा आएकामध्ये आइतबारसम्म ३ सय ७ जनामा गरिएको कोरोना भाइरस नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । चैत्र २ गते यता विभिन्न मुलुकबाट जिल्लामा आउनेको कोरोना भाइरस नमूना श्वाव परीक्षण गरिएको हो ।
यसरी जिल्ला भित्रनेको संख्या जिल्लाका ११ वटै स्थानीय तहगत रेकर्ड अनुसार ६ सय २४ रहेको छ । यसअघिका ९७ जनाको स्वाब परीक्षणका लागि पोखरा पठाइए तापनि त्यसपछिका २ सय १० जनाको भने जिल्लामै र्यापिड डाग्नोस्टिक टेष्ट (आरडीटी) प्रविधिद्वारा परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
भीरकोट, विरुवा, अर्जुनचौपारी, हरिनास, पुतलीबजार र वालिङमागरी २ सय १० जनाको र्यापिड डाग्नोस्टिक टेष्टद्वारा कोरोना परीक्षण गरिएका हुन । र्यापिड टेस्ट ब्यक्तिको रगतलाई कोरोना भाइरस परीक्षण किटमा राखेपछि केही बेरमै रिपोर्ट पत्ता लाग्ने विधि हो ।
यसअघि, फेदिखोला, आधिखोला, कालीगण्डकी, विरुवा, गल्याङ्, चापाकोट, वालिङ्मा पुगेर विदेशवाट फर्किएका ९७ जनाको नमूना श्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।