क्वारेन्टाइनबाट फर्केपछि कोरोना

क्वारेन्टाइनबाट फर्केपछि कोरोना

टीकापुर/रौतहट : लम्कीचुहा नगरपालिका-१ भुरुवाकी ५३ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको छ। योसँगै लम्कीचुहामा संक्रमितको संख्या दुई पुगेको छ भने सुदूरपश्चिम प्रदेशमा पाँच। भारतबाट आएका रौतहट इशनाथ नगरपालिका-५ मोतीपुरका एक १९ वर्षीय किशोरमा कोरोना संक्रमण देखिएको छ।

औरैयास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा रहेका ती किशोरको परीक्षणमा कोरोना भाइरस पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १६ दिनअघि दिल्लीबाट फर्किएका उनी एक दिन घरमै बसेको स्थानीयले बताएका छन्। त्यसको भोलिपल्ट स्थानीयले क्वारेन्टाइनमा बस्न दबाब दिएका थिए। संक्रमितका घरमा आमाबुवा, दुई भाइ, एक बहिनी छन्।

कैलालीमा संक्रमण देखिएकी महिलासहित ५१ जनालाई यसअघि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। काठमाडौंबाट चैत २५ गते आएको स्वास्थ्यकर्मीको टोलीले ४४ जनाको र्‍यापिड टेस्ट गरेको थियो। त्यसमा नेगेटिभ देखिएपछि क्वारेन्टाइनका सबैलाई चैत २९ गते घर पठाइएको थियो।

वडाध्यक्ष जनकबहादुर बमले ती महिलासहित १७ जना चैत १७ गते पर्साबाट लम्की आएको बताए। नेपालबाटै आएकालाई क्वारेन्टाइनमा राख्ने व्यवस्था नभएपछि उनीहरू भुरुवास्थित आफन्तको घरमा गएका थिए। स्थानीयवासीले सीमा क्षेत्रबाट आएको भन्दै क्वारेन्टाइनमा राख्न दबाब दिएको वडाध्यक्ष बमले खुलाए।

‘१४ दिन क्वारेन्टाइन बस्दा पनि कुनै लक्षण पनि देखिएन। र्‍यापिड टेस्ट पनि नेगेटिभ आएको थियो’, उनले भने, ‘१७ जनालाई नै चैत २९ गते क्वारेन्टाइनबाट घर पठाइएको थियो।’

क्वारेन्टाइनमा बसेका ५१ मध्ये ४४ जनाको र्‍यापिड टेस्टपछि स्वाब संकलन गरी काठमाडौं लगिएको थियो। काठमाडौंमा गरिएको परीक्षणले कोरोना पोजिटिभ देखाएपछि ती महिलालाई सोमबार सेती प्रादेशिक अस्पतालको आइसोलेनसनमा राखिएको छ। उनलाई टीकापुर अस्पतालको एम्बुलेन्समार्फत धनगढी पठाइएको हो।

लम्की बहुमुखी क्याम्पसका स्ववियु सभापति ललित जैशीले संक्रमितको घर नभएकाले क्वारेन्टाइनबाट गएर आफन्तकहाँ बसेको बताए। ‘उनीहरूको घर थिएन’, उनले भने, ‘चार जना आफन्तको घरमा बाँडिएर बसेका थिए। उनको परिवारका १६ सदस्यसहित आफन्तलाई पनि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा ल्याइएको छ।’

आफ्नो परिवार र बर्दगोरिया गाउँपालिकाका ५ आफन्तसहित वीरगन्जबाट ३५ जना एउटै बसमा आएको उनले सुनाए। तीमध्ये कतिपय बाँकेको कोहलपुर र चिसापानीमा झरेका थिए। १७ जना लम्कीमा झरे पनि बर्दगोरियाका पाँच आफन्त त्यतै गएका थिए।

‘म त होटलमा काम गर्छु। आमाले चिया पकाउनु हुन्थ्यो। बुवा, दाजु र भिनाजुले वीरगन्ज बसपार्कमा घुम्दै चिया बिक्री गर्नुहुन्थ्यो’, उनले भने, ‘आमा, बुवा, भतिजा, भतिजी बसपार्कमै रहेको डेरामा बस्नुहुन्थ्यो। हामी अरू फरक-फरक ठाउँमा काम गर्ने हुनाले फरक ठाउँमै बस्थ्यौं।’

जिल्ला प्रशासन पर्साको सिफारिसमा आफ्नो जिल्ला जान चाहनेहरूका लागि पास दिने व्यवस्था मिलाइएको थियो।
लम्कीचुहा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक जयन्ती बीसीले ती महिलामा कोरोना पुष्टि भएसँगै क्वारेन्टाइनमा सोमबारै पुनः र्‍यापिड टेस्ट सुरु गरिएको बताइन्। ‘कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा भएका व्यक्तिहरूको पुनः र्‍यापिड टेस्ट गरिरहेका छौं’, उनले भनिन्, ‘उनीसँगै लम्कीचुहाका विभिन्न क्वारेन्टाइनमा बसेका ९९ जनाको टेस्ट गरिएको थियो। अन्य ९८ जनाको भने नेगेटिभ आएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.