कोरोना शकांस्पद बिरामी ल्याउन मान्दैनन् एम्बुलेन्स चालक
बागलुङ : कोरोना भाइरस (कोभिन १९) को नयाँ संक्रमितलाई अस्पताल ल्याउने क्रममा एम्बुलेन्स चालक नै गायब भएको घटना सेलाउन नपाउँदै जिल्लामा उस्तै घटना दोहोरिएको छ ।
बेल्जियमबाट कतार हुँदै चैत ४ गते नेपाल फर्किएकी बागलुङ नगरपालिका ३ गौडाकोटकी ६५ वर्षीया महिलामा चैत्र तेस्रो साता कोरोना संक्रमण पुष्टि भएपश्चात घर लिन जाने क्रममा रेडक्रसका एम्बुलेन्स चालक चाबी फालेर गायब भएका थिए ।
आइतबार फेरि जिल्लाको काठेखोला गाउँपालिकामा द्रुत परीक्षण (र्यापिड डाइगोनोस्टिक टेष्ट) गर्ने क्रममा रिपोर्ट पोजेटिभ देखिएको काठेखोला गाउँपालिका ६ बिहुँ इनारपानीकी ६५ वर्षीया महिलालाई क्वारेन्टाइन राख्ने क्रममा पहिलेको जस्तै आनाकानी र बाहनाबाजीको पुनरावृत्ति भएको बागलुङका प्रहरी प्रमुख नवराज भट्टले जानकारी दिए । ‘गाउँपालिकामा स्ट्याण्ड बाइ रहेको भनिएको एम्बुलेन्स बिग्रेको भनेर ढिला कुरा आयो, घुमाउरो किसिमले चालकले बाहना गरेर पन्छिन खोजेको देखियो,’ प्रहरी उपरीक्षक भट्टले भने, ‘अपरान्ह ४ बजे पोजेटिभ आंशका गरिएका महिलालाई राति ११ बजे मात्रै गाउँपालिकाले बिहुँ स्थित भिमसेन माविमा तयार गरेको क्वारेन्टाइनमा हाम्रो प्रहरी टोलीले सदरमुकाममा रहेको एम्बुलेन्स लगेर ल्याइ पुर्यायो ।’
कोरोनाको बढ्दो जोखिम र तयारीलाई ध्यानमा राखेर काठेखोला गाउँपालिकाले एक साताअघि नै नेपाल रेडक्रस सोसाइटी बिहुँकोट शाखाको नाममा रहेको एम्बुलेन्स सञ्चालनको सम्झौतासहित तयारी अवस्थामा रहेको जनाएको थियो । तर, कोरोनाको शंकास्पद बिरामी भेटिँनासाथ चालकले एम्बुलेन्स बिग्रिएको बताए र सम्पर्कविहीन भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । संकटको घडीमा पूर्ववत सम्झौता विपरित जिम्मेवारीबाट पन्छिने एम्बुलेन्स चालकलाई गाउँपालिकाले तत्काल निकालेर अर्को व्यवस्था गर्ने तयारीसमेत गरेको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए ।
पटक-पटक अत्यावश्यक अवस्थामा एम्बुलेन्स चालकले धोका दिने क्रम बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयकै प्रहरी निरीक्षकको कमाण्डमा एक टोली कोरोना शंकास्पद तथा संक्रमितको उद्दारका लागि तयार गर्ने एसपी भट्टले बताए । ‘कोरोना रोकथामको तयारी, राहत भनेर फेसबुकमा हाल्दैमा या सस्तो प्रचार गरेर मात्र जोखिम व्यवस्थापन हुँदैन भन्ने प्रष्ट देखिएको छ,’ उनले थपे, ‘अब हामी रेडक्रस, गाउँपालिका नगरपालिकाका एम्बुलेन्स चालकह कसैको भर पर्दैनौँ, हाम्रै टोली बनाएर त्यसमा परिचालन गर्छौँ।’
बानपा–३ कि कोरोना संक्रमित ६५ वर्षीया महिलालाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा पनि रेडक्रसका एम्बुलेन्स चालक अस्पताल परिसरमै चाबी छोडेर फरार भएपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको नेतृत्वमा सोही कार्यालयकै सवारी चालकको सहयोगमा राति अवेर मात्रै संक्रमित महिलालाई अस्पताल ल्याइएको थियो ।