महामारीबाट देशलाई बचाउन स्वास्थ्यमन्त्रीको आह्वान
काठमाडौं : स्वास्थ्यमन्त्री भानुभक्त ढकालले महामारीबाट देशलाई बचाउनुपर्ने अहिलेको प्रमुख दायित्व भएको बताएका छन् ।
अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने पनि उनको प्रतिवद्धता छ । सोमबार मन्त्री ढकालले नयाँ वर्ष २०७७ को शुभकामना सन्देश सहित महामारीबारे गम्भीर र सचेत हुन सबैलाई आग्रह गरेका हुन् ।
साथै महामारीविरुद्धको लडाइँका लागि सबैलाई एकजुट हुन पनि मन्त्री ढकालले आग्रह गरे । महामारीका बेला जनताको स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गरिने पनि उनले जनाए । यसवाहेक स्वास्थ्य सामग्री तथा सुरक्षा सामग्रीको सदुपयोग गरी यथेस्ट मात्रामा उपलब्ध गराउन आफूहरु लागिपरेको उनले बताए । साथै सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सुरक्षाको प्रत्याभुति सरकारले गर्ने जनाए ।
स्वास्थ्य मन्त्रालयको सोमबारको पछिल्लो तथ्यांक अनुसार देशभर कोरोना भाइरसका संक्रमितको संख्या १४ पुगिसकेको छ । उनीहरुमध्ये एकजना उपचार भइ घर फर्किसकेका छन् ।